२०८१ भाद्र २३
                           

सीटीईभीटीले साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने

१७ असार, काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८१/०८२ मा साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । परिषद्ले प्रि–डिप्लोमा र डिप्लोमामा गरी कुल पाँच हजार ४१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो ।

यसमध्ये तीन वर्षे डिप्लोमामा तीन हजार ७६३ जना र १८ महिनाको प्रि–डिप्लोमामा एक हजार ६४७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन् । छात्रवृत्ति पाउन योग्यता पुगेका विद्यार्थीहरूले १३ साउनभित्र अनलाइन आवेदन फाराम भरिसक्नु पर्नेछ ।

सीटीईभीटीका अनुसार डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसी÷एसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ ।

यसैगरी स्वास्थ्य बाहेक अन्य विषय अध्ययन गर्न १.६ जीपीए ल्याएको हुनु पर्नेछ । यता प्रि–डिप्लोमाको अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलससी वा एसईई न्यूनतम ई ग्रेड वा सो सरह वा ग्रेड सिट प्राप्त गरेको हुनु पर्नेछ ।

त्यस्तै एसईई मौका परीक्षामा समावेश हुने परीक्षार्थीहरूले समेत सीटीईभीटीको प्रवेश परीक्षामा सामेल हुन पाउनेछन् । यद्यपि ग्रेड वृद्धि नभएमा सो भर्ना स्वतः रद्द हुनेछ । विद्यार्थीले परिषदबाट सञ्चालन सम्बन्धन-स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टीईसीएस) र निजी स्तरमा सञ्चालित शिक्षालयमा अध्ययन गर्न सक्ने छन् ।

सीटीईभीटीले विभिन्न प्राविधिक विषयहरू सञ्चालन गर्ने गर्छन् । तर आईटी कोर्षहरू भने त्यति धेरै छैनन् । प्रि–डिप्लोमा तह (१८ महिने) मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन एन्ड सेक्रेटेरियल म्यानेजमेन्टको पढाइ हुन्छ ।

डिप्लोमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नोलोजी (आईटी) पढाइ हुन्छ । यी कोर्ष देशभरका विभिन्न १०६ शैक्षिक संस्थामा सञ्चालन भइरहेको छ । जसमा सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृति प्राप्त २३ विद्यालय, ११ आङ्गिक विद्यालय, प्राविधिक शिक्षा (टीईसीएस) मोडालिटी अन्तर्गत ६२ ओटा सामुदायिक विद्यालय र साझेदारी  मोडालिटी अन्तर्गत १० शैक्षिक संस्था छन् ।

यद्यपि देशभर कूल एक हजार ११५ शैक्षिक संस्थामा सीटीईभीटीका अन्य कोर्षहरू समेत सञ्चालन भइरहेका छन् । त्यस्तै माथिका यी कोर्ष बाहेक अटोमोबाइल, आर्किटेक्चर, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, जियोम्याटिक इन्जिनियरिङ आदि पनि सीटीईभीटीले सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्