२०८१ भाद्र २३
                           

१२ वटै पालिकामा बेरुजु बग्रेल्ति, चौतारा साँगाचोकगढीमा घट्दो

३ असार ,चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा बेरुजु रकम घट्दो छ । मेयर कृष्णप्रसाद सापकोटाको नेतृत्वमा नियमसंगत रुपमा खर्च र योजनाहरु सम्पन्न हुन थालेपछि बेरुजु रकम घटन थालेको हो ।आर्थिक वर्ष २०७९/०८० मा जम्मा ३ करोड २८ लाख ३४ हजार २ सय १७ रुपैयाँ मात्र अनियमित तरिकाबाट खर्च भएको महालेखा कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्ष अर्थात २०७८/०७९ मा भन्दा झण्डै ८ प्रतिशत बेरुजु घटेको तथ्याङ्कले देखाउँछ । यो वर्ष २.२१ प्रतिशत मात्र बेरुजु देखिएको छ । स्मरणीय छ गतवर्ष झण्डै १० करोड बेरुजु देखिएको थियो ।

नगरलाई बेरुजु र अनियमिता मुक्त नगर बनाउने उदेश्य अनुरुप नै बेरुजु रकम क्रमश घट्दै गएको मेयर कृष्णप्रसाद सापकोटा भनाइछ । बेरुजु भनेको भ्रष्टाचार हैन नगर प्रमुख सापकोटाले भन्नुभयो कतिपय अवस्थामा व्यवहारत ः योजना सम्पन्न गर्दा नियमसंगत नहुँदा बेरुजु देखिने हो । अनियमिततालाई नियमित गर्नुपर्ने दायित्व आफ्नो भएको र आगामी वर्ष बेरुजु विषयमा अझ गम्भीर हुने उहाँको भनाइछ ।

हुन पनि कतिपय योजनाहरु सम्पन्न गर्दा नियम मिच्नु पर्ने वाध्यता नै आउने गर्छ । व्यवहार एकातिर नियम अर्कोतिर हुँदा खर्च र नियमको तालमेल नमिल्दा बेरुजु निस्कन गरेको छ । जस्तो कि चौतारा साँगाचोक गढीभित्र २० वटा स्वास्थ्य संस्था छन् । जनतालाई आफ्नै वडामा आफ्नै घर आँगनमा सरल, सहज र छिटोछरितो सेवा प्रदान गर्नका लागि नगरले पछिल्लो समय ११ वटा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्दै आएको छ ।

नगरको कामलाई छिटोछरितो बनाउनका लागि पनि कतिपय कर्मचारीहरु व्यवस्थापन गरेको छ । लेखा परीक्षकले त्यस्ता कर्मचारीहरुलाई व्यवस्थापन गरेको तलवलाई अनियमित करार दिएको छ । त्यसो त बागमती प्रनेश स्थानीय सेवा ( गठन तथा संचालन ) ऐन २०७९ को दफा १६ बमोजिम स्थानीय सेवाका कर्मचारीहरु करार वा ज्यालादारीमा नियुक्ति गर्न नपाइने उल्लेख छ ।

लेखापरीक्षकले त्यही ऐनमाथि टेकेर त्यस्ता खर्चलाई अनियमित भन्नु पनि स्वाभाविक हो । तर व्यवहारत जनतालाई सेवासुविधा पनि दिनुपर्ने अनि संघ र प्रदेशबाट स्थायी कर्मचारी पठाउन नसक्दा सेवासुविधा र विकासे काम नै प्रभा हुने भएपछि नगरले केही कर्मचारीहरु ज्यालादारी र करारमा नियुक्ति गरेको जनाएको छ । यद्यपी अधिकाँश त्यस्ता कर्मचारीहरु अघिल्लो मेयरको कार्यकालमा नियुक्ति भएकाहरु छन् भने बहालवाला मेयर सापकोटाले नियुक्ति दिएका कर्मचारीहरु नगन्य संख्यामा छन् । त्यसो कतिपय शाखामा अझै पनि कर्मचारीको अभाव छ । मैले ती शाखामा कर्मचारी भर्ति गर्न सकेको छैन मेयर सापकोटाले भन्नुभयो नियमले गर्न नमिल्ने भएका कारण आफूले ती शाखाहरुमा नियुक्ति नगरिएको मेयर सापकोटाको दावी छ ।

प्रतिवेदनमा यस अघिको कार्यकालमा नियुक्त भएका ती र त्यस्तै ३० जना कर्मचारीलाई प्रदान गर्दै आएको कूल १ करोड ३६ लाख ९७ हजार ४ सय १० रुपैयाँ रकम अनियमिता गरेका भनि उल्लेख गरिएको छ । अरु त अरु चौतारा बहुमुखी क्याम्पसमा पुस्तकालय व्यवस्थापन र निर्माणका लागि दिएको ९ लाख अनुदान पनि अनियमिता भनि उल्लेख गरिएको छ ।

त्यस्तै कार्यविधि जारी नगरि मृतकका परिवारलाई दिंदै आएको किरिया खर्च बापतको रकम जुन यस अघिकै कार्यकालबाट सुरु भएको हो, त्यसलाई पनि लेखापरीक्षकले अनियमित ठहर गरेको छ । शिक्षा र स्वास्थ्य जस्तो महत्वपूर्ण र संवेदनशिल क्षेत्रमा नगरले गरेको लगानीलाई अनियमिता भन्छ भने जनताको लागि मैले गरेको त्यो अनियमिता मलाई स्वीकार्य छ । कतिपय खर्चहरु नजानेर भएका हुन सक्छन, त्यस्ता खर्चहरूलाई शोधभर्ना गर्ने र आगामी दिनमा सच्याएर आगाडि बढ्ने प्रतिवद्धता पनि मेयर सापकोटाले जाहेर गर्नुभयो । हुन पनि व्यवहार र ऐनको तालमेल नमिल्दा नेपालभरका सबै स्थानीय सरकारहरुमा बेरुजु रकम बढ्दो छ ।

सिन्धुपाल्चोककै सवालमा पनि १२ वटै स्थानीय तहमा बेरुजु चाङ लागेको महालेखा परीक्षणको प्रतिवेदनले प्रष्ट पारेको छ । प्रतिवेदन अनुसार जम्माजम्मी ६६ करोड ३ लाख कूल बजेट रहेको हेलम्बु गाउँपालिकामा मात्र ४ करोड ९२ लाख रुपैयाँको बेरुजु निस्केको छ । उता जम्मा ४६ करोड ७ लाख मात्र कूल बजेट रहेको त्रिपुरा सुन्दरी गाउँपालिका २ करोड त बेरुजु मात्र देखाइएको छ ।

९४ करोड ५१ लाख कूल बजेट रहेको इन्द्रावतीमा २ करोड त बेरुजु निस्केको छ । कुनै बेला ३१ करोड बेरुजु देखिएको चौतारा साँगाचोक गढीले यो पटक जम्मा ३ करोडमा झार्न सफल भएको छ । वित्तिय अनुशासनलाई क्रमश पालना गर्दै जाने हो भने आगामी वर्षहरुमा चौताराको बेरुजु शुन्य हुनेमा विश्वास लिन सकिन्छ । बेरुजू रहन पक्कै पनि राम्रो हुन सक्दैन ।

यसका लागि खासगरी जनशक्तिको अभाव झेलिरहेका स्थानीय सरकारलाई कि त संघ र प्रदेशले लोकसेवामार्फत कर्मचारी खटाउन सक्नुपर्छ कि त स्थानीय सरकारले कर्मचारी नियुक्ति गर्ने अख्तियारी पाउनु पर्छ । हैन भने बेरुजु अवस्था ज्यूको त्यूँ रहने विज्ञहरुको भनाइछ ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहको यस्तो छ आर्थिक वर्ष  २०७९/०८० को बेरुजु अवस्था :
१.हेलम्बु- कुल बजेट,६६ कराेड ३ लाख, बेरुजु ४ कराेड ९२ लाख ।
२.इन्द्रावती – कुल बजेट,९४ कराेड ५१ लाख, बेरुजु २ कराेड ।
३.जुगल- कुल बजेट,६८ कराेड १८ लाख, बेरुजु ४ कराेड ।
४.लिसंखुपाखर- कुल बजेट,६० कराेड ८७ लाख, बेरुजु १ कराेड ४५ लाख ।
५.मेलम्ची – कुल बजेट,१ अर्ब ७२ कराेड, बेरुजु ५ कराेड ४९ लाख ।
६.पाँचपोखरी थांपाल- कुल बजेट,६८ कराेड ६८ लाख, बेरुजु १ कराेड ३७ लाख ।
७.त्रिपुरासुन्दरी- कुल बजेट,४६ कराेड ७ लाख, बेरुजु २ कराेड ।
८.सुनकोसी – कुल बजेट,६६ कराेड ४० लाख, बेरुजु १ कराेड ।
९.तारैतार साँगाचाेकगढी- कुल बजेट, १ अर्ब ४८ कराेड बेरुजु ३ कराेड २८लाख ।
१०.बाह्रबिसे – कुल बजेट,७६ कराेड ६४ लाख, बेरुजु २ कराेड २२ लाख ।
११.बलेफी- कुल बजेट,६८ कराेड ९७ लाख, बेरुजु ४ कराेड २० लाख ।
१२.भाेटेकाेसी- कुल बजेट,६५ कराेड ४३ लाख, बेरुजु ३ कराेड ८४ लाख ।

प्रतिक्रिया दिनुहोस्