२०८१ मंसिर ६
                           

चर्चा – भावुकता – चुपचाप

पवन – हालै वृत्तचित्रको ढाँचामा सम्प्रेषण गरिएको निकै मन छुने कथा(कसैको वास्तविक जीवन) चर्चित बन्यो । मैले हेरेसम्म “हेर्ने कथा” ले देखाउने कथाहरूको ढाँचा यस्तै हुने गर्छन् । केहीको चर्चा कम हुन्छ, केहीको धेरै । सामाजिक सञ्जालमा हुने कुनै पनि चर्चाको आयु कति हुन्छ हामी सबैमा मोटामोटी अनुमान छ । केही दिन चल्छ, त्यसपछि चर्चाको मञ्चमा उक्लिन्छ अर्को चर्चा । म भने ढुक्क छु – यो त्यस्तै अर्को एक चर्चा हो ।

यसरी एक चर्चाबाट अर्को चर्चामा चलिरहेको हाम्रो छलफलमा सबैखाले भावना आइरहेका हुन्छन् । हामी मध्ये कोही रिसाउँछौँ । कोही “कोको रिसाए होलान्” भनेर हेर्छौँ । हामी मध्ये कोही आफू रोएको जानकारी गराउछौँ । केही मामलामा जिस्किन्छौँ । केहीमा बोल्न हतार गर्छौँ , कुनैमा बोल्यो भने फसिन्छ झैँ गरी डराउँछौँ । कहिले मन गर्हुङ्गो पार्छौँ । कहिले दिक्दारीको लामो सास फेर्छौँ । तरह-तरहका चर्चाहरूमा अनेक-अनेक भावनाहरूको पोखरी बन्छ सामाजिक सञ्जाल ।

अहिले, माने हिजो, आज (सायद भोलि, पर्सी, र निकोर्सी सम्म) “हेर्ने कथा” को प्रकाश भेटिएको अङ्कको चर्चा हुँदै छ । यसबिचमा म वरपरका धेरै साथीहरूले राख्नुभएको टिप्पणी अनुसार भन्दा चर्चाको यो चक्रमा हामीमा ठूलो चिन्ता र करुणाको भाव पैदा भएको छ । कम्तिमा टिप्पणीहरूमा त्यस्तै पाउँछु । त्यस्तै मध्येको एक म पनि हुँ । भावहरूको यो सागरमा एउटा भाव मेरो पनि छ ।

मलाई- ऊ किन फर्क्यो ? किन कसैले सघाएनन् ? जसले उसलाई खिचे, तिनले किन पैसा दिएनन्(सघाएनन्) , र खिचे मात्रै ? अथवा, अब चन्दा उठाएर किन सहयोग नगर्ने ? उसलाई घर किन नपठाउने ? जस्ता प्रश्नहरूमा जानु छैन । चर्चाको मिति सकिएपछि यी प्रश्नहरू अर्को प्रकाश र अर्को “हेर्ने कथा” मा सरिसकेका हुनेछन् । र, मैले आफ्नै आँखा अघि आफुले राखेका थुप्रै प्रश्नहरू बेकार भएको देख्नुपर्नेछ ।

यस मामलामा मेरो रुची मूलत: ३ ठाउँमा छ ।

१. चर्चा हुने, हामी बोल्ने (अझैँ भनूँ, बोलिटोपल्ने) । त्यसपछि केही पनि नफेरिने । उस्तै खाले अर्को कथा पर्खने । चर्चा – भावुकता – चुपचाप । चर्चा – भावुकता- चुपचाप । यो चक्रबाट निस्कने प्रयत्न गर्ने बारे , सायद अब सोच्नुपर्छ कि ? भावुक नहोऔँ भनेको होइन, तर परिस्थिति बदल्ने प्रयत्नमा नजुट्ने हो भने, हाम्रै जिन्दगीले स्वयंलाई “दोगला म”को उपाधि दिन सक्छ । मेरो अनुरोध- यी भावनाहरूको सही व्यववस्थापन समाज फेर्ने स्वक्रियात्मक (proactive) बाटोमा सामेल हुनु हो , त्यसमा सजग होऔँ ।

२. निराशाका बिचमा पनि साना-ठूला प्रयत्नहरू हुने कुरा नियम हो । साथी हो, निराशाको यो कुहिरीमण्डलमा एकपटक समाजबारे, हामीलाई शासन गरिरहेको प्रणालीबारे, नयाँ बाटो कता जाने भन्ने बारे, भावि पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने बारे, संस्कृति, कला कस्तो बनाउने भन्ने बारे आदि… जहाँ जहाँ आफ्नो रुची र गच्छे पुग्छ, छलफल गरौँ । सामुहिक आवाजहरू बोल्न सुरु गरौँ । शनै: शनै: सही, यसले हामीलाई यो अन्त्यहीन चक्रको कुप्रभावबाट पक्कै बाहिर निकाल्नेछ ।

३. कवि वर्तमान भन्थे- “अन्यायमाथीका मेरा प्रतिक्रिया सकिएपछि, मेरा क्रोधहरू सकिनेछन् ” । मात्रै प्रतिक्रिया दिने मान्छे पो बन्यौँ कि? भन्ने डर/आत्मसमीक्षा प्रस्रुत गरेको हुँ । अन्यायहरूविरुद्द बोल्न छोडौँ भनेको चैँ होइन । जहाँ जता सकिन्छ, बोलौँ । मात्र यति हो कि, विद्रोहका नवीन प्रयत्नहरूलाई अघि बढाऔँ । नत्र! तपाईको भविष्यले तपाईलाई “लाचार भुत” भनेर गाली गर्ने खतरा बढ्ला कि ?

खासमा ननिदाएर यसरी यो बेला – यो सञ्जालले सोधेको “व्ह्याट्स अन योर माइन्ड” रिप्लाई गर्नु , चर्चा- भावुकता-चुपचापको यो महाप्रलयमा म पनि सङ्गै छु भन्ने जानकारी समेत हो ।

प्रतिक्रिया दिनुहोस्