२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोक क्षेत्र नं १ मा संघीय सरकारको बजेट २ अर्ब ८० लाख

११ असार, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ का लागि संघीय सरकारले २ अर्ब ८० लाख विनियोजन गरेको छ ।
संघीय संसद, प्रतिनिधि सभाबाट मंगलबार विनियोजन विधेयक, २०८१ (बजेट) पारित भएसँगै सो क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा ‘सुबोध’को सचिवालयले सो कुरा सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेको हो ।

सचिवालयका अनुसार क्षेत्र नं १ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विभिन्न १४ आयोजनाका लागि १ अर्ब ३७ करोड ५४ लाख विनियोजन भएको छ । जसमध्ये सबैभन्दा धेरै रकम अरनिको राजमार्गको जुरेदेखि लिपिङ खण्डको स्तरोन्नतिका लागि विनियोजन भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा सो सडक स्तरोन्नतिका लागि १ अर्ब २३ करोड बराबरको रकम विनियोजन गरिएको छ । मन्त्रालय स्रोतका अनुसार अरनीको राजमार्गको जुरे बाह्रबिसे कोदारी खण्डको स्तरोन्नतिका लागि चार अर्ब सम्मको श्रोत सुनिश्चित गरी बहुवर्षिय ठेक्का व्यवस्था हुनेगरी काम अघि बढाइने छ ।

सिन्धुपाल्चोकको कुनै पनि विकासका लागि एकै पटक यति ठूलो रकम विनियोजन भएको यो सम्भवत पहिलो घटना हो । निर्वाचित भएको पहिलो बर्ष जुरे पहिरो पीडितको नाममा उठेको रकम वितरण र तातोपानी नाका पूर्ण रुपमा खुलाउन सफल सांसद माधव सापकोटा ‘सुबोधले यस वर्ष तातोपानी नाका पुग्ने सडक स्तरोन्नतिका लागि अग्रसरता लिएका थिए ।

तातोपानी नाका खुलेपनि सडकका कारण सवारी साधन आवतजावतमा समस्या देखिएपछि उनले बजेट विनियोजनका लागि विशेष पहल लिएका थिए ।
यस्तै शहरी विकास मन्त्रालयबाट सिन्धुपाल्चोक क्षेत्र नं १ मा ४८ योजनाका लागि ५० करोड ६८ लाख विनियोजन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत विभिन्न २४ योजना सम्पन्न गर्न कूल ६ करोड ६० लाख बजेट विनियोजन भएको सापकोटाको सचिवालयले जनाएको छ ।

सो क्षेत्रका लागि खानेपानी मन्त्रालयका २४ योजनाका लागि ४ करोड ३७ लाख रकम विनियोजन भएको भने उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट ६ वटा योजनाका लागि १ करोड ६१ लाख गरी कूल २ अर्ब ८० लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्