५ आश्विन – विश्व अल्जाइमर्स दिवस आज विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदैछ । यो वर्ष ‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नारा तय भएको छ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ । अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौँ ।
बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो ।नेपालमा अल्जाइमर्सका बिरामीको यकिन तथ्याङ्क नभए पनि जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यो रोगका बिरामी पहिचान हुने क्रम भने बढ्दो छ । नेपालमा झन्डै १० वर्षअघि ७८ हजार मानिस बिर्सिने समस्याबाट ग्रसित रहेकोमा सन् २०३० मा यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ ।
बिर्सने समस्याले अस्पताल पुगेर जाँच गर्नेमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ । विभिन्न अध्ययनले देखाएअनुसार जेनेटिक्सका साथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्न सक्ने जोखिम बढ्दो छ ।
अल्जाइमर्स दीर्घरोग हो, जसले मष्तिष्कमा बिस्तारै क्षय गराउँछ । यसबाट बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, अरू काममा समस्या आउने गर्छ ।
प्रतिक्रिया दिनुहोस्