२०८१ भाद्र २३
                           

चौसाँगढी नगरपालिकाको बजेट बहुमतले पारित

२६ असार, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले असन्तुष्टी पक्षको मुठभेडकै बीचमा बहुमतले बजेट पारित गरेको छ । बुधबार भएको १६ औं नगरसभामा मेयर कृष्ण प्रसाद सापकोटा देशबन्दुले नाराबाजीकै बीच बजेट र विधेयक सभामा प्रस्तुत गरेपछि माओवादीका पक्ष धरले ताली बजाएर आर्थिक वर्ष ०८१/८२ को बजेट पारित गरिएको हो ।

बुधबार विहान ११ बजे बजेट सार्वजनिक गर्न नगरसभा बोलाइएको थियो। मेयर लगायतका समुहले सभा गराउन एमाले र कांग्रेसबाट जितेका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई पर्खिरहे तर उनीहरु ढिला उपस्थित भएपछि तोकिएको समयभन्दा दुई घण्टा ढिला नगरसभा सुरु भएको थियो । नगरसभा सुरुहुनुअघिनै सबै पक्षका जनप्रतिनिधिहरूबीच बैठक समेत बसेको थियो ।

सो बैठकमा कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले भौतिक पूर्वाधार तर्फको १ करोड ६५ लाख बजेट पनि माग गरेका थिए । यसबारे पछि मिलाउने मेयर सापकोटाले बताए । त्यसपछि सुरु भएको नगरसभामा नगरप्रमुख सापकोटाले बजेटबारे धारणा राख्न सुरु गर्नासाथ वडा नं. २ का वडाध्यक्ष सुदीप श्रेष्ठले माइक खोज्दै स्पिकर उचालेर भुँईमा बजारे । सभामा प्रवेश गर्नुअघि उनीहरुले उपस्थिति पुस्तिका समेत च्यातेका थिए। एमाले–कांग्रेस समर्थित जनप्रतिनिधि नगरसभामा अराजक शैलीमा प्रस्तुत भए । सभा अशान्त बन्यो। धकेलाधकेल, हानाहान, मुक्का बर्साउने र छुट्याउने गतिविधिबीच सभामा कोलाहल मच्चियो।
। सो क्रममा वडा नं ३ का वडाध्यक्ष टेकवहादुर तामाङमाथि हातपात भएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।

नगरसभामा दुवै पक्षबीच धकेलाधकेल भएको थियो । सभामा केहिबेर तनावपूर्ण स्थिती सृजना भएको थियो । एमाले–कांग्रेस समर्थित जनप्रतिनिधि नाराबाजीमा उत्रिए थिए । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी नै परिचालन गर्नु गरेको थियो ।
भौतिक पूर्वाधार तर्फको १ करोड ६५ लाख बजेट ब्रेक डाउन गरिनुपर्ने र बहुमतको आधारमा पेलेर जान खोजेको भन्दै काँग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बिरोध गरेका हुन् । प्रमुख सापकोटाले भने सबैलाई समेटेर अघि बढेको बताए । प्रति वडा १ करोड विनियोजन भएपनि वडाले आफ्नो बजेटको ब्रेक डाउन गरेका छैनन् । मेयर कृष्ण प्रसाद सापकोटाले पहिला वडाको बजेट ब्रेक डाउन गर्न र त्यस पछि भौतिक पूर्वाधार तर्फको बजेट ब्रेक डाउन गर्ने बताएका थिए । यसो गर्दा योजनाहरु नदोहोरिने मेयरको भनाई रहेको मेयर सापकोटाको सचिवालयले जनाएको छ ।

यसअघि प्रति वडा एक करोड रुपैयाँ बजेट विनियोजन नगरे नगरसभा नै बहिष्कार गर्ने धम्की वडा अध्यक्षहरुले दिएपछि नगरपालिकाले आगामी वर्षका लागि घाटा बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रम बनाएको थियो । गत वर्ष प्रति वडा ८५ लाख रुपैयाँ विनियोजन गरिएकामा यो वर्ष प्रति वडा १ करोड बजेट विनियोजन गरीएको छ ।

मेयर कृष्णप्रसाद सापकोटाले आब २०७८।०८९ मा ६५ लाखबाट ७५ लाख र ०७९।८० मा ८५ लाख पुर्याएका थिए । यो वर्ष भने वडाध्यक्षहरुले एक करोड नै चाहिने धमास देखाएपछि मेयर सापकोटाले विनियोजन गरिदिएको स्रोतको भनाई छ ।
नगर सभाले १ अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पारित गरेको छ। सो बजेटमा शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया दिनुहोस्