२०८१ मंसिर ६
                           

पाँच बर्षपछि फर्किएको खोलो

फकिर -खप्परको खालमा खासै दाउ नलागेपछि देश नै हापेर रन्थन्निदै कुवेत आएको झण्डै पाँच बर्षपछि दोश्रो खेप अर्को एउटा औपचारिक कार्यक्रममा मुन्टो देखाउँने संयोग मिल्यो । आफ्नो सालनाल गाडिएको भूमिमा खासै मुन्टो देखाउँन लायक नभएपछी ‘मुन्टोको मर्मत’ का निम्ति म अरब आएको थिएँ। पुँजिवादी समाजको छर छिमेकमा मुन्टो देखाएर हिड्न चरम गार्हो रहेछ । मुन्टो सग्लो नभएको नागरिकलाई देशमा बस्न सख्त मनाही छ !

नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले आफ्नो पन्ध्रौं स्थापना दिवस हिजो ‘भब्य’ तरिकाले सम्पन्न गर्यो । यहाँ म बिनासित्ति भब्य शब्दको हुर्मत लिन चाहन्न । भब्य यस अर्थमा कि महासंघका साथीहरुले ‘स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कार’ द्वरा एक योग्य संचारकर्मीलाई सम्मान गरेका छन् ।

कुवेतमा खजूरको बोट पनि राम्ररी फैलिनसकेको अवस्थामा नेपाली पत्रकारिताको अभ्यास फैलाएर नेपाली श्रमिकहरुलाई सूचनाको पहुँचमा पुर्‍याउन पत्रकार आनन्द आचार्यले गरेको संचार योगदानको उचित कदर भएको महशुस गरेको छु । स्वर्गीय माधव शाही स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित आनन्द सरलाई पुन: बधाई । मेरो अनन्य मित्र माधव जीको स्वर्गिय बसाईमा शान्ति मिलेको छ भन्ने मेरो ठम्याईं छ ।

दोश्रो, कुवेतमा हरेक साता एउटा न एउटा सार्वजनिक कार्यक्रम भैरहेको हुन्छ । हरेक सप्ताहन्त वा शुक्रबार कार्यक्रम टुटेकै हुँदैन । कार्यक्रमको प्रकृति उही हो । लम्बेतान आशन ग्रहण, खादा मालाको चरम खपत, कर्कश् भाषणबाजी, सम्बन्धित असम्बन्धित थरी-थरीका हुलहरूको फोटो सेशन ईत्यादी । समयलाई फजुल गर्नबाट महासंघ पनि पुरै अछुतो रहन सकेको छैन ।

सबैको मन राख्न खोज्दा हाम्रा नेपाली फ्लेवरका कार्यक्रमहरु ‘बोरिङ सीरियल’मा परिणत भैरहेका छन् । यो बोरिङपन हटाउँने अभियान महासंघले नै सुरुवात गर्दा पनि हुन्छ । राम्रो काम जस्ले जताबाट सुरु गर्दा पनि हुन्छ ।
तथापी, महासंघले कार्यक्रममा कार्यक्रमको संख्या थप्ने योगदान मात्र नगरेर सानै सहि नौलोपन ल्याएको थियो । ‘बिदेश विमर्श’ ले एउटा नयाँ बहस छेडेको छ । कुवेतको मेन स्ट्रीम लिड गरिरहेका सरोकारवालाहरुलाई बहसमा उतारेर कम्तिमा बिषयको गाम्भिर्यतालाई सम्बन्धीतसम्म पुर्‍याउँने चुनौती मोलेको छ ।

यो कर्म चुनौतीपूर्ण त छँदै छ निरन्तरतामा पनि शंका छ । महासंघका साथीहरुले यो शंकालाई चिर्न सक्नुपर्दछ । मैले बिदेश विमर्शको दुईवटा सेशनको सहजिकरण गरिरहँदा धेरै प्रश्न र सवालहरु उठेका त छन् तर, समय अभावका कारण ति बिषयहरु टुङ्गीएका छैनन् । उठेका ति सवालहरुलाई एकदिन सेभ ल्याण्डिङ् गर्नुनै पर्छ । गराईनेछ ।

प्रेम र ब्यापार’ बिषयक विमर्शमा युवा ब्यवसायी प्रेम गुरुङ र ‘राजनितिको राप’ बिषयक सेशनमा राजनितिक सचेतक केशर घलासँग एउटै मञ्च सेयर गर्ने अवसरका निम्ति महासंघका अध्यक्ष प्रिय राज मल्ल जीलाई हृदयाभार । यो संगै स्वच्छ, ब्यवसायीक र सन्तुलित पत्रकारिता कर्ममा तपाईहरुको यस्ता अर्थपूर्ण कार्यक्रमा मेरो नौतिक तथा सशरिर उपस्थिति रही रहनेछ भन्ने विश्वास दिलाउँन चाहन्छु ।

कार्यक्रमको अन्तिम सेकेण्डसम्म साक्षीका रुपमा हेरीरहँदा कुवेतमा अभ्यास भैरहेको पत्रकारिताको ‘प्याट्रन’ नै चेन्ज गर्नुपर्ने महसुश भएको छ । पत्रकार साथीहरु जे कर्म गर्दै आइरहनु भएको छ त्यो पत्रकार आचार संहिता र पत्रकारको न्युनतम कर्मभन्दा धेरै टाढा देखिएको छ । यसको दूरी ‘मेन्टेन’ गर्न तालिम तथा पर्याप्त अध्यनको जरुरी देखिएको छ । जसलाई महासंघले गम्भिर रुपमा लिनुपर्छ । नेपाली दूतावासका राजदूत घनश्याम लम्साल ज्यूले आफ्ना मन्तव्यकाक्रममा ब्यक्त गर्नु भएको धारणा नोटिस् गर्नुभएको छ भने तपाई हामीले गरिरहेको रिपोर्टिङको ‘चलेगा प्याट्रन’ चेन्ज गर्न वा सुधार्न अबेला हुन लागिसक्यो ।

हप्तैपिच्छे हुने यस्ता कार्यक्रममा राजदूतले केवल ‘खपत’ कै लागी मात्र सो कुरा भनिएको होईन । बिषय गम्भिर हो । कुवेतमा अभ्यास भैरहेको नेपाली पत्रकारिता राजदूतले संकेत गरेझैं सहि दिशामा नगैरहेको ब्यक्तिगत रुपमा मैले पनि महसुश गरेको छु ।
र, अन्तिममा, नेपाल पत्रकार महासंघ कुवेत १५ बर्षिय लक्का जवान भएको छ । बालक अवस्थाबाट जवान हुँदै गर्दा जुँगाको रेखी बस्ने क्रममा कैलेकाहि बालकपननै प्रतिबिम्बित हुन्छ । महासंघको यो नेतृत्वले अब ‘जवानपन’ देखाउँनु जरुरी छ ।

आफ्नो निजी कामका बावजुद पनि राज जीले देखाउँनु भएको यो कृयाशिलता तारिफयोग्य छ । संगै महासंघका प्रतिनिधि तथा सदस्य साथीहरुले गरेको होस्टे हैंसे पनि प्रशंसनिय छ । पत्रकार महासंघलाई यो दिनसम्म जिवित राख्न भगिरथ गर्नुहुने स्थापक अध्यक्ष आर बि बुढाथोकी, पुर्व अध्यक्ष हरीकृष्ण न्यौपाने, नवराज पन्थी लगायत सबैलाई आभार । आउँदा जाँदा देउरालीमा कैलेकाहि यसरी नै भेट भैहाल्ने छ ।

प्रतिक्रिया दिनुहोस्