२०८१ भाद्र २३
                           

तयारीमा जुट्दै बिपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक

निर्मल बस्नेत –  चौतारा ।  मनसुनजन्य बिपद्बाट हुन सक्ने सम्भावित अवस्थाको प्रतिकार्य योजना निर्माण गर्दै बिपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठक सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक जिल्ला बिपद्ग्रस्त जिल्लाको रुपमा रहेको जिल्ला भएकोले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अग्रसरतामा बुधबार बैठक गरिएको हो ।

प्रजिअ थापाको आग्रहमा भएको बैठकमा बिषयगत कार्यालय र संघ संस्थाहरुले आगमी दिनमा गर्ने कामहरुको योजना र मौजाद औजार सामग्रीहरुको अवस्थाबारे जानकारी लिईएको बिपद् व्यवस्थापन समितिले जनाएको छ   ।

जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी थापाले जिल्लामा असार ३० र ३१ गते रातीको भारी बर्षाका कारण क्षती भएको जिल्लाको बिभिन्न स्थानको अवरोध हटाई दैनिक जनजिवन सहज बनाउन गृह मन्त्रालय र प्रदेश सरकारमा समेत आग्रह गरि पठाउने निर्णय भएको उनले बताए ।

प्रजिअले सम्भावित अवस्थाको प्रत्येक पल अपडेट रहँदै स्वस्फूर्त रुपमा सवैलाई घट्ना भएको बखत एकसाथ जुटेर आवश्यक कामहरु गर्न सुसुचित गरिएको जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले बैठकमा उपस्थित सवैलाई जिल्ला प्रशासन कार्यालयबाट प्रत्येक बिहान ८ बजे हरेक पालिकाहरुलाई अवस्था बुझ्नको लागि फोन गरिने हुँदा सो अगावै पालिकाले वडाहरुसंगपनि समन्वय गरि सहि सुचना दिनको लागि आग्रह गरिएको जानकारी गराए । सहायक प्रजिअ भण्डारीका अनुसार थप योजना र भएका बिपद्को प्रतिकार्यको लागि ४ गते पुनः समितिको बैठक आह्वान भएको समेत बताए ।

सिन्धुपाल्चोक जिल्लाले २०७१ सालमा जुरे पहिरो, २०७२ साल बैशाखमा बिनाशकारी भूकम्प र २०७७ सालमा लिदी पहिरो र २०७८ सालमा मेलम्ची बाढी लगायत अन्य बिपद्का घट्नाहरुबाट जनधनको क्षती बेहार्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्