२०८१ कार्तिक २
                           

इन्द्रावती ५ मा ‘ज्येष्ठ नागरिकलाई सम्मान

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को समन्वय तथा सांस्कृतिक जागरण नेपालको आयोजनामा ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ सम्पन्न भएको छ ।

शनिवार  वडाको बाघखोर,लाफी पिपल्बोट र सुर्यकोटमा ७० वर्ष भन्दामाथिका ८० भन्दा बढी वृद्धवृद्धाहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले ज्येष्ठ नागरिक सम्मानले उहाँहरुको आत्मबल बढ्ने बताउनुभयो ।

अग्रजहरुले आफू जन्मिएको भुमिका लागि ठुलो संघर्ष गरेको स्मरण गर्नुहुँदै उहाँले आफू अग्रजहरुको मार्गदर्शनमा हिंड्ने बताउनुभयो ।

युवालाई प्रोत्साहन,वृद्धलाई सम्मानको औचित्यका लागि कार्यक्रम राखिएको उहाँको भनाइ थियो ।

ज्येष्ठ नागरिकहरुको सम्मानले युवाहरूलाई समेत प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बाडेगाउँ गाविसका पुर्व अध्यक्ष रत्न प्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुको जिविकोपार्जनका लागि विभिन्न तालिम सन्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकहरु आत्मसम्मानका साथ बाँच्न पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै सभापति विशाल आचार्यले ज्येष्ठ नागरिकहरुको बेला बेलामा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

ज्येष्ठ नागरिकहरुको सिकाइ,भोगाइले नयाँ पुस्तालाई ठूलो पाठ सिकाएको उहाँले बताउनुभयो ।

सम्मान कार्यक्रममा लोक दोहोरी गायक सुर्यमणी आचार्य,शैक्षिक क्षेत्रका अगुवाहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्