२०८१ भाद्र २३
                           

मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द हुने

असार ३, सिन्धुपाल्चोक । मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति कम गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गत बुधवारदेखि नै आयोजना बन्द गर्ने तयारी गरेको समितिले बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिएको थियो । तर ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन सुरु भएको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । उनकाअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानीको अभाव भइरहेको बेलामा तत्काल बन्द गर्नु उपयुक्त नरहेको उनको भनाइ छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ भने यसले बाढीपहिरो लगायत मनसुनजन्य घटना बढ्न सक्ने भन्दै समयमा नै सतर्कता अपनाउन सरोकारवाला निकायलाई अनुरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्