२०८१ भाद्र २३
                           

सापकोटाको जिज्ञासामा गृहमन्त्रीको जवाफ : तातोपानीमा अध्यागमन र प्रहरी भवन बनाउने प्रक्रिया अगाडि बढ्ने छ

१२ असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तातोपानी नाकामा अध्यागमन र प्रहरी कार्यालय भवन बनाउने प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । लामो समय बन्द भएर गतबर्षदेखि पूर्ण सञ्चालनमा आएको तातोपानी नाकामा अध्यागमन कार्यालय र प्रहरी कार्यालय भवन नभएको सम्बन्धमा सांसद माधव सापकोटा ‘सुबोध’ले संसदमा राखेको प्रश्नको मंगलबार जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले भवन बनाउन जग्गा प्राप्तीको काम अगाडि बढाउन स्थानीय प्रशासनलाई निर्देशन गइसकेको बताए ।

उनले संसदमा भने ‘माधव सापकोटाज्यूले उठाउनु भएको विषय छ, त्यसमध्ये उत्तरी नाका तातोपानी भन्सारमा अध्यागमनको भवनको अवस्थाबारे बताउनु भएको छ, तातोपानी अध्यागमन तथा प्रहरी कार्यालय भवन बनाउन जग्गा प्राप्तीको कामका लागि अगाडि बढाउनलाई स्थानीय प्रशासनलाई हाम्रो निर्देशन गइसकेको कुरा माननीयज्युलाई बताउन चाहन्छु । अर्थात त्यसका लागि हामी तयार भएर गएका छौं । त्यो प्रक्रियागत रुपमा अगाडि बढेको छ । त्यसको भवन निर्माणको कार्य अगाडि बढ्ने छ ।’ गृहमन्त्री लामिछानेले मितेरी पुलमा नेपालतर्फ गेट राख्ने विषयको पनि सम्बोधन हुने बताए । उनले भने ‘मितेरी पुलमा चीनले गेट राखेको छ, हाम्रोमा असाध्यै अप्ठेरो छ भन्नु भएको छ, त्यसलाई पनि सम्बोधन हुने छ ।

यसअघि सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोधले तातोपानीमा अध्यागमन भवन र प्रहरी भवन निर्माणबारे गृहमन्त्रालयको धारणा मागेका थिए । उनले संसदमा भने ‘मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्राम रहेको उत्तरी नाका जोड्ने मुलुककै महत्वपूर्ण भन्सार मध्ये तातोपानी भन्सार नाका एउटा महत्वपूर्ण नाका हो । त्यहाँ अध्यागमनको भवन अभावका कारण कर्मचारी व्यवस्थापन भद्रगोल छ । सुरक्षामा खटिएका प्रहरीहरुको भवनको अभावका कारण त्रिपाल टाँगेर ड्युटी गर्नु पर्ने अवस्था छ । बर्षातमा त त्यो झन दयनीय अवस्थामा छ । यसको व्यवस्थापनका बारेमा गृहमन्त्रालयको स्पष्ट योजना प्रस्तुत हुन सकेन ।’ सांसद सापकोटाले मितेरी पुलमा चीनले चेन गेट बनाएको तर नेपालतर्फ केही नभएकोबारे गृहमन्त्रीसँग जवाफ मागेका थिए ।

उनले संसदमा गृहमन्त्रीसँग ‘सिमामा रहेको मितेरी पुल हामी सबैलाई थाहा छ । मितेरी पुलको रातो घेरामा चिनियाँ पक्षले चेन गेटको व्यवस्था गरेको छ । तर हाम्रो पक्ष तिर हेर्ने हो भने सामान्य गेट पनि छैन, अलग्गै मुलुकजस्तो देखिदैन । यसलाई व्यवस्थापन गर्ने बारेमा गृहमन्त्रालयको के योजना छ ? म यसका बारेमा स्पष्ट हुन चाहन्छु’ भनेर जवाफ मागेका थिए । सापकोटाले राजधानीमा राती ११ बजेपछि मापसे चेक नहुने गरेको सन्दर्भ उठाउँदै यसलाई २ सिफ्टमा लैजान सुझाएका थिए ।

जवाफमा गृहमन्त्री लामिछानेले सांसद सापकोटाबाट राम्रो सुझाव र सल्लाह आएको भन्दै जनशक्तिको परिचालन गरी चेकजाँचको समय परिवर्तन गर्न तत्पर रहेको जवाफ दिएका थिए । गृहमन्त्रीले भने ‘यसमा रिस्केजुलीङ गरी नागरिकलाई बचाउने यी कुराहरुमा हामी तत्पर हुन्छौं । यी कुराहरुमा निश्चिन्त हुन म यहाँलाई अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्