सिन्धुपाल्चोक – राष्ट्रिय महिला भलिबल टोलीकी निरुता ठगुन्ना र नेविका चौधरी रहेको एपिएफको जोडी राष्ट्रिय बिच भलिबलको क्वाटरफाइनलमा पुगेको छ। सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचमा बिहीवार निरुता र नेविकाको जोडीले बागमती प्रदेशका अनिता क्षेत्री र अनु तामाङको जोडीलाई २१-२,२१-२ ले हराउँदै अन्तिम आठमा पुगेको हो। निरुता र नेविकाको जोडी सेमिफाइनल प्रवेशका लागि गण्डकी प्रदेशका सोइङ थापा र प्रतीक्षा सेनठकुरीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ।
अर्को अन्तिम १६ को खेलमा सोइङ र प्रतीक्षाको जोडीले सुदूरपश्चिमका पूजा ठकुराठी र सानु थापाको जोडी २१-१८,२१-१० ले हराएको थियो। काभा बिच भलिबलको स्वर्ण पदक विजेता कमला पुन र मनिषा चौधरीको नेपाल पुलिस क्लबको जोडी, राष्ट्रिय टोलीका सदस्यद्वय पुलिसका पुनम चन्द र कामना विष्टको जोडी, एपिएफका रस्मिता दुरा र जस्ना महतोको जोडी, सुदूरपश्चिम प्रदेशका संगिता विष्ट र सरिता चन्दको जोडी,त्रिभुवन आर्मी क्लबका सुनिता राई र भावना डाँगीको जोडी तथा बागमतीको मिना जर्घामगर र सविना भुजेलको जोडी क्वाटरफाइनलमा पुगेको छ।
पुलिसका कमला र मनिषाको जोडीले एपिएफका गणिता चौधरी र पूर्णिमा चौधरीको जोडीलाई २१- ३, २१-४ ले पुलिसका पुनम र कामनाको जोडीले गण्डकीका काजल छन्त्याल र रेविका घर्तिमगरको जोडीलाई २१-१३,२१-१० ले तथा एपिएफका रस्मिता र जस्नाको जोडीले कर्णालीका रन्जना बुढा र रिमा गेलाङको जोडीलाई २१-१०,२१-१२ ले हराएको थियो।
त्यस्तै सुदूरपश्चिमका संगिता र सरिताको जोडीले कोशीको अन्जना लिम्बु र सुस्मिता लावतीको जोडीलाई २१-१३,२१-१७ ले, आर्मीका सुनिता र भावनाको जोडीले कोशीको रेजिना लिम्बु र कविता राईको जोडीलाई २१-१८,२१-४ ले तथा बागमतीको मिना र सविनाको जोडीले कर्णालीका सिता सिंह र पूर्णकला खत्रीको जोडीलाई २१-८,२१-१८ ले हराउँदै अन्तिम आठको यात्रा तय गरेको हो। क्वाटरफाइनलमा कमला र मनिषाको जोडीले सुनिता र भावनाको जोडीसँग, संगिता र सरिताको जोडीले रस्मिता र जस्नाको जोडी तथा पुनम र कामनाको जोडीले मिना र सविनाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनल र सेमिफाइनल शुक्रवार हुनेछ।
प्रतिक्रिया दिनुहोस्