२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेद् गर्ने दम्पतीको संख्या बढ्दै, बैदेशिक रोजगार मुख्य कारण

३० असार ,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेद् गर्ने दम्पतीको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ सय ७१ वटा सम्बन्ध विच्छेद्का मुद्दा दर्ता भएको जिल्ला अदालत सिन्धुपाल्चोकको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षका सरिआएका २ सय ६१ मुद्दा समेत गरि जम्मा ९ सय ६० मुद्दा मध्ये ४ सय ७१ वटा सम्बन्ध विच्छेद्का मात्रै रहेको अदालतले जनाएको हो । यो कुल मुद्दाको ४९ प्रतिशत हो । जिल्ला न्यायाधीश भगवती शर्मा ढुङ्गानाका अनुसार २०८१ असार अन्तिम सातासम्म सम्वन्ध विच्छेद् सम्बन्धी ४ सय ७१ मुद्दामा ३ सय ९९ मुद्दा फछ्र्यौट भइसकेको छ । अघिल्लो वर्ष सम्बन्ध विच्छेद्सम्बन्धी ४ सय २८ वटा मुद्दा दर्ता भएका थिए ।

पछिल्लो समय अदालतमा सम्बन्ध विच्छेद्सहितका अन्य मुद्दा दर्ता गर्ने क्रम बढेको जिल्ला न्यायाधीश ढुङ्गानाले बताइन् । अदालतका अनुसार श्रीमान् विदेशमा बसेका, कलिलै उमेरमा विवाह गरेका, घरपरिवारमा मानसिक र शारीरिक यातना पाएका र चरम यौन शोषण भोग्नेहरू अदातलको शरण परेको देखिएको छ । अन्तरजातीय प्रेम विवाह पनि एउटा कारण रहेको अदालतले जनाएको छ ।

सम्बन्ध विच्छेद् गर्नेमा सबैभन्दा धेरै २० देखि ३५ वर्ष उमेर समूहका छन् । मुद्दाको प्रक्रिया हेर्दा वैदेशिक रोजगार प्रमुख जड देखिएको छ । श्रीमान् विदेशिएपछि अर्को विवाह गर्ने प्रवृत्ति बढ्दै गएको पाइएकाले सम्बन्ध विच्छेद्का घटनामा बृद्धि देखिएको अदालतका श्रेस्तेदार शारदादेवी पौडेल बताउँछिन् । ‘वैदेशिक रोजगारका कारण आपसमा असमझदारी भएपछि सम्बन्ध विच्छेद् हुने गरेको देखिन्छ’,उनले भनिन्,‘पारिवारिक बेमेल र पारिवारिक स्तरले गर्दा पनि सम्बन्ध विच्छेद् बढेको छ ।’
सम्बन्ध विच्छेद हुने कारण मध्ये सबैभन्दा बढी वैदेशिक रोजगारी नै रहेको जिल्ला अदालत सिन्धुपाल्चोकले जनाएको छ । अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी लगायतका कारणले सम्बन्ध विच्छेद् गर्ने दम्पतीको संख्या हरेक वर्ष बढ्दै गएको अदालतको ठम्याइ छ ।

अघिल्लो वर्षका जिम्मेवारी सरिआएका २ सय ६१ थान मुद्दाबाहेक ६ सय ९९ नयाँ मुद्दा दर्ता भएका अदालतले जनाएको छ । २ सय ७३ मुद्दा अझै बाँकी रहेको छ । अदातलको अनुसार १ बर्षभित्रको २ सय ५९, एक वर्षदेखि १८ महिना भित्रको १३ वटा, १८ महिना नाघेको १ थान गरि २ सय ७३ थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।

त्यस्तै फैसला कार्यन्वयन सम्बन्धी २ सय ७ थान निवेदन परेकोमा १ सय ५५ फछ्र्यौट भएका छन् भने १ हजार ८ सय १८ बर्ष ५ महिना २३ दिनमा कैद फैसला कार्यन्वयन भएकोमा ४ सय ४१ वर्ष ९ महिना १ दिन फछ्र्यौट भएका छन् । विभिन्न मुद्दामा ७४ करोड १२ लाख २३ हजार ३ सय ९ रुपैयाँ जरिवानामा तोकिएकोमा ४ करोड ५८ लाख २९ हजार २ सय ९ असुल गरिएको छ । म्याद तामेलीको २ हजार ८ सय ९७ मुद्दा रहकोमा २ हजार ६ सय ८० मुद्दा जिल्ला अदालतले फछ्र्यौट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्