नेकपा माओवादी केन्द्र चौतारा साँगाचोक गढी नगरपालिका ७ नं वडा समितिले शनिबार बिसौनी डाँडा सानोसिरुवारीमा चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोक गढी नगरपालिकाको मेयर कृष्ण प्रसाद सापकोटा ̒देशबन्धु ले शुभ दिपावली, नेपाल संवाद ११४५ तथा छट पर्वको शुभकामना ब्यक्त गरेका छन् ।
साँस्कृतिक पर्वहरूको अवसरमा राजनितिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमले सामाजिक सद्भाव, आपसी एकता, मित्रता र भातृत्वका सम्बन्धहरु विकास गर्ने पूर्व भौतिक पूर्वाधारमन्त्री एवं प्रदेश सांसद युवराज दुलाल शरदले बताए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री दुलालले भने, सधै राजनितिक प्रतिस्पर्धाले मात्र देश विकास हुदैन, समाजको विकास हुदैन, सामाजिक एकता कायम हुदैन । जुनसुकै पार्टीले आयोजना गरे पनि यस्ता कार्यक्रमहरुमा हामी सबै पार्टीमा आस्था राख्ने व्यक्तिहरु एकै ठाउँमा बसेर भलाकुसारी चिया गफ गर्न सक्छौ र समाजको लागि राष्ट्रको लागि के गर्न सकिन्छ सोचाइ राख्न सक्छौ । पूर्वमन्त्री दुलालले चाडपर्वहरूको सिजन भएको बताउदै नेपालमा हुने चाडपर्वहरूले सबै जाति भाषा, धर्म र समुदायलाई एकै ठाउँमा ल्याएको र सबै राजनितिक पार्टीहरुलाई एकै ठाउँमा बसेर छलफल गर्ने वातावरण सिर्जना गरेको बताए । उनले सुख, शान्ति, समृद्धिको कामना गर्दै तिहार, नेपाल संवत र छट पर्वको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द पराजुलीले शुभकामना ब्यक्त गर्दै पालिका, वडा सरकार र सबैले समाजमा भएका विकृति, विसंगति हटाउँदै समाजको समृद्धि र विकास कसरी गर्न सकिन्छ भन्ने ध्येयका साथ आफ्ना गतिविधि अगाडी बढाउन आग्रह गरे ।
यसैगरी कार्यक्रममा शुभकामना सन्देश ब्यक्त गर्दै वडा नं ७ का वडाध्यक्ष डम्बर तामाङले आफु कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि भएपनि मेयर र पूर्वमन्त्रीबाट वडाका विकासका लागि सधै सकारात्मक साथ सहयोग पाइरहेको बताए ।
वडा समिति अध्यक्ष कृष्ण प्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नगर अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, राप्रपाका हरी नेपाल लगायत स्थानीयहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्