२०८१ मंसिर २७
                           

 मातृभूमिको विकासमा आचार्य बालकृष्णकाे कृष्ण-दृष्टि

मथुराको कारागारमा जन्मिएका कृष्ण जन्मने बित्तिकै निर्वासित हुनुपर्यो । उनको निर्वासित बाल्यकाल गोकुलमै बित्यो । गोकुलमै हुर्के, बढेका उनले त्यहाँ सबैको माया पाए । यता जन्मभूमिको पुकार थियो- कंशको आतंकबाट मथुरालाई मुत्ति दिलाउनु । आनन्दित जीवन र कर्म दिने बाबुआमाकाे साथ त्यागेर उनी जन्मभूमी मथुरा फर्किए । कशंको समुल विनास गरेर जन्मभूमी प्रतिको आफ्नो कर्तव्य पूरा गरे ।

त्यसपछि वैदिक परम्परा अनुसार उज्जैनस्थित महर्षि सान्दिपनि गुरुको सानिध्यमा रहेर आफ्नो शिक्षादीक्षा पूरा गरे ।

कंशको मृत्युपछि पनि मथुराको संकट टरेन । कंशनिकट दैत्य जरासन्धले एक्काइस पटकसम्म आफ्ना सेनाको दलबल सहित आक्रमण गर्यो । हरेक पटक उनले कुनै न कुनै तवरले आफ्नो भूमिको रक्षा गरिरहे । अन्ततः जनताको रक्षाका निमित्त उनले पश्चिम भारतमा द्वारका नगरी बसाए । द्वारकामा रहे पनि उनले मथुराको रक्षाका लागि आवश्यक कुटनीतिक र रणनीतिक प्रयासहरु जारी राखे । यो कथा द्वापर युगको हो ।

लुम्बिनी नेपालमा जन्मिएका गौतम बुद्धको प्रयासले विश्वलाइ उज्यालो देखाएको छ । ज्ञान, करूणा, शान्ति र मानवता उनका सबैभन्दा बलिया हतियार थिए, जसकाे माध्यमले जस्तोसुकै युद्ध पनि सजिलै जित्न सकिने उदाहरण स्थापित गरिदिए ।

उनी देशको नक्साभन्दा धेरै परसम्म फैलिए । आजसम्म पनि उनको प्रतापले देशलाई भलो गरेको छ । जबजब कपिलवस्तु संकटमा पर्थ्याे तबतब उनी रक्षा कवच बनेर उभिन्थे । आजभन्दा २५ सय वर्षअघि जन्मिएका बुद्धको कथा धेरै पुरानो होइन ।

भारत भूमिमा जन्मिएका शङ्कराचार्यले नेपालको पशुपतिनाथ मन्दिरको महत्वलाई व्यापक बनाउँदै यस स्थानलाई धार्मिक र आध्यात्मिक केन्द्रका रूपमा अघि बढाए । सनातन संस्कृतिको नाममा हुने बलि लगायतका हिंसात्मक कृयाकलापहरूकाे घोर विरोध गर्दै, शास्त्रार्थद्वारा अनेकन भ्रमको निवारण गरे । यो आठौँ शताब्दीको कुरा हो ।

यस्ता उदाहरण कति छन् कति । काेहीले स्वदेशमा रहेर त काेहीले विदेशमा बसेर पनि संकटमा पुरूषार्थ प्रस्तुत गरेका छ्न् ।

संकटका बखत, भयानक विपत्ति छाउँदा यस्तै महापुरुषहरुको पुरुषार्थले नै देशको सङ्कटमोचन गरेको छ । संकटमा सबै डराउँछन् र मैदान छाड्छन् । यसैबखत् महापुरुषहरु डगमगाउँदैनन् र पुज्य बन्छन् ।

यस्तै परिस्थितिमा आफूलाई प्रमाणित गर्ने यी कर्मयोगीहरुको कर्म आज पनि धेरैका लागि मार्गदर्शन बनेको छ । तिनै कर्मकाे फल आजसम्म यो लोकले उपभाेग गरिरहेकाे छ ।

तथापि २१ औं शताब्दि भनिएको आजको यो समयले हामीलाई फरक चुनौतिहरु पेश गरेको छ । हामी त्यसका लागि तयार हुनु परेकाे छ । आफूलाई पुग्दो उत्पादन गर्न नसक्नु, आयात बढ्नु र युवाहरु देशमा बस्ने वातावरण बन्न नसक्नु लगायतका कारणले  देश बृद्धआश्रम बन्ने हो कि भन्ने खतरा देखिन्छ ।

यता हाम्रो देश अनेकाैं समस्याहरुले घेरिरहँदा उता विकसित राष्ट्रहरु भने शक्तिको होडमा छन् । यो होडले हाम्राे आत्मरक्षामा चुनौती थपेको छ ।

गलत उदेश्यबाट प्रेरित धर्मान्तरण हामीअघि उभिएको चुनाैतीकाे पहाड हो ।

आफूलाई बिर्सिएर हामी अरूका पछि लाग्याैं । अनि उतैकतै हराउन थाल्यौं । देश बाँझो भयो, गाउँ रित्तिदै गयो । जनता नरहे देश कहाँ रहला !

छिमेकमा दु:ख पर्दा अर्कातिर फर्कने हाम्रो परम्परा होइन । भौतिक सुखसुविधालाई पछ्याउँदै आफैंलाई भुल्ने हाम्रो शिक्षा होइन । बुढा बाबुआमालाई वृद्धाआश्रम पठाउने हाम्रो संस्कार होइन ।

कसैले हामीलाइ परबाट प्यान्डोरा बक्स देखायाे । चम्किलो देखियो, जिज्ञासाले  खोल्याैं, दुःखैदुःख  पो रहेछ  !

लामो समयसम्मकाे अभ्यासबाट प्रमाणित वैदिक परम्परालाई आत्मसाथ गरेको हाम्रो संस्कृतिले सद्भाव, सहअस्तित्व र विश्वबन्धुत्वमा विश्वास राख्छ । याे कुरा हामीले बुझ्नुपर्छ ।

अरुलाइ पछ्याएर मात्रै आफ्नो विकास नहुने निश्चित भएपछि आफैतिर फर्कनुको विकल्प छैन ।

यस्ताे चुनौतीपूर्ण समयमा हामी छुटेका कुरा खाेज्दैछाैं । यसका लागि हाम्राे टिमले यस्ता नेपाली खाेज्दैछाैं जाेसँग साच्चै आफ्नो जन्मभूमिका लागि परिणाममुखी काम गर्ने क्षमता र तत्परता दुवै छ । यस्ता मान्छे खोज्दा हामीले केही कर्मयोगीहरु भेट्यौं जसको आलोकले उनीहरु रहेकाे ठाउँमा उज्यालो छाएकाे छ । त्यही ज्ञानको दियो हाम्राे वरिपरि सल्काउन सके यसले हाम्रो देशकाे भविष्य पनि उज्यालो बनाउन सक्ने देखिन्छ । यिनै कर्मयाेगीहरू मध्येका एक हुन् आचार्य बालकृष्ण

आचार्य बालकृष्ण, जो नेपाली हुन् तर उनले भारतमा बसेर गरेकाे पुरूषार्थकाे सकारात्मक प्रभावबाट पूरा विश्वले लाभ प्राप्त गरिरहेकाे छ ।

उनका सफल प्रयाेगहरु हाम्रा कठिन परिस्थितिहरूमा मार्गदर्शन बन्नसक्छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा, उनले नयाँ मोडल पस्कँदै नेपाल विकासका लागि केही प्रयास गरिरहेको बताएका छन् । मातृभूमिप्रतिकाे कतर्व्य निभाउन प्रयासरत रहेकाे बताएका छन् । संमृद्ध नेपाल बनाउने याेजना अघि सारेका छन् । यो हाम्रालागि खुसीको कुरा हो ।

आचार्य वालकृष्ण एक अखण्ड ब्रम्हचारी हुन् । जसकाे कार्यकुशलताले भारतमा पहिलाे नम्बरमा रहेकाे पतञ्जलि आज विश्वमै उदाहरणीय बनेको छ । आफ्नै परम्परामा आधारित आर्थिक समृद्धिकाे यो नौलो प्रयोगले धेरैलाई जिल ख्वाएको छ । उनकाे यो मोडेल हाम्रा लागि माटो सुहाँउदो हुनसक्छ । यस विषयमा मिहिन बहस आवश्यक देखिन्छ ।

आफ्नाे जन्मभूमिकाे संमृद्ध नेपाल अभियानमा आफूले सक्ने साथ र सहयोग गर्न तयार भएको सन्देश दिंदै उनले नेपाली युवाहरुलाई यो अभियानमा जोडिन अपिल गरेका छन् । यो कुरा सबैलाई थाहा नहुन पनि सक्छ जो थाहा पाउन जरुरी छ । उनले नेपालको विकासमा केन्द्रित भएर संमृद्ध र स्वस्थ नेपाल, दिगो कृषि, इ गभर्नेन्स्, फ्लोरल डाइभर्सिटी लगायतका अनुसन्धानात्मक पुस्तकहरू तयार गरेका छन् । त्यसैगरी नेपाली भाषामा आफ्ना विचार बाढ्न युवा आह्वान, विचार क्रान्ति, वैदिक नित्यकर्म विधि लगायतका पुस्तकहरु पनि तयार गरेका छन् ।

हाम्रो स्वाभिमान नामको संगठन खडा गरेर प्रवासमा रहेका नेपालीहरुलाई एकजुट बनाई भाषा र संस्कृतिको संरक्षणमा थुप्रै कामहरु गरिरहेका छन् । उनका प्रवचन, अन्तर्वाता र भेटघाट लगायत विभिन्न स्रोतहरुलाइ आधार मान्दै आचार्य बालकृष्णको मनसायको निचोड यसरी प्रस्तुत गरिएकाे छ :

योग, अध्यात्म, आयुर्वेद, वैदिक दर्शन अनि अनमोल प्राकृतिक सम्पदाले सम्पन्न यो राष्ट्रलाई समृद्ध बनाउन अब बोल्ने भन्दा काम गर्नेहरुको खाँचो छ ।

समृद्ध नेपाल : अनुसन्धान, योजना र भविष्यको दृष्टिकोण

समृद्ध नेपाल हाम्रो साझा चाहना हो । यसका लागि इच्छाशक्ति मात्र पर्याप्त छैन; यसलाई व्यवहारमा उतार्न स्पष्ट उद्देश्य, सुदृढ संकल्प र व्यावहारिक योजना आवश्यक छ । योजना निर्माणका लागि वैज्ञानिक अनुसन्धान, नीति निर्माण र समुदायको सहभागिता अपरिहार्य छ । 

यस परिप्रेक्ष्यमा आचार्यजीले तयार गरेका विभिन्न क्षेत्रका अनुसन्धानले समृद्धिको दिशामा ठोस मार्गदर्शन प्रदान गर्छन् ।

आचार्यजीले समृद्ध नेपालका लागि तयार गरेका मुख्य रिसर्च पेपरहरु : 

क) नेपालमा दिगो कृषिकृषि क्रान्तिका लागि पहिलो कदम

नेपालमा दिगो कृषिमा आधारित अनुसन्धानात्मक पुस्तकले कृषि प्रणालीको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरूलाई समेटेको छ। यसले जलवायु परिवर्तन, स्रोतको अभाव र सामाजिक-आर्थिक चुनौतीहरूको समाधानका लागि दिगो अभ्यासहरूको महत्त्वलाई जोड दिएको छ । पुस्तकमा स्मार्ट कृषि, दिगो पशुपालन र जलवायु सहनशील अभ्यासहरू जस्ता नवीन समाधानहरू प्रस्तुत गर्दै नीति निर्माण, सामुदायिक सहभागिता र डिजिटल प्रविधिको भूमिकालाई समेत  स्पस्ट पारिएको छ ।

 

ख) नेपालका लागि ई- गभर्नेन्स् मोडेल 

नेपालका लागि ई- गभर्नेन्स् मोडेलका नामले तयार गरिएकाे अनुसन्धानात्मक पुस्तकले डिजिटल शासनमार्फत् नेपाललाई रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दछ । यसले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को उपयोग गरी कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा र पर्यटनजस्ता प्रमुख क्षेत्रमा सेवा प्रवाह, पारदर्शिता र नागरिक सहभागिता सुधारमा जोड दिएको छ । डिजिटल नेपाल फ्रेमवर्कई-गभर्मेन्ट मास्टर प्लानमार्फत् डिजिटल माेडलमा प्रवेश गरेपछिकाे नेपालको प्रगतिलाई उल्लेख गर्दै सीमित पूर्वाधार, डिजिटल साक्षरताको कमी र साइबर सुरक्षाजस्ता चुनौतीहरूलाई सम्बोधन गरिएको छ । यसले एकीकृत डिजिटल प्लेटफर्म, क्षमता अभिवृद्धि र नागरिकमुखी शासनद्वारा डिजिटल असमानता हटाई समावेशी र प्रभावकारी सेवाहरू सुनिश्चित गर्न प्रस्ताव गर्दछ ।

ग) नेपालका पुष्प तथा औषधीय सम्पदा : विविधता, चुनौती र संरक्षण

“नेपालको पुष्प र औषधीय सम्पदा: विविधता, चुनौती र संरक्षण” विषयकाे रिसर्चले नेपालकाे अद्वितीय वनस्पतिय तथा औषधीय विविधताको व्यापक अध्ययन प्रस्तुत गरेकाे छ । यसले हिमालय पर्वतदेखि तराईका मैदानसम्म नेपालको भौगोलिक र पारिस्थितिक समृद्धिको चर्चा गरेकाे छ । जसमा यहाँका दुर्लभ वनस्पति र औषधीय महत्वको चर्चा गरिएको छ । यसमा नेपालको सांस्कृतिक, पारिस्थितिक र आर्थिक महत्वलाई प्रस्ट्याउँदै संरक्षणको चुनौतीलाई पनि उजागर गरिएकाे छ । यो अनुसन्धान विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माता र नेपालको वनस्पतिक सम्पदा बुझ्न र सुरक्षित राख्न चाहने सबैका लागि महत्त्वपूर्ण स्रोत हो ।

यी अनुसन्धानात्मक पुस्तकहरू नेपालको दिगो विकासका लागि मूल्यवान् स्रोत हुन् । कृषि, डिजिटल शासन र जैविक विविधताको संरक्षणमा आधारित सुझावहरूले देशको समृद्धिको मार्गचित्र प्रस्तुत गर्छन् । नेपालको प्राकृतिक स्रोत र जनताको जीविकालाई दिगो विकासमा रूपान्तरण गर्न यी अनुसन्धान  मार्गदर्शक सिद्ध हुनेछन् ।

 

वैदिक जीवन पद्धति

वैदिक जीवन पद्धतिकाे आधार मनुस्मृति, भगवद्गीता, ऋग्वेद, यजुर्वेद, उपनिषद् र शिव पुराण जस्ता प्रमुख ग्रन्थहरू हुन् । यी शास्त्रहरूले वैदिक जीवन पद्धतिकाे महत्व स्पष्ट पारेका छन् । वैदिक जीवन पद्धतिको उद्देश्य आध्यात्मिक उन्नति र धर्मपालन गर्नका लागि व्यक्तिगत र सामाजिक जीवनलाई शुद्ध र समृद्ध बनाउनु हाे ।

१. वैदिक नित्यकर्म विधि

वैदिक जीवनशैलीका दैनिक क्रियाकलापहरूलाई नित्यकर्म भनिन्छ । यसले व्यक्ति र समाजलाई शुद्ध, अनुशासित र आध्यात्मिक उन्नतिका लागि प्रेरित गर्दछ।

  • बिहानकाे ४ बजे उठ्नु, प्राथर्ना गर्नु र आत्मचिन्तन गर्नु ।
  • ४ देखि ६ बजेसम्ममा शौचअादि कार्यहरूबाट निवृत भएर स्नान, ध्यान तथा भागवत प्रार्थना, उपासना तथा प्राणायाम अादि गर्नु ।
  • ६ देखि ७ बजेसम्ममा घरमा परिवार सहित सन्ध्योपासनादि पञ्चयज्ञअादि कार्य नियमित रूपले गर्नु पर्दछ।
  • ७ देखि १० बजेसम्ममा आवश्यक घरका कामहरु, भोजन आदि कार्य गर्नुपर्दछ ।
  • १० देखि ६ सम्ममा दैनिक जीविका वृत्ति ।
  • ६ देखि ८ सम्ममा  शौचादि कर्म, गृह कार्य, सन्ध्याकालिन पुजन गर्नु ।
  • ८ देखि ९ सम्ममा भोजन, धर्मवार्ता, विशेष घर सल्लाह, रात्रिका मन्त्र पाठ, आत्म-निरीक्षण र शयन ।
  • ९ देखि ४ सम्ममा शयन (निद्राकालागी हाथ, पाऊँ मुखादि चिसो पानीले धुनु पर्छ। निद्रा नआएसम्म ओम् काे जाप गर्नुपर्छ) ।

 

 क) योग : स्वयम् सुधारको विशेष अभियान 

“दियते ज्ञानसद्भाव: क्षीयते पशुवासना” अर्थात् पशु प्रवृत्तिलाइ दिव्य भावनामा बदल्ने मानसिक र शारीरिक उपचार योग हो ।

अष्टाङ्ग योग:

यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि- योगका आठ अङ्ग हुन्, जसलाइ अष्टाङ्ग योग भनिन्छ ।

याेगमा  कुनै पनि यस्तो कुरा बताइएको छैन कि जसलाई अपनाउन नसकियोस् ।

 

ख) पञ्चयज्ञ

देवयज्ञस्तथा पित्र्यं भूतयज्ञश्च मानुषः।

स्वाध्यायज्ञश्च पञ्चैते गृहमेधिनमागताः॥

गृहस्थले पालन गर्नुपर्ने पाँच यज्ञ (पञ्चयज्ञ) हरूमा :

  • देवयज्ञ – देवताहरूको पूजा, अर्चना
  • पितृयज्ञ – पितृहरूको श्रद्धा र तर्पण
  • भूतयज्ञ – पशुपंक्षी तथा सम्पूर्ण प्राणीहरूको रक्षा र सेवा
  • मनुष्य तथा अतिथी यज्ञ – मानवताको सेवा र समाजलाई सहयोग
  • ब्रम्ह यज्ञ – वेद, धर्मग्रन्थ अध्ययन तथा ज्ञानको साधना

यी पाँच यज्ञले मानिसलाइ आआफ्नो कर्तव्यप्रति सचेत बनाउँदै समाज, प्रकृति र आत्मकाे बीचमा सन्तुलन कायम गर्न सहयाेग पुर्याउँछ ।

 

 ग) १६ संस्कार 

वैदिक दर्शन अनुसार १६ संस्कारहरूले मानिसको जन्मदेखि मृत्युसम्मको जीवनचक्रलाई शुद्धिकरण, अनुशासन र आध्यात्मिक उद्देश्यका साथ पूरा गर्न मद्दत गर्छन् । वैदिक दर्शन अनुसार, १६ संस्कारहरूले मानिसको शरीर, मन र आत्मालाई आध्यात्मिक उद्देश्यमा जोड्छन्।

 

१६ संस्कारहरूको सूची

१. गर्भाधान संस्कार

बच्चा जन्माउनका लागि धार्मिक भावना र शुद्धताका साथ गर्भाधारण गर्ने विधि ।

२. पुंसवन संस्कार

गर्भधारणको तेस्रो वा चौथो महिनामा हुने गर्भ स्थिरताको प्रार्थना गर्ने विधि ।

३. सीमन्तोन्नयन संस्कार

गर्भवती महिलाको मानसिक शान्ति र स्वास्थ्यका लागि गरिने कर्म ।

४. जातकर्म संस्कार

शिशुको जन्म भएपछि गरिने शुद्धिकरण र स्वागत संस्कार।

५. नामाकरण संस्कार

बच्चाको जन्मपछि ११ औं दिनमा गरिने कार्य ।

६. निष्क्रमण संस्कार

शिशुलाई पहिलो पटक घर बाहिर सूर्यको प्रकाश देखाउने ।

७. अन्नप्राशन संस्कार

बच्चालाई पहिलो पटक अन्न (चामल वा अन्य खाना) खुवाउने ।

८. चूड़ाकर्म (मुंडन) संस्कार

शिशुको पहिलो पटक कपाल मुंडाउने र शुद्धिकरण गर्ने ।

९. कर्णवेध संस्कार

बच्चाको कान छेड्ने धार्मिक र स्वास्थ्य सम्बन्धी विधि ।

१०. विद्यारम्भ संस्कार

औपचारिक रूपमा शिक्षाको सुरुवात गर्ने संस्कार ।

११. उपनयन संस्कार (जनै लगाउने)

बालकलाई वेदआदि अध्ययनका लागि उपयुक्त मान्दै यज्ञोपवित (जनै) लगाइने संस्कार।

१२. वेदारम्भ संस्कार

वेद र अन्य शास्त्रको अध्ययन सुरु गर्ने ।

१३. समावर्तन संस्कार

अध्ययन समाप्त भएपछि गुरुकुलबाट घर फर्कने (गृहस्थ जीवनका लागि तयार हुने)।

१४. केशान्त संस्कार

अध्ययनपश्चात गरिने मुण्डन कार्य  ।

१५. विवाह संस्कार

वैवाहिक जीवनको आरम्भ गर्ने विधि ।

१६. अन्त्येष्टि संस्कार

मृत्युपश्चात् आत्माको शान्तिका लागि गरिने अन्तिम संस्कार

 

घ) आहार वैदिक जीवनशैलीमा मांसाअाहारलाई प्राथमिकता दिइंदैन र सात्त्विक भाेजनलाइ नै प्रोत्साहन गरिन्छ ।

वैदिक पद्तिमा आहारलाई मुख्यतः तीन भागमा विभाजन गरिएको छ:

सात्त्विक आहार : शुद्ध, पवित्र, र पोषणदायी ।

राजसिक आहार : तिक्त, अम्लीय, तीव्र वा उत्तेजक ।

तामसिक आहार : बासी, दुर्गन्धित वा अपवित्र ।

 

वैदिक पद्तिहरूले आहारलाई केवल भौतिक आवश्यकताका रूपमा मात्र होइन, धर्म, आस्था र आध्यात्मिक प्रगतिसँग पनि जोडेर हेर्छन् । शुद्ध, सात्त्विक र अहिंसात्मक आहारले शरीर र मनमा शुद्धता ल्याउँछ भन्ने शास्त्रिय मान्यता रहेकाे छ ।

   

    २. केही भ्रमहरुबाट मुक्ति

वैदिक जीवन पद्ति आफैंमा वैज्ञानिक हुँदाहुँदै पनि पुस्तान्तरण हुँदै जाँदा गलत सञ्चारले केही भ्रमहरू सिर्जना गरेका छन् । जसबाट मुक्ति पाउनु जरूरी छ ।

 

क) बली प्रथा

सनातन धर्ममा, बलि प्रथा, तामसिक अर्थात् आसुरी व्यक्तिहरूले चलाएको सती प्रथा वा छुवा-छूत प्रथा जस्तै एक कुरीति हाे । वैदिक सनातन धर्मले त “अहिंसा परमो धर्मं” भन्छ, यहाँ बलि (हत्या) त धेरै परको कुरा हो, मांस भक्षण नै महापाप मानिन्छ ।

भगवानकाे नाममा बलि (पशु हत्या) गर्नेलाइ शास्त्र ज्ञान नभएको अज्ञानी वा आसुरी तथा तामसिक तान्त्रिक वा भुत/प्रेत पुजारी हो भनिएकाे छ ।

मनुस्मृति  : 

“न मांसं भक्षयेद् विद्वान् सर्वं जीवं च वर्जयेत्।”

बुद्धिमान व्यक्तिले मासु खानु हुँदैन र सबै जीवलाई हानि पुर्‍याउनबाट जोगाउनुपर्छ।

 

महाभारतमा भनिएको छ– 

।। सुरा मत्स्याः पशोर्मांसं द्विजातिनां ।।

।। बलिस्तथाधूर्तः प्रवर्तितं चैतन्नैतद्वेदेषु कथ्यते ।।

अर्थात् मदिरा, माछामासु र द्विजको बलि जस्ता कार्यहरू धूर्त (फटाहा) हरूले आफ्नो स्वार्थ सिद्ध गर्न सुरू गरेका हुन् । वेदहरूमा यसको विधान छैन ।

 

ख) वर्णव्यवस्था र छुवाछुत 

वैदिक ग्रन्थहरूमा वर्णव्यवस्थाको आधार गुण र कर्मलाई मानिएको छ । तर समयक्रममा यसलाई जन्मका आधारमा विकृत गरियो । वर्णव्यवस्था समाजको कार्यक्षमता र सन्तुलन कायम गर्नका लागि एक प्रणाली थियो ।

आधुनिक सन्दर्भमा, यो प्रणालीलाई सबैलाई समान अवसर दिनुपर्छ भन्ने सन्देशका रूपमा लिनुपर्छ ।

 

मनुले जन्मना जायते शूद्र कर्मणा दि ज उच्यते भनेर बताएका छन्  ।

वर्णव्यवस्था सम्बन्धी श्लोक, स्रोत र व्याख्याः

 

१.

“चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।

तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम्।।”

स्रोत: श्रीमद्भगवद्गीता (४.१३)

 

अर्थ: भगवान श्रीकृष्ण भन्छन् कि चार वर्णको व्यवस्थाको सृष्टि मैले गरेको हुँ । यो विभाजन गुण (सत्त्व, रज, तम) र कर्म (कार्य वा जिम्मेवारी) का आधारमा गरिएको हो । तर मैले यो प्रणाली सिर्जना गरे पनि म यसबाट अप्रभावित छु।

 

वास्तविक व्याख्या: यो श्लोकले वर्णव्यवस्था जन्म आधारित नभई व्यक्तिको गुण (स्वभाव) र कर्म (कार्यक्षेत्र)मा आधारित हो ।

 

२.

“ब्राह्मणोऽस्य मुखमासीत् बाहू राजन्यः कृतः।

ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रो अजायत।।”

स्रोत: ऋग्वेद, मण्डल १०, सूक्त ९० (पुरुषसूक्त), श्लोक १२

 

अर्थ: मुख (ब्राह्मण): ज्ञान र शिक्षाको प्रतीक।

बाहु (क्षत्रिय): सुरक्षा र शासनको प्रतीक।

जाँघ (वैश्य): आर्थिक गतिविधि र व्यापारको प्रतीक।

चरण (शूद्र): समाजका सबै वर्गहरूको सेवा र आधारको प्रतीक।

यो विभाजनलाई गलत व्याख्या नगरेर शरिरको अङ्गको काम बताइएको छ ।

समग्रमा, आचार्य बालकृष्णले आफ्ना कार्य र अनुसन्धानमार्फत नेपाललाई समृद्ध बनाउने उद्देश्यलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन्। वैदिक परम्परा, योग, आयुर्वेद, प्रविधिको विवेकपूर्ण प्रयोग, कृषि, र प्राकृतिक सम्पदाको समुचित उपयोगलाई उनले समृद्ध नेपालको मुख्य आधारका रूपमा परिभाषित गरेका छन्।

 

कैलाश / टिम शिल्पशाला

 

 

प्रतिक्रिया दिनुहोस्