२०८१ भाद्र २३
                           

एउटै व्यक्ति दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने व्यवस्थाको महासंघको आपत्ति

२५ असार । सहकारी विभागले एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाउने व्यवस्थाले सहकारी अभियानमा समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ । सहकारी विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको थियो । विभागको उक्त निर्देशन कार्यान्वन गर्न नसकिने महासंघको भनाइ छ । अहिले एउटै व्यक्ति एकभन्दा बढी प्रारम्भिक संस्थाको सञ्चालक रहेको र प्रारम्भिक संस्थाका सञ्चालकहरू नै संघमा समेत सञ्चालक भएर काम गरिरहेका छन् ।

विभागको निर्देशन अनुसार प्रारम्भिक संस्था र संघमा समेत सञ्चालक भएकाहरूले सञ्चालकको जिम्मेवारी छोड्नुपर्छ । यस्तै एकभन्दा बढी प्रारम्भिक संस्थाको सञ्चालक छन् भने एक संस्थाको मात्रै सञ्चालक बस्नुपर्ने हुन्छ । विभागको उक्त निर्देशनले सहकारी अभियानलाई नै समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक संस्थामा मात्रै उक्त व्यवस्था गरी संघमा सञ्चालक हुने पाउने व्यवस्था गर्नुपर्ने माग गरेको हो । एक जना व्यक्ति एकै समयमा एउटा मात्र सहकारी संघरसंस्थाको सञ्चालक हुन सक्ने भन्ने निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भएको महासंघको ठम्याइ छ ।

हालको विषम परिस्थितिमा विभागको निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचैमा नेतृत्व छोड्दा अन्योल सिर्जना भई समस्या आउन सक्ने महासंघको भनाइ छ । विभागको निर्देशनबाट विचलन नभई पूर्ववत् अवस्थामा काम गर्न समेत सहकारी संघ संस्थाका सञ्चालकहरूसँग महासंघले आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्