२०८१ भाद्र २३
                           

मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने

सिन्धुपाल्चोक –  मेलम्ची खानेपानी विकास समितिले अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने निर्णय गरेको छ ।

मेलम्ची नदीको बहाव बढेर बाढी आएर धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । बाढी आएसँगै पानी धमिलिन थालेकाले आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब वर्षा कम भएपछि मात्रै आयोजना पुनः सञ्चालन हुने छ ।

गएको जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो तर ठूलो वर्षा नभएकाले आजसम्म सञ्चालन गरिएको हो । समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंकले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेको छ । अब मनसुन सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् । मनसुनजन्य विपत्तिबाट आयोजनाको ‘हेडवर्क्स’ मा हुन सक्ने क्षति रोक्न वर्षायाममा आयोजना बन्द गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्