६ असोज , सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौतारास्थित चौतारा अस्पतालमा मृगौला डाइलासिस (रगत शुद्धीकरण) सेवा सुरु भएको छ । आइतबार प्रतिनिधिसभा सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डाइलासिस सेवा विस्तारको उद्घाटन गरेपछि औपचारिक रुपमा सेवा सुरु भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका–की ४५ वर्षिया शर्मिला तामाङले आजै डाईलासिस सेवा लिएकी छिन । यसअघि डाईलासिसका लागि काठमाडौँ धाउँदै आएकी तामाङले आफ्नै घर आँगनमै सेवा लिन पाएपछि खुशी लागेको बताइन् ।
अस्पतालमा हाल ५ वटा डाइलोसिस गर्ने मेशिन जडान गरिएको छ । एक पटकमा ५ जनालाई सेवा दिनका लागि १ जना चिकित्सकसहित ३ जना तालिम प्राप्त नर्सको व्यवस्था गरिएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले बताए ।जनशक्ति र ठाउँ अभावका कारण समयमै सो सेवा विस्तार गर्न नसकेको डा. भण्डारीले बताए ।
जिल्लाका १० जना मृगौला रोगबाट प्रभावित भएकाहरूले डाइलोसिसका लागि नाम टिपाइसकेको अस्पतालले जनाएको छ ।प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले आफू स्वास्थ्य मन्त्री भएको समयमा ५ वटा डाइलोसिस गर्ने मेशिन अस्पताललाई उपलब्ध गराएका थिए ।
सुरुमा १५ शैयाको चौतारा अस्पताल प्रादेशिक अस्पताल भएसंगै ५० शैयामा स्तरोन्नती भएको छ । २०८० पुस ३ गते बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार ५० बेडमा अस्पताललाई विस्तार गरिएको थियो । अहिले चौतारा अस्पताल राजधानीको अस्पतालको झल्को दिने खालको बनेको छ । विरामीले सबै सेवा एउटै भवनबाट लिन सकिने भएको छ ।
पहिलाको तुलनामा सेवा लिनेहरु वृद्धि भएको र तथ्यांक हेर्दा महिनामा ३ हजारले ओपीडी सेवा लिएका छन् । अस्पताल ब्यवस्थित भवनमा सारे संगै गुणस्तरीय सेवा दिन काम भइरहेको डाक्टर भण्डारीले बताए ।स्थानियले स्वास्थ्य उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्