२०८१ मंसिर ६
                           

सूचना तथा प्रसारण विभागको शिविरमा सिन्धुपाल्चोकको सञ्चारकर्मीहरुले लिए सेवा

चौतारा । सिन्धुपाल्चोक जिल्लाको नयाँ तथा पुराना २८ जना सञ्चारकर्मीहरुले क्षमता अभिवृद्धि तालिम लिएका छन् । उनिहरुलाई चौतारा साँगाचोक गढी नगरपालिकाको मेयर कृष्ण प्रसाद सापकोटाले बुधबार प्रमाण पत्र प्रदान गरे । पत्रकार महासंघको हल चौतारामा भएको सो तालिम नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले दिएको हो ।

सिन्धुपाल्चोकमै आइपुगेर दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्यम सम्बन्धी घुम्ती शिविर मार्फत विभागले सेवा दिएको हो । तालीमका प्रशिक्षक डा. विजय कुमार मिश्रले प्रशिक्षार्थीको आवश्यकता तथा माग अनुसार अन्तरवार्ता, फिचर लेखन लगायतका विषयमा केन्द्रित भइ सोमबारदेखि ३ दिन तालिम दिएका थिए ।

समापन कार्यक्रमका पुगेका मेयर सापकोटाले सहभागीलाई क्षमता अभिवृद्धि तालिमले पत्रकारिता गर्न टेवा पुगेको आशा ब्यक्त गर्दै शुभकामना दिए । यसैगरी प्रमुख जिल्ला अधिकारी किरण थापाले पत्रकारले पक्ष विपक्ष दुवैको कुरा समेटेर लेख्नुपर्ने बताए । थापाले पत्रकारिता पेसा थुप्रै सम्भावना भएको पेशा भएको बताउदै प्रशिक्षार्थीहरूलाई शुभकामना ब्यक्त गरे ।

सो कार्यक्रम मार्फत पत्रकारलाई टेवा पुग्ने र स्थानिय सरकारको कमिकमजोरी, राम्रा कामलाई लेखन मार्फत बाहिर ल्याउन सकिने भन्दै नगरपालिकाले त्यस्तो कार्यक्रम ल्याउन पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जिवन श्रेष्ठले मेयर सापकोटालाई ध्यानाकर्षण गराए । अध्यक्ष श्रेष्ठले सरकार छ भन्ने अनुभुति गराएको भन्दै प्रभावकारी कार्य गरेको भन्दै सुचना तथा प्रशारण विभागको प्रशंसा समेत गरे ।

सो शिविरमा नयाँ १५ र नविकरण ५ गरी २० सञ्चारकर्मीहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र दिइएको छ । भने ३ अनलाईन सञ्चार माध्यमको नविकरण गरिएको सूचना विभागका अधिकृत सुमन रौनियारले बताए ।

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्यम सम्बन्धी घुम्ती शिविर राखेर त्याहाँ कार्यरत पत्रकार तथा सञ्चार माध्यामहरुलाई सेवा दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्