२०८१ भाद्र २३
                           

महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकाले

४ श्रावाण ,काठमाण्डौ – महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत निकालेको छ । आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो ।

प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो । यसअघिका प्रतियोगितामा नेपाल एक खेल पनि नजिती समूह चरणबाटै बाहिरिएको थियो ।

यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जोडिन् । यूएईकी कविशा इगोदागेले ३ विकेट लिइन् ।

यसअघि श्रीलङ्काको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो । यूएईकी खुशी शर्माले ३६, कविशा इगोदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जोशीले समान १ विकेट लिइन् ।

नेपाल र यूएईको खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

प्रतियोगितामा अब नेपालले दोस्रो खेलमा पर्सि पाकिस्तानसँग खेल्नेछ । यस्तै समूह चरणको तेस्रो तथा अन्तिम खेल आउँदो मङ्गलवार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्