२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालन

२१ असार , चौतारा । मनसुनजन्य विपद न्यूनिकरण एवम् तत्काल रेस्पोन्स गर्नका लागि सिन्धुपाल्चोकमा जिल्ला विपद सहायता कक्ष सञ्चालनमा आएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले शुक्रबार सहायता कक्षको विधिवतरुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा विपदबाट प्रभावितहरुका लागि विपद कक्षबाट तत्काल एकीकृत र समन्वय गर्दै प्रभावकारी ढंगबाट राहत, उद्धार र विपद प्रतिकार्यमा जुट्न कक्षले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले गृहमन्त्रालयको निर्देशन अनुसार मनसुनजन्य लगायत विपदको समयमा उद्धार र राहतका कार्यलाई प्रभावकारीरुपमा व्यवस्थित गर्नका लागि विपद सहायता कक्ष सञ्चालनमा आएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद सहायता कक्षमा जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु, पत्रकार महासंघका प्रतिनिधि, उद्योग बाणिज्य संघ प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि सदस्य र जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था छ ।

जिल्ला सदरमुकाम चौतारामा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको भवनबाट नै जिल्ला विपद सहायता कक्ष सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।
विपदको समयमा महिला, जेष्ठ नागरिक, अपाङ्गता, बालबालिका, लगायत जोखियुक्त समूहको पहिचान गरि प्राथमिकता राख्ने, राहत वितरणमा एकद्वार प्रणाली अबलम्बन गर्ने र सहायता कक्षमा मोबाइल नम्बरसहितको सम्पर्क व्यक्ति तोकी सार्वजनिक गर्ने लगायतका कार्यदिशाका सहायता कक्ष सञ्चालनमा आउने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्