२०८१ भाद्र २३
                           

चौसाँगढी नगरपालिका ५ सय भन्दा बढी रिचार्ज पोखरी निर्माण

१३ असार, सिन्धुपाल्चोक । वर्षाको समयमा पोखरीभन्दा माथिबाट झर्ने पानीलाई रिचार्ज पोखरीमा संकलन गर्ने प्रभावकारी अभियान चौसाँगढी नगरपालिकाले थालेको छ । हालसम्म नगरपालिका भरी ५ सय भन्दा बढी रिचार्ज पोखरी निर्माण भएकोछ । सबैभन्दा बढी रिचार्ज पोखरी चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ मा बनेको छ । पर्यावरण तथा पानीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरीको निर्माण गरिएको हो ।

रिचार्ज पोखरीहरूमा वर्षात्को पानी जम्मा हुनेछ । पोखरी निर्माणबाट तल्लो भागमा रहेका पानीको मुहानहरूको संरक्षणमा मद्दत पुग्ने, जंगली जनावरलाई पिउन पानीको आपूर्ति हुने तथा पोखरी आसपासमा चिस्यान कायम भई बोटबिरुवालाई हुर्कन मद्दत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पर्ने नगरपालीकाको आशा छ ।

वनजंगल, डाडाँपाखा, खाली जमिन र कम भिराला पाखामा सामान्यतया १ मि चौडाइ १ आधा मि गहिराइ र अवस्था अनुसार ५– १० मि लम्बाईका खाडल बनाई रिचार्ज पोखरी निर्माण गएिको छ । नगरपालिका भित्रका विभिन्न भुभागमा बनेको यी रिचार्ज पोखरीमा भलको पानी र आकाशबाट परेको पानीलाई जम्मा गर्ने गरिएको छ ।

उक्त पोखरि भरिएर बढी भएको पानी त्यस भन्दा तल बनेको अरु त्यस्तै पोखरीमा जाने ब्यवस्था मिलाउदा सो क्षेत्रका जमिनमा सजिलै पानी पुर्नभरण गर्न सकिन्छ । भएका पानीका श्रोत सुक्दै जान थालेपछि श्रोत संरक्षणको विकल्पमा, भिरालो जग्गामा भलका रुपमा बग्ने र माटो कटान गर्ने पानीलाई पोखरीमा जमाएर हरियाली बढाउन र पानी सुसाउनका लागि रिचार्ज पोखरी निर्माण गरिएको हो ।
जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जाने भएकाले जमिनलाई रिचार्ज गरेर मुहानलाई सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी निर्माण उपयोगी हुने जलवायु विज्ञहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्