२०८१ मंसिर ७
                           

जुगल ७ पेप्टाका आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

२० असोज, सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका वडा नं ७ पेप्टामा घरेलु उद्योगका रुपमा सञ्चालित गलैंचा कारखानामा आगलागी हुँदा सर्वस्व गुमाएको एक परिवारलाई नेकपा माओवादी केन्द्रले दुई लाख बढी आर्थिक सहयोग गरेको छ ।

माओवादी केन्द्र जुगल गाउँपालिका पार्टि समितिको समन्वयमा संकलित २ लाख ५ हजार ५० रुपैंया आइतबार माओवादीका केन्द्रिय सदस्य एवं क्षेत्र नं १ बाट संघीय सांसद माधव सापकोटालगायतका नेताहरुले आगलागी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

स्थानीय जयलाल तामाङ, मैना तामाङले सञ्चालन गरेको गलैंचा उद्योगमा असोज ११ गते राती विद्युत सर्ट भएर आगलागी हुँदा घर, २५ जोडि तयारी अवस्थाको गलैंचा, गलैंचा बुन्न प्रयोग गरिने कच्चा पदार्थ, किराना पसलका सामग्री, भाँडाकुँडा, गरगहना र नगद समेत ४७ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय जलविरेले तयार गरेको मुजुल्कामा उल्लेख छ ।

ठूलो आर्थिक र भौतिक क्षति भएपनि मानवीय क्षति हुनबाट भने जोखिएको प्रहरीको भनाई छ ।
२०७२ सालको भूकम्पछि गाउँमा ३५ जनालाई रोजगारी दिनेगरी घर घरमै तान दिएर गलैंचा बुन्न दिने र सो गलैंचाल संकलन गरेर बजारमा पुर्याउने काम गरिररहेका तामाङ दम्पतीले घटनास्थलमै उपस्थित भएर माओवादीले सहयोग रकम दिएपछि आफूहरुलाई बाँच्ने र फेरि काम गर्ने हौसला पलाएका बताए ।

पीडित मैना तामाङले भक्कानिँदै घर र भएका सबै सामान जलेपछि पीडाले मन पनि जलेर सम्हालीन मुस्किल भएको सुनाइन् । उनले भनिन् ‘सर्बस्व गुम्यो, केही रहेन भन्ने लागेको थियो, तीन दिन त होस नै हराएछ, तपाईँहरुले सहयोग दिएर बाँच्ने आस जगाइदिनु भयो ।’ सहयोग पाएपछि आफ्ना लागि कोहि रहेछन् भन्ने लागेको र परिवार सम्हाल्न हौसला मिलेको उनको भनाई थियो ।

सहयोग रकम हस्तान्तरण गरेपछि माओवादी सांसद सापकोटा, बागमती प्रदेश सभा सदस्य एवं बागमती पार्टी अध्यक्ष सरल सहयात्री पौडेल, केन्द्रिय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभा, नेकपा माओवादी केन्द्रको सिन्धुपाल्चोक १ नम्बर क्षेत्रका ईन्चार्ज टोपनाथ सापकोटा, जुगल गाउँपालिक अध्यक्ष रेशम स्याङ्बो, माओवादी जुगल ईन्चार्ज जङ्ग तामाङ, अध्यक्ष इश्वर गुभाजू लगायतले पार्टीले थप सहयोगका लागि प्रयन्त जारी राख्ने जानकारी दिँदै हिम्मत नहार्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्