२०८१ भाद्र २३
                           

देशको धेरै भू–भागमा झरी, आज दिनभर र राति पनि वर्षाको सम्भावना

२२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । यतिबेला (शनिबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्था छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा दिउँसो अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । राति कोसी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश, कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा राति अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्