– सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ ।
अदालतले यसअघि दिएको ६ दिनको म्याद आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीलाई समेत आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
रविको पक्राउ र म्याद थपको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरिरहेको छ ।सूर्यदर्शन सहकारीका पीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले ठाउँठाउँमा प्रदर्शन गर्दै आएका छन् । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्वार शहीद चोक र आसपासका क्षेत्रमा निषेधाज्ञाका कारण नागरिकसँगै पर्यटक पनि प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्