२०८१ भाद्र २३
                           

त्रिपुरासुन्दरी र सुनकोसीमा खाद्य तथा पोषण सुरक्षा सुधारको कार्यक्रम सञ्चालन हुने

१२ असार, सिन्धुपाल्चोक । आगामी आर्थिक वर्षदेखि त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको कार्यक्रम सञ्चालन हुने भएको छ । यस आयोजनाले विगत ५ वर्षदेखि इन्द्रावती र त्रिपुरासुन्दरी गाउँपालिकामा खाद्य तथा पोषण सम्वन्धी विविध कार्य गर्दै आइरहेको थियो । विगत २०७५ सालदेखि सञ्चालित कार्यक्रमको अवधि समाप्त भएको छ । हाल नयाँ दुई गाउँपालिकामा आयोजना सञ्चालन गर्न लागेको हो ।कृषि क्षेत्रलाई सवलीकरण गर्दै कृषकलाई आयआर्जनमा जोड्नका लागि आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो ।

बुधबार क्लष्टर स्तरिय आयोजना समापन समारोहमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लष्टर इकाइ चौताराका प्रमुख राजेश केसीले पाँच वर्षिय समिक्षात्मक एवम् प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले अबको आयोजना त्रिपुरासुन्दरी र सुनकोसी गाउँपालिकामा सञ्चालन हुने जानकारी दिए । यी दुई पालिकामा कृषि, पशुसेवा तथा पोषण समूह गठन गरेर कृषकहरुलाई बढीभन्दा बढी सहयोग गरेको उनको भनाई छ ।

कृषकहरुलाई आयोजना अवधिभर सिजनल कम्पोजिट तरकारीको किट,बीउ, गहुँ, मकै, धान, आलु लगायतका बीउ पूरक अनुदानका सामाग्रीहरु वितरण तथा तरकारी संकलन केन्द्र, प्रशोधन केन्द्र निर्माण, पोषण कृषक पाठशालाहरू सञ्चालन भएको थियो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले कोभिड र प्राकृतिक विपत्तिका बीच पनि कृषि क्षेत्रमा गरेको लगानी र कार्य प्रशंसनीय रहेको बताए । आयोजनाले ग्रामीण कृषकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्