२०८१ भाद्र २३
                           

विपद्का घटनाबाट सिन्धुपाल्चोक सहित ३३ वटा जिल्ला प्रभावित

१३ असार । देशमा मनसुन भित्रिएयता विपद्का घटनाबाट २८ जनाको ज्यान गएको छ । गएको जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएदेखि हिजो बुधवारसम्म भएका मनसुनी विपद्बाट ३३ वटा जिल्ला प्रभावित भएका र २८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको ज्यान गएको हो ।

विपद्का घटनाबाट , सिन्धुपाल्चोक , ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायतका जिल्ला बढी प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा मात्रै विपद्जन्य घटनामा १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये चट्याङबाट नौ जनाको र बाढी पहिरोमा परेर नौ जनाको मृत्यु भएको हो

जेठ २८ गतेपछि एक सय ४७ वटा विपद्का घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोमा परेर १२ जना घाइते भएका छन् । पहिरोकै कारण २५ वटा घरमा पूर्ण क्षति भएको छ भने १० वटा घरमा आंशिक क्षति पुगेको छ । यस्तै बाढीमा परेर एक जना घाइते भएका छन् । दुई हप्तामा चट्याङका ६८ वटा घटना भएको तथ्याङ्क छ जसमा १३ जनाको ज्यान गएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् । यी घटनाबाट १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्