२०८१ भाद्र २३
                           

चौतारा अस्पतालको सेवा अब नयाँ भवनबाट  

७ श्रावाण, सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौतारामा रहेको प्रादेशिक अस्पताल चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । छिमेकी राष्ट्र चिन सरकारको सहयोगमा ३९ कोठाको भवन बनेको हो । भवनको उद्घाटन तथा हस्तान्तरण गत जेठ १६ गते भए पनि अस्पतालको सेवा सो भवनबाट दिन भने भर्खरै सुरु गरिएको हो ।

अस्पतालको भवन वि.सं २०७२ को भुकम्पले ध्वस्त भएपछि प्रि फाइभ अस्थाई भवनबाट सेवा दिदै आइरहेको थियो । सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । अहिले चौतारा अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ । विरामीले सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ ।

अस्पताल प्रवेश गर्ने वित्तिकै सवारी पार्किङ सुविधा, क्षयरोगको औषधी वितरण स्थल, खोप लगाउने क्लिनिक, इमर्जेन्सी सेवा, फार्मेसी, सामाजिक सेवा ईकाई, स्वास्थ्य विमा सेवा लिने ठाउँहरु देख्न सकिन्छ । साथै विरामीले पालो कुर्ने ठाउँ पनि ब्यवस्था रहेको छ ।

अस्पतालले नियमित सेवाहरु जनरल ओपीडी, हाडजोर्नी लगायतका सेवाहरु दिइरहेको चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीले बताए । भण्डारीका अनुसार अस्पतालको राम्रो सेवा महिला तथा प्रसुती सेवा रहेको छ । भने दुई वटा विशेषज्ञ सेवा पनि छ । पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा ३ हजारले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताए ।

उनका अनुसार विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १४ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने विश्वास डाक्टर भण्डारीले ब्यक्त गरे । हाललाई थाइ दरबन्दी अन्तरगत करारमा ३४ जना माग गरिएको बताएको छ । जनताको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने बताउदै हेमोडाइलसिस सेवा छिट्टै सुरु गर्ने भण्डारीले जानकारी दिए ।

अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेसंगै स्वास्थ्य उपचार सेवा पनि पहिला भन्दा सुधार हुने नागरिकले आशा गरेका छन् । स्थानियले स्वास्थ्य उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्य भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्