११ भदौ, सुमन बुधाथोकी – बिहानै टोलमा भजनको चर्को आवाज लाउड स्पिकरहरुमा सुनियो। झल्याँस्स आदरणीय गुरुवर श्री अरुण गुप्तोलाई सम्झिएँ। उहाँ सफा तलाउको पानीमा माछाहरू देखे जस्तै श्रोताको मनमा स्पष्ट चित्र पैदा गर्ने प्रभावशाली व्याख्याता हुनुहुन्छ। एकपटक कक्षाकोठामा कला र सौन्दर्यको चर्चा गर्नुहुँदै उहाँले दशैँको विदामा तराईतिर एकैसाथ अनेकौँ लाउड स्पिकरहरुमा कसरी बलिउडका चर्चित गीतको धूनमा धार्मिक भजन बजाइन्छ भनेर सुनाउनुभएको सम्झिएँ। आज व्यासकृत महाकाव्य महाभारतका (अहिलेसम्म) अमर पात्र वासुदेव श्री कृष्णको जन्मदिन अर्थात् जन्माष्टमीको दिन भएकोले नै प्रभातकालीन वातावरण यस्तो उल्लासमय भएको रहेछ।
मेरो सीमित पढाइ र सुनाइबाट महाभारतको कथाभरि पाइने श्रीकृष्णको चारित्रिक विरोधाभासहरुलाई सम्झिएँ। उनले चाहेका भए त्यत्रो नरसंहार सजिलै रोक्न सक्थे। सूतपूत्रका रुपमा अन्याय भोगेका कर्णलाई कुन्तीको जेठा छोरा हुन् भनी पहिले नै जानकारी गराउन पनि सक्थे। इत्यादि। उनी स्वयं सृष्टिकर्ता परमेश्वर भएकाले ईश्वरीय नियतिलाई पुष्टि गरी धर्म (न्याय/सत्य) पुनर्स्थापनार्थ कुरुक्षेत्रमा विशाल नरसंहारको आयोजना गरेका हुन्। त्यसलाई उनको महानता र ईश्वर हुनुको प्रमाणको रुपमा नै लिनुपर्छ भन्ने आम जनविश्वास पनि उत्तिकै बलियोसँग सयौँ वर्षदेखि चलिआएकै छ। यस्तोमा मनमा कुटिल जिज्ञासा उठ्यो- उपनिषद्का सत्य-द्रष्टा ज्ञानीजनले सामूहिक रुपमा जगत, चेतना र जीवनको अभिप्राय सम्बन्धित निर्क्यौल गरी निकालेका तत्कालीन ज्ञानको निष्कर्ष जनचेतनामा कथात्मक रुपमा स्थापित गर्न महर्षि वेद व्यासले आफ्नो विशाल विद्वता, कल्पना र कवित्व मिश्रण गरी महाभारतको रचना गरेका हुन् भन्ने मतमा धार्मिक तथा भौतिकवादी विचारको लगभग उस्तै राय छ भन्ने पढेको थिएँ। यदि श्रीकृष्ण व्यासकै प्रचूर सृजनात्मक क्षमताको काल्पनिक जीव हुन् भने हिन्दू आस्थाका सारा विश्वासीले पनि उही काल्पनिक पात्रलाई नै यथार्थ मानेर आफ्ना याचनाहरु अनि प्रार्थनाहरू सुनाइरहेका त होइनन्? महाकवि वेद व्यासभन्दा अघि दर्शन थियो, व्यासपछि त्यो जनजीवनमा घुलेर धर्म र संस्कृति बन्यो भनेर बुझ्यो भने श्रीकृष्णले ईश्वरीय गुण गुमाएर मानवीय चरित्र पाउने अवस्था हुन्छ जुन धार्मिक विश्वासका लागि ज्यादा उपयोगी नहोला।
कलाको नैतिक चरित्र कस्तो हुन्छ भन्ने विषयमा यहाँ सौन्दर्यशास्त्रकै कक्षामा गुरुवर अरुण गुप्तोलाई सम्झिएँ – आख्यान पढिरहँदा त्यसका पात्रहरू अत्यन्त जीवन – सदृश छन् र तिनले यथार्थमै तिनीहरू अस्तित्वमा छन् भन्ने बलियो विश्वास पाठकका मनमा स्थापना गर्न सके भने तिनले आख्यानको पाठभूमिमा गर्ने असल वा खराब व्यवहारले हाम्रो नैतिक चेतनालाई सकृय बनाइदिन्छन्। हामी ती काल्पनिक चरित्रलाई यथार्थ नै भनी वास्तविक मान्छेहरुसँग जस्तै व्यवहार गर्न थाल्छौँ। यसलाई आख्यानको विरोधाभास (प्याराडक्स अफ फिक्सन) भन्न सकिन्छ। पुस्तौँपुस्तासम्म श्रीकृष्ण लगायतका महाभारतका अनेकौँ जीवन्त पात्रहरूलाई हामीले विनयशील र ग्रहणशील मनोभावनाले सुन्दा र पढ्दा हामीलाई ती आख्यानका पात्र वास्तविक नै लागेको पनि त हुन सक्छ। त्यसैले जिस्क्याउनलाई मोबाइलमा व्यस्त ‘जेन-जी’ भान्जालाई सोधी हेरेँ, “बाबु, आज कृष्ण भगवान जन्मिएको दिन रे। तिमीलाई कृष्ण भगवानमाथि कत्तिको विश्वास लाग्छ?” उनले खासै चासो नदिई भने, “सबैले मान्छन्, म पनि विश्वास गर्छु।” त्यसो भए महाभारतका पात्रहरूमाथि विश्वास र अविश्वास गर्नलाई व्यक्ति आफैँले नै तिनलाई विनीत भावले सुनेको वा पढेको हुनुपर्ने रहनेछ। अघि फेसबुकमा एकजना क्रान्तिकारी संगठनकी विद्यार्थी कमरेडले आफूलाई ‘श्रीकृष्णले औधी आकर्षित गर्छन्’ भनी स्टाटसमा ‘कन्फेस’ गर्नुपर्ने उत्कट इच्छा पनि यही सामूहिक विश्वासको प्रभाव नै हुन सक्छ। अर्थात्, ‘कलेक्टिव प्याराडक्स अफ फिक्सन’। यसरी दर्शन वा तत्कालीन सत्यलाई आख्यानमा व्यक्त गर्दा सामूहिक चेतनामा काव्यिक सौन्दर्य उत्पन्न भएको हुन सक्छ र त्यसले कालान्तरमा मिथकीय स्वरूप ग्रहण गरेको हुनुपर्छ र चलन मार्फत सामुहिक स्मृतिमा त्यसले सत्यको स्वरूप पाएको हुनुपर्छ। निरन्तरको अभ्यास र विश्वासबाट बानीको विकास हुन्छ। यसको विपरीत सोच्न र व्यवहार गर्नु आफ्नै विरुद्ध हिंसा गर्नुतुल्य अफ्टेरो हुन्छ। सायद संस्कृति यसरी निर्माण हुने होला।
संस्कृति कुनै अलग्गै उभिएको चिज होइन। यो त कुनै विशाल जनसमूहको इतिहास, भूगोल, मिथकीय कल्पना, काव्यिक चेतना, ज्ञान प्रणाली, मनोविज्ञान, धार्मिक आस्था र अर्थतन्त्रको सबैभन्दा प्राचीन जराहरूसँग अनेक रुपले जटिल भएर जोडिएको हुन्छ। लामो समयदेखि अन्तरपुस्ता हस्तान्तरण हुँदै आएको आफैँलाई आफूले भनेको बृहत कथा पनि हो संस्कृति। यो सामूहिक पहिचानको पनि मूल हो। यसले निश्चित प्रवृत्ति र चरित्र भएको सामूहिक जीवन-दृष्टिलाई जनाउँछ। समग्रमा यो त अत्यन्त लामो समयदेखि बन्दै भत्कँदै फेरि बन्दै जाने सूक्ष्म सांकेतिक अर्थहरू अंगीकार गरेर नियमित रीतहरू मार्फत व्यावहारिक जीवनमा मार्ग दर्शन गराउने, एकदम विपरीत जस्ता लाग्ने चलनहरू समेत अटाउने, असाध्यै जटिल जीवन शैली पनि हो।
यसमा धेरै चिज एकै ठाउँमा मिसिएको हुन्छ। चिजवस्तु, कला, संगीत, संकेत-चिन्ह, सोच्ने तरिका, अर्थ लगाउने विधि इत्यादि यहीँ बुनिएको हुन्छ। एउटालाई चलाउँदा अरु पनि चल्छन्। फेरि उँचो/निचो, भेदभाव र अन्यायको तानाबाना पनि यहीँ छन्। अनि फेरि कुनै पनि संस्कृति पूर्णतः सही वा गलत हुँदैन। संस्कृति ‘कालो वा सेतो’ भनेजस्तै स्पष्टतः दुई भागमा विभाजन गरेर सजिलै छुट्याएर हेर्न पनि कठिन हुन्छ। यो बरु फरक र मौलिक हुन्छ, सही र गलत भन्ने चाहिँ हुँदैन। संस्कृतिमा बुद्धि-सम्मत र तार्किक रुपमा स्पष्ट कुराहरू मात्र पनि हुँदैन। यसमा तर्कातीत र बुद्धिको सीमाभन्दा परका अनौठा र अपत्यारिला पक्षहरू पनि उत्तिकै टड्कारो यथार्थ बनेर जीवित हुन सक्छन्। विरोधाभास, राजनीति जस्तै संस्कृतिको पनि अभिन्न अंग हो। संस्कृतिले आकार र चरित्रमा एकरुपता पनि झल्काउन खोज्छ, साथै बहुरुपताबाट पनि आफू झन् समृद्ध, जटिल र सुन्दर बनिरहन्छ। त्यसो हो भने कुन हदसम्म संस्कृतिले अंगीकार गरेका हानीकारक, विभेदकारी र अन्याययुक्त कुराहरूलाई कसरी समाधान गर्न सकिएला त?
संस्कृतिमा सत्यताको खोजी सायद तथ्यपरक इतिहास लेखनको निम्ति चुनौतीको काम हो। बदलिरहने आर्थिक, राजनीतिक, प्रविधिको सापेक्षतामा फेरिइरहने सामूहिक चेतनाका रुपहरुलाई संस्कृतिमा गढिएका काव्यिक कल्पनाको खोजी मार्फत सामूहिक आत्म-चित्रको दर्शन गर्नु मिथक अध्ययन र साहित्यको लागि पनि चुनौतीको नै काम हो। सबै कुरा जस्तै नयाँ दृष्टिकोण, नयाँ तथ्य र तिनलाई व्याख्या मार्फत व्यक्त गर्दा रचिने नवीन कथ्य (न्यारेटिव) ले इतिहासको बुझाइ नयाँ बन्दै जाँदा सामूहिक ‘सेल्फ इमेज’ वा आत्म-चित्र पनि बदलिन्छ नै।
नयाँ परिस्थितिमा नयाँ बुझाइले उघार्ने नौलो इतिहाससँगै सांस्कृतिक चेतना पनि अवश्य फेरिन्छ। असङ्ख्य प्रभावहरूलाई संस्कृतिले निरन्तर एकैनास थेगिराख्न सक्दैन र संस्कृति बदलिन्छ। संस्कृतिमा हुने मौलिकताले अनेक प्रभावसँग अन्तरक्रिया नगरी रहन सक्दैन। अरुण गुप्तोको विचारमा “संस्कृति जहिल्यै पनि धरापमा हुन्छ। यो सधैँ तरल अवस्थामा हुन्छ।” (गुप्तो, १७१) यो आफ्नै अनुकूलतामा आफैँ नै निश्चित नियमले परिवर्तन भैरहन्छ। त्यसैले हठात रुपमा कुनै पनि संस्कृतिलाई बलपूर्वक परिवर्तन गर्न खोज्नुले सामूहिक जीवनमा नसोचेको दुर्घटना निम्त्याउन सक्छ। राजनीति चाहिँ क्रान्तिकारी तवरले बलात परिवर्तन हुन सक्ला तर संस्कृति अत्यन्त सुस्तरी मात्र परिवर्तन हुनसक्छ। माओको चीनियाँ सांस्कृतिक क्रान्ति तात्विक रुपमा असफल हुनुमा यही हतारको बलप्रयोगले गल्ती गरेको थियो। जनयुद्धको क्रममा गाउँघरमा जातीवाद, छुवाछुत, मदिरा सेवन, जुवा तास, घरेलु हिंसा आदि बलपूर्वक नियन्त्रण गर्दै भौतिकवादमा आधारित विज्ञानसम्मत जनसंस्कृति निर्माण गरेका नेपाली माओवादी कमरेडहरूले पछि सत्तामा पुगेर धार्मिक अनुष्ठान गर्दै, सटिक विश्लेषक सि. के. लालको भाषामा ‘पीतवस्त्रधारी साम्यवादी’ (स्याफ्रोन कम्युनिष्ट) मा सजिलोसँग परिवर्तन भएको उदाहरण पनि यहाँ मेल खान्छ।
‘सांस्कृतिक अध्ययन’ अर्थात् ‘कल्चरल स्टडिज’ का ज्ञाता डा. अरुण गुप्तोका अनुसार यसका फराकिला दुई रुप हुन्छन् – सांस्कृतिक मानवशास्त्र र सांस्कृतिक अध्ययन। पहिलोले वस्तुहरूको उत्पादन र त्यसको संस्कृतिमाथि हुने प्रभाव हेर्छ भने दोस्रोले चाहिँ संस्कृतिभित्र सञ्चालन हुने दैनिक जीवनको अध्ययन गर्नुका साथै हेपिएको, दुःखमा र सीमान्तीकृत अवस्थामा परेको समुदायको हितको संवर्द्धनको लागि राजनीतिक शक्तिसँगको सम्बन्धबारे अध्ययन गर्छ। (गुप्तो, १६६-१६७) तसर्थ संस्कृतिमा निहित विचार, चलन र व्यवहारमा शासकीय शक्तिको स्वार्थ हाबी भएर कुनै समुदायको हित चाहिँ दमन र उत्पीडिनमा परेको छ भने सांस्कृतिक अध्ययन अन्तर्गत त्यस्ता कुराको खण्डन र परिष्कारले पनि उत्तिकै स्थान पाउन सक्ने रहेछ।
यहाँ जनप्रिय लेखक खगेन्द्र संग्रौलाले आफ्नी आमाको निधन हुँदा मृत्यु संस्कारसँग सम्बन्धित रीतिरिवाजसँग वैचारिक असहमति गर्दै जुन विद्रोह गरे त्यसको प्रसङ्ग उल्लेख गर्न सकिएला। उनले काजक्रिया बहिष्कार गर्दै भनेका थिए, “जीवन-दर्शन रोज्न पाइन्छ, राजनीतिक दल रोज्न पाइन्छ, पेसा र वृत्ति रोज्न पाइन्छ। तर कर्मकाण्डीय विधिमा चाहिँ रोजाइलाई ठाउँ किन नहुने? अन्तिम संस्कारको विधिलाई सरल, छोटो र किफायती बनाउन जमर्को किन नगर्ने? यसलाई नियन्त्रण, रुढी र ठगीबाट मुक्त गर्ने उद्योग किन नगर्ने? के यस्तो रुढिग्रस्त धार्मिक परम्परामाथि औँला ठड्याउनु पाप हो?” (संग्रौला, ७५)
त्यसो भए संग्रौलाको सांस्कृतिक सुधारको लागि गरिएको यस्तो निजी विद्रोहको पनि अलग्गै महत्व रहन्छ जुन सांस्कृतिक अध्ययनकै विषय हो।
संस्कृतिमा हिंसा पनि महत्वपूर्ण अङ्गको रुपमा जोडिएको हुन्छ। देवी देवताको वेदीमा गरिने पशुबली मात्र होइन बाल्यावस्थाबाट वयस्क अवस्थामा प्रवेश हुने रीतिरिवाजहरू पनि अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा हिंसात्मक हुन्छन्। अनुशासनले दमीत सामुहिक मनोविज्ञानलाई उन्मुक्ति दिलाई हलुका बनाउन यस्ता हिंसात्मक संवेगहरूलाई रीतिरिवाज मार्फत अभिव्यक्त हुने अवसर मिल्छ। जन्माष्टमीको सांस्कृतिक र मिथकीय अर्थबारे चिन्तन गर्ने क्रममा डा. अरुण गुप्तोका विचारमा काठमाडौँ उपत्यकाको मनोभाव रीतिरिवाजलाई व्यवहारमा उतार्ने क्रममा अनेकौँ सुन्दर र अर्थपूर्ण मिथकहरुको कलात्मक उपयोग गर्नमा झुकाव राख्ने खालको छ। “मिथकहरुतिर फर्किनु रीतिरिवाजको अभ्यासद्वारा निर्दोषितातिर फर्किनु हो।” (गुप्तो, ३२) मानौँ सम्पूर्ण काठमाडौँ उपत्यका सांस्कृतिक रूपमा मिथकहरुतिर फर्किएर “मनोवैज्ञानिक रुपमा झन् स्वस्थ हुन खोजेको छ।” उनका नजरमा बाल श्रीकृष्णको परिहनमा सँजिएर आफ्ना आमाहरूको हात समाई पाटनको कृष्ण मन्दिर परिसरमा बाजाको उत्सवमय संगीत र रंगीन भीडमा फुर्सदले हिँडिरहेका बालबालिकाहरू “लोकजीवनको स्मृति” हो। यो मिथकीय-लोकजीवनले सृजना गरेको ‘स्पेस’ नै त्यो फुर्सदको समय हो जुन सहरी तीव्र गति र हतारोको धारणाबाट उन्मुक्त छ।
सोचिहेरौँ त- नेपाली सांस्कृतिक जीवनबाट एक एक गर्दै अनेकौँ मिथकीय कथामा आधारित चाडपर्वहरूलाई नकार्दै जाने हो भने मनोवैज्ञानिक रुपमा यहाँको लोक चेतना कति उजाड, उदास र बिमार देखिएला? राजनीतिक मूर्खता र क्रूर संवेदनाहीनताले आक्रान्त रहेर पनि रङ्गीन र संगीतमय चाडपर्वमार्फत हृदयदेखि नै उज्यालो भएर सम्पूर्ण वाहियातपन पचाएर बाँच्न सकेका नेपाली लोकजन यी चाडपर्व र संस्कृति पनि खोसिँदा कस्तो वियोगान्त भोग्लान्? लाग्छ, हामीलाई जीवनको कठोर यथार्थ अगाडि बलियो मन बनाएर उभ्याउन र दोहोरिरहने राजनीतिक त्रासदीको सामना गर्न संस्कृतिको पनि अवश्य सहयोग रहेको छ।
तसर्थ, आफू धर्मनिरपेक्ष भैकन पनि सडकमा, बसमा, गल्लीमा आउँदै जाँदै गैरहेका मान्छेहरूलाई जब रिमझीम वर्षादमा देखेँ मलाई अरुण सरका गहकिला कुराहरू बारम्बार याद आइरहे। अनि मेरो कुटिल सोचाइ नरम र विनीत बनिरह्ययो ।
प्रतिक्रिया दिनुहोस्