२०८१ मंसिर ६
                           

भोटेकोसी नदीमा खसेको बोलेरो निकालियो, सवार मानिस बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबिसे -तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा खसेको बोलेरो निकालिएको छ । नदीमा खसेको ७ घण्टापछि  क्षतिग्रस्त अवस्थामा बोलेरो  निकालिएको हो ।
बाेलेराे निकालिए पनि गाडी भित्र काेही पनि नभेटिएको प्रहरीले जनाएको छ । स्थानीयले गाडीका चालक र उक्त गाडीमा  एक महिला सवार भएको बताएका छन् । उनीहरू बेपत्ता छन   । प्रहरीका अनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराेका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन् । उनीसहित बोलेरोमा बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ सवार थिइन् । दुवै फोन सम्पर्कमा नआएको भनी आफन्त मार्फत् जानकारी पाइएको डीएसपी निरञ्जन भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्