२०८१ भाद्र २३
                           

हेलम्बुमा प्लास्टिकका बोतल र झोला प्रतिबन्ध गरिँदै

१० असार सिन्धुपाल्चोक । राम कृष्ण थापा हेलम्बु गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सरकारी कार्यालयमा प्लास्टिकका बोतल र झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। आर्थिक वर्ष ०८०÷८१ का लागि गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो।

गाउँपालिका, सबै शाखा, स्वास्थ्य संस्था र सरकारी विद्यालयले उक्त नियम पालना गर्नुपर्नेछ। प्लास्टिकका बोतल र झोलाको सट्टा तामा र पित्तलका अम्खोरा, फिल्टर र गिलास प्रयोग गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। मिनरल वाटर किनेर खाँदा अनावश्यक खर्च हुने मात्र नभई प्लास्टिक स्वास्थ्यका लागि समेत हानिकारक भएकाले यस्तो नीति लिएको उनले सुनाए।

त्यसैगरी, नीति तथा कार्यक्रममा हेलम्बुका प्रत्येक नागरिकले पाँच लाखसम्मको स्वास्थ्योपचार पाउने उल्लेख छ। त्यसका लागि पालिकावासीबाट वार्षिक रकम संकलन गर्ने र सरकारको तर्फबाट पनि विनियोजन गरेर कोष स्थापना गरिने बताइएको छ।

यसअघि पनि हेलम्बुले दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरेको थियो । प्लस टु पास गरेर हेलम्बुस्थित मेलम्ची भ्याली क्याम्पस ग्याल्थुममा अध्ययन गर्ने विद्यार्थीले गाउँपालिकाबाट इन्टर्नसिप पाउने घोषणा गरिएको छ । इन्टर्नसिपका लागि विद्यार्थीले पालिकामा रहेका प्राथमिक विद्यालयमा शिक्षण गर्नेछन् । ५२ करोड बजेट घोषणा गरेको हेलम्बुले सबै विद्यालयमा किचेन गार्डेन अवधारणा लागू गर्ने नीति लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्