नवनियुक्त जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्षसँगको कुराकानीमा अधारित ।
तपाई आफुलाई समाजमा कसरी चिनाउनु हुन्छ ? परिचय ।
मेरो नाम रामकृष्ण दंगाल । घर चौतारा साँगाचोक गढी नगरपालिका ८ ईर्खू । अहिले जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा छु । गत असार २० गते नियुक्ती पाएको । म श्री ज्ञान मन्दिर नमुना मावि मेलचौरको ब्यवस्थापन समितिको संयोजकको जिम्मेवारीमा पनि छु ।
म समाजिक कार्यमा लागिरहेको मान्छे एउटा ब्यक्तिको कारणले पनि समाज रुपान्तरण र विकास गर्न सकिन्छ भन्ने एउटा उदेश्य मैले लिएको थिए । देश विदेशको हरेक कुराहरु बुझिरहँदा आफुले थोरै भएपनि समाजलाई केहि योगदान दिनुपर्छ भनेर म विगत लामो समयदेखि समाजप्रति नै उत्तरदायित्व भएर काम गर्दैछु ।
जिल्ला खेलकुद विकास समितिमा आउनुको उदेश्य?
म पनि एउटा पूर्व खेलाडी , खेललाई एकदमै माया गर्ने र खेलकुद बाटै ब्यक्तिको ब्यक्तित्व विकास संगै राष्ट्रको पहिचान झल्काउँछ भन्ने विश्वास लाग्छ । यो गतिविधिलाई कसरी अगाडी बढाउने भन्ने बारे म आफैलाई खुलदुली लागि रहेको थियो । यद्यपी हामी एउटा साधारण ब्यक्तिले चासो र चिन्ता लिएर मात्र नि सम्भव थिएन ।
राज्यको नीति, समग्र खेलकुद क्षेत्रलाई हेर्ने नीति परिवर्तन नभएसम्म सफल हुदैन तैपनि केहि गर्न सकिन्छ भनेर खेलकुदका हरेक गतिविधि हुदा अलि चासो दिएर यसो गर्न पाए हुन्थ्यो भन्ने ब्यक्तिगत रुपमा लाग्थ्यो ।
तर संस्थागत रुपमा आफु समितिमा नहुदा धेरै कुराहरु चाहेर पनि गर्न नसकिने रहेछ । खेलकुद क्षेत्रको विकास गर्न केहि गर्न सकिन्छ भन्ने उदेश्य नै हो मेरो । खेलकुदलाई कसरी अगाडी बढाउने , खेलमा आवद्ध भएका खेलाडीहरुको टिकाउका लागि कसरी ब्यवस्थापन गर्ने, उनिहरुलाई प्रशिक्षण लगायत धेरै कुराहरु मेरो मानसपटलमा छ । खेलकुद र खेलाडीको वृद्धि विकास गर्न सकिन्छ भनेरै म चासोका साथ लागि परेको हो ।
अध्यक्ष नियुक्ति भए पश्चात कार्यलयमा उपस्थित हुदा के रैछ अवस्था ?
विडम्बना भन्नुपर्छ जिल्ला खेलकुद विकास समितिमा संघसंस्थाको कुनै अभिलेख राखेको पाइएन । मैले नियुक्ति पश्चात अनौपचारिक रुपमा जिल्लाभर कति वटा संस्था रहेछ भनेर बुझ्दा करिब ४० वटा रहेछ । ती संस्थाका बारे यहाँ कुनै रेकर्ड छैन । संस्थाले गरेको प्रगति विवरण,वर्षका उत्कृष्ट खेलाडीको अभिलेख राख्नुपर्ने जिल्लाभर हेर्ने खेलकुद विकास समितिमा तर त्यस्तो अभिलेख राखेको छैन रैछ ।
तत्काल लागु गर्न सकिने के छ योजना तपाईको ?
अहिले बर्खाको सिजन छ । अब भदौ लागेपछि जिल्लामा भएका सम्पुर्ण संघसँस्थाहरुलाई पत्रचार गर्ने छु । संस्थाको आधिकारिक ब्यक्तिको विवरण, संस्थाको वार्षिक प्रगति विवरण लिने अभिलेख राख्ने काम गर्नेछु । मैले अनौपचारिक रुपमा बुझ्दा धेरैले संघ दर्ता मात्र गरेर राख्ने, भोटिङ राइटको लागि मात्र प्रयोग गर्ने तर खेलकुदको गतिविधि शुन्य भएको पाइन्छ । यी खालका संघसंस्थाहरूलाई वार्षिक प्रतिवेदन सहित बोलाएर छलफल गर्छौ ।
अब प्रमाणपत्र दर्ता पनि गराउनु पर्छ । यसरी आधिकारिक काम गर्नुपर्छ । यसरी गर्दा कुन – कुन संघसंस्था आधिकारिक छन ? जिल्ला खेलकुद विकास समितिले सहयोग गर्नुपर्ने रहेछ भने गर्ने तर दर्ता भएकालाई सहयोग गर्न नसकिने ढङ्गले अगाडी बढ्ने योजना गर्दैछु ।
खेल क्षेत्रको अवस्था कस्तो छ ?
नेपालको सन्दर्भमा राज्यको खेलकुदलाई हेर्ने दृष्टिकोण कस्तो छ भने पदक जसरी पनि जित्नुपर्छ भन्ने आशा गरि राख्ने तर खेलाडीलाई चाहिने आबश्यक न्यूनतम कुराहरु पनि परिपूर्ति नभएको , प्रशिक्षक नभएको, वास्तविक प्रशिक्षक, वास्तविक खेलाडी खेलकुदमा सामेल नभएको अवस्था छ ।
जो राम्रो खेल्छ, जो राम्रो प्रशिक्षक हो उनीहरुले ठाउँ नपाउने । अलिकति राजनितिक अस्वस्थ प्रतिस्पर्धाले गर्दा खेलाडी, प्रशिक्षक आफनो मान्छे राख्ने यस्तै भएका कारण खेलकुदमा प्रचुर सम्भावना हुदा हुदै पनि खेलाडी भएर पनि हामी पदक ल्याउन देखी हरेक कुरामा बन्चित भएकाछौ । राज्य स्तरबाट गर्नुपर्ने कुराहरूपनि धेरै छन् ।
सिन्धुपाल्चोकमा खेलकुद र खेलाडीको विकास गर्न के कुरामा ध्यान दिनुहुन्छ ?
मेरो अर्जुन दृष्टि के छ भने ७७ जिल्लामा सिन्धुपाल्चोक जिल्ला खेलकुदको सम्भावना भएको जिल्ला हो । खेलकुदको क्षेत्रमा केही गर्न सक्ने जिल्ला हो भनेर देखाउन सम्भव छ । सबै मिलेको छ , खेलाडी पनि छन् । अलिकति ब्यवस्थापनको पाटो र प्राविधिक कुराहरुलाई ध्यान दिन नसकेको अवस्था छ । यी कुराहरुमा ध्यान दिन दुई तिन कुरा हेरेको छु ।
वास्तविक दक्ष प्रशिक्षक, वास्तविक खेलाडी, वास्तविक रुपमा गर्नुपर्ने कुरालाई मात्र महत्वपुर्ण रुपमा हेरेको छु । साथै खेलकुदको पूर्वाधार क्षेत्रमा धेरै गर्नु पर्नेछ ।
त्यसमा चाँहि कति सम्भव होला, कति गर्न सकिएला पछि परिणामले देखाउला ।अहिलेको लागि चाँहि न्यूनतम रुपमा दक्ष प्रशिक्षक, कुशल खेलाडीलाई प्रोत्साहान गर्ने खेलकुदको क्षेत्रमा लाग्ने वातावरण बनायौ भने खेलकुदको क्षेत्रमा छाप राख्ने छ । जति योजना बनाए पनि पछि बजेटको सवालमा जोडिन्छ तर दृष्टिकोण पनि स्पष्ट हुनुपर्छ ।
वास्तविक खेलाडी ओझेलमा पर्ने, उनीहरुले ठाउँ नपाउने भइरहेको छ । गैर खेलाडीले ठाउँ पाइरहेको छ । यो अवस्थालाई अन्त्य गरेर खेलकुदलाई साँच्चै खेलकुद यस्तो हुनुपर्छ भन्ने गरी काम गर्ने ठुलो योजना छ । यो पदमा कति रहन्छु रहदिन तर रहुन्जेल प्रयास गर्नेछु ।
खेलकुदको क्षेत्रमा काम गर्न स्थानिय सरकारसंग कसरी समन्वय गर्नुहुन्छ ?
जिल्लामा १२ वटा स्थानिय तहहरु छन् । यो वर्षातको सिजन सकेपछि तत्काल प्रत्येक पालिका संग समन्वय गर्नेछु । उहाँहरुले खेलकुदको क्षेत्रमा राम्रै बजेट छुट्याउनु भएको छ । खेलकुदको क्षेत्रमा खेलाडीलाई प्रशिक्षण चाहियो । न्यूनतम आधारभुत आवश्यकता पुरा गर्नुपर्यो । यो खालको ब्यवस्था नहुदा कुशल खेलाडी, दक्ष प्रशिक्षक नहुने, जो भेट्यो उसलाई खेलकुदको जिम्मेवारी दिने,प्रशिक्षण विना प्रतियोगितामा भाग लिने हुँदोरहेछ । साथै स्थानिय तहले छुट्टयाइएको बजेट पनि सदुपयोग नहुने रहेछ ।
छिटै १२ स्थानीयसँग समन्वय गरेर जिल्ला खेलकुद विकास समितिको केके सहयोग गर्न सकिन्छ र उहाँहरुको आवश्यकता अनुसार सोही ठाउँहरुमा प्रशिक्षक झिकाएर प्रशिक्षण दिएर मात्र खेल प्रतियोगिता सुरु गर्ने नीति बनाउने योजना छ । खेलकुदमा पनि धेरै वटा विद्याहरू छन् । फुटबल, कराते,भलिबल, क्रिकेट मात्र हैन । यसबारे स्थानीयलाई बुझाउन पनि जरुरी छ । पाँच सात दिन ग्राउण्डमा फुटबल खेलाई दिएपछि खेलकुद भनेकै यहि रहेछ भन्ने छ । प्रतिभा भएका खेलाडीलाई उहाँहरुकै चासो अनुसार पालिका संग समन्वय गरेर खेलकुदलाई अगाडी बढाउने योजनामा छु ।
पछिल्लो समय जिल्लामा पाका उमेर समुहका मैत्रीपूर्ण खेलमा सरकार र संघ संस्थाको लगानी देखियो । के भन्नुहुन्छ यसबारे ?
यो महत्वपुर्ण कुरा उठाउनु भो । मैत्रीपूर्ण खेलकुद आयोजना गरि कहिले ४० ओभर कहिले ५० ओभर भन्या छ । यहाँ नेपाल सरकार स्थानिय सरकारले नै पैसा लगानी गरिरहेको छ । यस विषयमा चाहि होला उहाँहरुको कुन उदेश्यले आयोजना गर्नुभएको होला म यसमा डिभेड गर्न चाहान्न ।
तर ५० ओभर भएकाहरुलाई लगानी गरेर त्यो ब्यक्तिले खेलकुदको विकास गर्ने पनि हैन । न उहाँहरु फिजिकल रुपमा स्ट्रोङ हुनुहुन्छ । यो अवस्थामा लगानी चाँहि बालुवामा पानी हालेको जस्तो हो । उत्पादक क्षेत्रमा नभई अनुत्पादक क्षेत्रमा लगानी हो । यसमा स्थानिय सरकारले खेलकुद विकासमा कहाँ कति के गर्यौ ? यी खालका मैत्रिपूर्ण खेलमा लगानीको उपलब्धि के भन्ने सोच्न आवश्यक छ । बरु खेलका संघसंस्थाका लागि आबश्यक समाग्री फुटबल, भलिबल, कराते, क्रिकेटका लागि आवश्यक सामान दिन पायौ भने खेलकुदप्रति स्थानिय सरकार उत्तरदायी रहेछ भन्ने खेलाडीमा पनि उत्साह हुन्थ्यो ।
सिन्धुपाल्चोकमा कुन खेलमा बढि सम्भावना छ ? मुख्यत कुनकुन खेल जिल्लामा देख्न सकिन्छ ?
सिन्धुपाल्चोकमा मार्सल आर्ट सक्रिय छ । यो खेलका लागि ठुलो संरचना नभएपनि हुने रहेछ । फुटबलमा पनि सम्भावना छ । अर्को भर्खरै क्रिकेट खेल जन्मेको छ । सक्रिय पनि छ । उहाँहरुको संघ पनि छ । लागि रहनु भएको छ । भलिबल खेल चाँहि अलि पछि परेको जस्तो छ ।
गतिविधि त हुन्छ तर खेलाडी , दर्शकमा तेत्ति चासो देखिदैन । सबैभन्दा पहिला फुटबलको सन्दर्भमा खेलमैदान पूर्वाधार तयार पार्नुपर्यो । खेल्ने ठाउँ, अभ्यास र खेल्ने वातावरण नभइ हुदैन । त्यसैले ब्यवस्थित पूर्वाधार, दक्ष प्रशिक्षकको ब्यवस्था संगै सबै कुराहरु मिलाएर गर्यौ भने हामीले सोचेको प्रतिफल पाउँछौ नभए गेम गेमका लागि र देखाउन मात्र हुन्छ सोचेजस्तो नतिजा हात पर्दैन ।
जिल्लामा खेलकुद विकास गर्न खेलकुद विकास समितिका भुमिका कस्तो रहला ?
हामीलाई निर्देशन दिएका काम गर्ने हो हामीले । त्यो भन्दा बाहेक हाम्रो कुरा र योजनामा स्थानिय सरकारले कत्तिको साथ दिन्छ त्यसमा भरपर्छ । काम गर्दै जादा बजेटका कुरा पनि आउछ । हामीसंग दक्ष प्रशिक्षक छैन । प्रशिक्षक हायर गर्नुपर्यो । जसका लागि बजेटको पनि ब्यवस्था हुनुपर्यो । खेलकुद पूर्वाधार पनि राज्यले बनाई दिनुपर्यो । यी सबै कुरा हुदा एउटा ब्यवस्थापनको कुराहरु चाँही हामीले गर्न सक्छौ ।
राज्यले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक कुराहरु अध्ययन गर्ने, टिपोट गर्ने, कार्यन्वयन गर्नुपर्छ । यस्तो खालको वातावरण छैन । सिस्टम छैन । राजनितिक पहुँचको आधारमा मात्र पाइने प्रवृति भएकाले यो हालतमा हाम्रो योजना पुरा गर्न गाह्रो छ । खेल प्रशिक्षक र प्राविधिक उपलब्ध गराईदिनसक्छौ । प्रदेश सरकारमा यहाँको आवश्यकता योजना सहित बुझाउने काम हामी गर्नेछौ । ठोस नीति निमार्णमा झकझकाउने काम हामी गर्छौ ।
हाल खेलकुद पूर्वाधारको अवस्था, कसरी चलिरहेको छ ?
खेल मैदानको कुरा गर्दा चौतारामा मिनि रंगशाला निर्माणधिन अवस्थामा छ । ठेकेदारको लापरवाहीका कारण ५ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन । यो रंगशाला तयार भएपछि राम्रो हुने आशा छ । लामो साँघुमा पनि बसन्तपुर खेलमैदान छ । ब्यवस्थित छैन तैपनि खेलकुदको गतिविधि भइरहेको छ । खेलाडीहरुले विना सेवा सुविधा आफनै ढंगले मेहेनत गरेर अहिले यो अवस्था सम्म आईपुगेको छ ।
कस्तो वातावरण भइदिए खेल क्षेत्रमा सकारात्मक सुधार आउँथ्यो होला ?
खेल क्षेत्रलाई सबैले सकारात्मक रुपमा हेर्ने, सबैले आफ्ना स्वार्थभन्दा माथि उठेर संस्थागत रुपमा हेर्ने, विभिन्न फरक विचारका व्यक्तिहरु छोडेर आफ्नो विचार छोडेर समग्र खेलकुदको गतिविधिलाई मात्र हेर्ने हो भने हाम्रो जिल्ला खेलमा अति सम्भावना भएको जिल्ला हो । स्वच्छ रुपले जो आफनो कर्तव्यप्रति विमुख नभइकन आफ्नो कामप्रति इमान्दार भएर काम गर्ने हो भने खेलकुदका क्षेत्रमा धेरै गर्न सकिन्छ ।
सिस्टम पनि हुनुपर्छ जस्तै नियमित रुपमा खेलकुदका गतिविधि गरिराख्ने संघसंस्थाहरु छन् । उहाँहरुले वार्षिक रुपमा गेम गरिरहेको हुन्छ भने पालिकाले उहाँहरुलाई कति सहयोग गर्ने,खेलकुद विकास समितिले के गर्ने लगायत खेलका लागि कसले के गर्ने भन्ने केही छैन ।
वर्षेनी उहाँहरुले गेम गर्नुहुन्छ जसका लागि भिख मागे जसरी माग्दै हिड्नु परेको छ आर्थिक स्रोत जुटाउन । खेलकुद, खेलाडीको विकास गर्न , खेलको माध्यमले आफनो ठाउँको पहिचान बनाउन चन्दा माग्नुपर्ने अवस्था छ । यस्तो वास्तविक कुरा सम्बोधन नहुदा खेलकुद अलि पछि परेको छ । फुटबल खेलेर खेलकुदले के हुन्छ भन्ने कतिपयको सोच छ । खेलकुदलाई लिएर ब्यवसायी बुझाई भएन ।
तपाईको प्रतिबद्धता ?
मेरो सामर्थ्यले भ्याउञ्जेल खेलकुद क्षेत्र विकास गर्न सक्ने काम गर्नेछु । यसका लागि खेलप्रेमी र सम्बन्धित सरोकारवाला सबैको साथको अपेक्षा छ । मेरो धेरै योजनाहरु छन् । कति रहन्छु यो पदमा त्यतिन्जेल भित्रमा केही गरेर मात्र निस्किनेछु ।
प्रतिक्रिया दिनुहोस्