२०८१ माघ २३
                           

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा माओवादी दृढ छ – नेत्री भुषाल

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष एवं पूर्व मन्त्री पम्फा भुषालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा माओवादी दृढ रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका समितिको तेस्रो नगर सम्मेलन तथा खबरदारी सभालाई सम्बोधन गदै नेतृ भुषालले उक्त कुरा बताएकी हुन् । उनले वर्तमान सरकार संबिधान संसोधनको नाटक मच्चन गरेर भ्रष्टचारीहरुलाई बचाउ गर्न गठन भएको आरोप लगाएकी छिन् ।पूर्व मन्त्री भुषालले आगामी २०८४ सालमा ७ सय ५३ वटै स्थानीय तहहरुमा माओवादी पार्टी समाजबादी शासन व्यवस्थाको चित्र सहित प्रस्तुत हुने बताइन् । पछिल्लो समय एमाले काङ्ग्रेस गठबन्धन सरकारले शुशासनबिरोधी काम गर्दैै अलोकप्रिय बन्दै गएको आरोप लगाइन् ।

माओवादीका केन्द्रिय सदस्य एवं प्रभावशाली नेता माधव सापकोटा (सुबोध) ले चौतारा साँगाचोकगढी नगरपालिकाबाट १० बर्षिय जनयुद्धको क्रममा ८४ जना शहीद र २ जना बेपत्ता भएको बताए । उनले त्यतिमात्र होईन कयौंले जेलनेल, यातना भोगेको र कतिपयले अंगभंग भएर संङ्घर्षमय जीवनमा व्यतित गरिरहेको बताए ।
जनयुद्धमा सिन्धुपाल्चोकबाट भूमिगत हुनेहरुले १३ वटा जिल्लाको नेतृत्व सम्हालेको स्मरण गर्दै रौतहटमा कुबिण्डेको कुस्माखर शर्माले जिल्ला सेक्रेटरी चलायौं गर्दा सहादत प्राप्त गरेको क्षण सम्झिए ।सापकोटाले जनयुद्धको उद्गम स्थल चौतारा साँगाचोकगढी र त्यो भित्रको कुविण्डेको योगदानको चर्चा गरे । जनयुद्ध सुरुदेखि अन्त्यसम्म चौताराको भूमिकालाई कम आँक्न नहुने तर्क गरे ।

नेता सुबोधले त्याग तपस्या, आँसु रगत र पसिनाको त्रिवेणीबाट आएको पार्टीलाई कमजोर नठान्न अन्य पार्टीलाई चेतावनी दिए । बिरता इतिहासको जगमा उभिएको माओवादीलाई आम जनता र सचेत बर्गले सदैव साथ र समर्थन गरिरहने बिश्वास व्यक्त गरे ।त्यस्तै पार्टी केन्द्रिय सदस्य एवं पूर्व मन्त्री शालिन युवा नेता युवराज दुलाल शरदले सिन्धुपाल्चोकका आम जनताले माओवादीप्रति आसा, भरोसा र बिश्वास गरेका बताए ।

चौतारामा भएको खबरदारी सभाबाट उनले अहिलेको सरकार भ्रष्टाचारले चुर्लुम्म डुबेको आरोप लगाए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा कदम चलाएपछि भ्रष्टचारीहरुको राता रातको गठ जोड भएर वर्तमान सरकार गठन भएको बताए ।यता चौताराको जस्तो सुव्यवस्थित कार्य अरुले गर्न नसकेको भन्दै बिकास कसरी गर्नुपर्छ चौतारा र माओवादीका जनप्रतिनीधिहरुबाट सिकेर स्वस्थ रुपमा बिकास बाटै प्रतिस्पर्धा गर्न अरुलाई चुनौति दिए ।

पार्टी बागमती प्रदेश सदस्य एवं प्रदेश सांसद सरल सहयात्री पौडेलले राज्य एकीकरणमा २ व्यक्तिको भुमिकाको चर्चा गरे । प्रखर वक्ताको रुपमा कहलिएका युवा नेता पौडेलले भौगोलिक एकीकरण पृथ्वीनारायण शाह र सम्पूर्ण जाती, क्षेत्र, लिङ्ग, भाषा, धर्म र संस्कृतिको एकीकरण पुष्पकमल दाहाल प्रचण्डले गरेको भन्दै संविधानले व्यवस्था गरेको हक र अधिकारको बारेमा गहिरिएर अध्ययन गर्न सवैलाई आग्रह गरे ।

पौडेलले हिजो कस्तो अवस्था गुज्रिएका थियाैं र आज कुन अवस्थामा रहेका छौँ भन्ने बिषयमा फरक छुट्याउन समेत आग्रह गरे । यो अवस्थाको सिर्जना गर्न देशमा माओवादीको भूमिका उच्च रहेको भन्दै सच्चा देशभक्त र राष्ट्रप्रति माया हुनेहरु एक ठाउँमा उभिनु वर्तमान आवश्यकता भएको औल्याए ।

त्यसैगरि पार्टीका जिल्ला संयोजक गोबिन्द पराजुली (अभिनाश)ले देशलाई समृद्ध बनाउने पसना माओवादीमा मात्र भएको बताए । सुशासन र समृद्धिको पक्षमा भ्रष्टचार र बेथितिको बिरुद्ध खबरदारी गर्न यो खाले कार्यक्रम जिल्ला व्यापी रुपमा सञ्चालन भइरहेको जानकारी गराए । उनले पार्टीले अर्को खाले महा अभियानको सुरुवात गरेको समेत बताए ।

 

सभाकै बिच एमाले, काङ्ग्रेस र अन्य पार्टी परित्याग गरि दुई दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा प्रबेश गरेका थिए । नवप्रबेशीहरुलाई माओवादीका नेताहरुले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

सभामा माओवादीका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता, कार्यकर्ता र चौतारा नगर भरका सम्मेलन प्रतिनिधिहरु र सर्वसाधारणहरु गरि झण्डै २ हजार हाराहारीको सहभागिता थियो ।

साथमा बनदेबी माध्यमिक बिद्यालय र सिद्धि गणेश माध्यमिक विद्यालयको कलाकारहरुको राष्ट्र भक्ति गीतमा बेजोड नृत्य सहित भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।पार्टी नगर समितिका सचिव रोशन राज गिरीको सञ्चालन र अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नगर इन्चार्ज उजार सिं तामाङले सवैलाई शब्दबाट स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्