२०८१ भाद्र २३
                           

सिमलताल दुर्घटना, दुई हप्तामा पनि हराइरहेका बस र यात्रुको अवस्था थाहा भएन

११ श्रावण – चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा बस तथा यात्रुको खोजी जारी रहे पनि दुई हप्तामा पनि विस्तृत थाहा हुन सकेको छैन । घटना भएको दुई साता बितिसक्दा बेपत्ता भएका बस र बाँकी यात्रुबारे कुनै नयाँ सङ्केत नभेटिएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार ५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल (नेशनल डिजास्टर रेष्पोन्स फोर्स) बाट १२ जनाको प्राविधिक टोलीले हराइरहेका बस र यात्रुको संयुक्त रुपमा खोजी गरिरहेको छ । सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहे पनि अवस्था थाहा हुन नसकेको हो । गत शनिबार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतबार बिहानबाट खोजी कार्य थालेको थियो ।

दुई वटा बसमा ६५ जना रहेको अनुमान गरिए पनि अहिलेसम्म २५ जनाको मात्रै शव भेटिएको छ । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्