कार्तिक ८ – पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । स्व. पद्मरत्न तुलाधरले देश, जनता, लोकतन्त्र, मानव अधिकार, शान्ति निर्माण, भाषा, साहित्य, तथा नेपाल संवतको आधिकारिक मान्यता एवं विविध विधा र विषयहरुमा पुर्याउनु भएको योगदानलाई कदर एवं सम्मान गर्न उहाँको सहकर्मी पूर्व सभामुख तथा शान्तिवार्ताका सह-संयोजक श्री दमन नाथ ढुंगानाको अध्यक्षतामा गठित पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभा सम्पन्न भयो ।
आजैको मिति देखि लागू हुने गरि अध्यक्ष ढुंगानाले स्वास्थ्यको कारण दिनु भएको राजिनामा तथा कोषाध्यक्ष सुम्निमा तुलाधरले नयाँ जिम्मेवारीको कारण कोषाध्यक्ष पदबाट दिनु भएको राजीनामा पनि स्वीकृत गर्यो । सोहि समारोहमा प्रतिस्थानको अध्यक्ष श्री दमन नाथ ढुंगानाद्वारा प्रस्तावित तथा कार्य समितिबाट स्वीकृत श्री गौरी प्रधानलाई अध्यक्ष बनाउने निर्णयलाई अनुमोदन गर्दै सर्वसम्मतिबाट अध्यक्ष निर्वाचित गरेको छ ।
साथै कोषाध्यक्षमा श्री सुनिता ताम्राकारलाई सर्वसम्मतिले निर्वाचित गरेको छ । उक्त अवसरमा संस्थाको प्रगति प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गर्नाको साथै सो सभाले अध्यक्ष श्री दमन नाथ ढुंगानालाई प्रतिष्ठानको संरक्षक बनाउने प्रस्तावलाई हार्दिकताको साथ अनुमोदन गरेको छ ।
सो अवसरमा संस्थाका सदस्यहरु क्रमश: श्री राजेन्द्र श्रेष्ठ न्हु दँ ११४५ आयोजक समितिको अध्यक्षमा, श्री स्टेला तामाङ सत्य निरोपण आयोगको मनोनयन समितिमा र श्री सुम्निमा तुलाधर डेनमार्कको निम्ति नेपालको राजदूतमा सिफारिश हुनु भएकोमा सभाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
सो सभाको अध्यक्षता उपाध्यक्ष श्री चुण्डा बज्राचार्यले गर्नु भएको थियो भने महासचिव श्री परशुराम तामाङ , सदस्य श्री राजेन्द्र श्रेष्ठ तथा सदस्य मा. सुरेश आले मगरले सम्बोधन गर्दै स्व. पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्नाको साथै उहाँले पूरा गर्न नसकेका बाँकी कार्यभारहरुलाई पूरा गर्न सबै सदस्यहरु तथा जागरुक नागरिकको जिम्मेवारी हुने बताए ।
प्रतिक्रिया दिनुहोस्