१ भाद्र, सिन्धुपाल्चोक – जिल्लाको विभिन्न धार्मिक पर्यटकीय स्थलहरुमा भदौ जनैपूर्णिमाको दिन भब्य मेला लाग्ने गर्दछ । अहिले ति धार्मिक स्थलहरुमा सिन्धुपाल्चोक सहित काभ्रे, भक्तपुर, काठमाण्डौ, दोलखा, रामेछाप लगायत विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आउने क्रम बढ्दो छ ।
पाँचपोखरी
सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा जनैपूर्णिमाको अबसरमा मेला भर्नका लागि दर्शनार्थी आउने गर्दछ । समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको पाँचपोखरी क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो ।इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना–ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी रहेका छन्।
पाँचपोखरीमा हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ। पूर्णिमाको दिन र रातभरि धामी–झाँक्रीको झाँकी हेर्न सकिन्छ । तामाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा स्थानीय भेसभुसा र भाषामा झाँक्री नाच हेर्न भने पाइन्छ ।
स्याबल पोखरी
स्यबल पोखरी राजधानी काठमाण्डौको सबैभन्दा नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमालको काखमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व प्राकृतिक र धार्मिक महत्व बोकेको यस स्याबल पोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । स्थानिय जनै पूर्णिमाको दुई दिन अगाडि विधि विधानका साथ तेम्बाथानबाट झाँक्री सहित जात्राको लागि प्रस्थान गर्छन् । लगभग ५ घण्टाको ठाडो उकालो चड्दै सुपखर्कको चौरी गोठमा पुग्छन् । त्यहा रातभर नाचगान रमाइलो गरेपछि भोलिपल्ट लगभग ५ घण्टाको उकालो पछि स्यापल खर्कको गोठमा बास बस्न पुग्छन् ।पूर्णिमाको दिन र रातभरि पनि धामी–झाँक्रीको झाँकी हेर्न पाइन्छ । स्थानीय शेर्पा भेषभुषा र आफ्नै भाषामा उनीहरुले झाँक्री नाच प्रदर्शन गर्ने गर्छन् । स्याबलमा स्याबल पोखरी महादेवको मन्दिर छ । मन्दिरमा फलफुल , चौरीको दुध, सुनपाती फुल लिएर भक्तजनहरु चढाउन जान्छन् । जुगल गाउँपालिका वडा ३ मा रहेको स्यापल पोखरी महादेवको मन्दिरमा आई पूजा गरेमा धन ,सुख, शान्ति र बिहे पश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल स्थानिय माझ ज्यादै लोकप्रिय रहेको छ ।
भैरबकुण्ड
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने महत्वपूर्ण कुण्ड हो भैरबकुण्ड । यो कुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीहरु आस्था र विश्वासको कुण्ड हो । यसलाई शेर्पा हरुले आमा छ्यूमेनका रुपमा पूजा गर्ने गर्दछन् । समुन्द्री सतहबाट छ हजार ५ सय ६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित भैरवकुण्ड समुन्द्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । यहाँ पुग्ने जो कोही यहाँको प्राकृतिक सुन्दरतासँग लठ्ठ पर्दछन् । यहाँबाट सम्मुख जुगल हिमशृंखला पर्दछ । प्राकृतिक रुपमा अलौकिक मानिने भैरबकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ ।
अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भीरको बाटो हिडेर डेढ दुई दिनमा भैरवकुण्ड आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दछ । विशेषगरि जनै पूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ । भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्र चण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोर भीर हुँदै पनि पुग्न सकिन्छ ।
यहाँ भगवान शिव र पार्वतीको बासस्थान रहेको किंवदन्ती छ । महादेवको उग्ररुप अर्थात भैरव सम्हारकर्ताका रुपमा मानिन्छ । भगवान शिवको क्रिडास्थलका रुपमा भैरव कुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाको दिनमा ठुलो मेला लाग्ने गरेको हो ।
दोमाङ पोखरी
धार्मिक तथा पर्यटकिय स्थल दोमाङ पोखरीमा भदौ पूर्णिमा (जनैपूर्णिमा मेला) भब्य मेला लाग्ने गर्दछ । जिल्लाको जुगल गाउँपालिका–५ र ६ को सिमानामा अवस्थित दोमाङ पोखरी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । समुन्द्री सतहदेखि २२ सय ५० मिटर उचाईमा घना जंगलको बीचमा अवस्थित छ । पोखरीको वरिपरि महादेव थान र गेगाङ थान रहेका छन् । महादेव थानमा दर्शनार्थीहरूले त्रिशूल चढाएर खेतिपाती, पशु वृद्धि, धन आर्जन तथा सन्तान प्राप्तिको लागि पूजा गर्ने आउने र गेगाङ थानमा सफल बैदेशिक यात्रा तथा मुद्दा मामिला जित्नको लागि पूजा गर्ने गरेको स्थानीय बताउछन् । शुद्ध मनले जे चितायो त्यही प्राप्त हुने जन विश्वास भएकाले हरेक बर्ष हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछन् । यहाँ दर्शन गर्नका लागि जुगल गाउँपालिका विभिन्न ठाउँहरु सेलाङ, गोल्चे, सन्चागाउ, लिदी, गुम्बा, पाङ्खर्पु, पाङ्ताङ, कातिके, ढाडे, बराम्ची, हाप्रा, बिशिङ्खर, याङ्लाकोट, पेप्टा, तिनघरेदेखि झाँक्री (बोन्बो) सहित दर्शनार्थी आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्