२०८१ माघ २३
                           

सहकारी संस्थाको वार्षिक साधारणसभामा शेयर सदस्यको भूमिका

खेलनाथ सिग्देल – सहकारी संस्था भनेको समुदायमा रहेका समान उद्देश्य र लक्ष्य लिएका सदस्यहरूद्वारा साझा स्वामित्वमा सञ्चालन हुने एक प्रकारको सामाजिक र आर्थिक संस्था हो, जसको उद्देश्य सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र रूपान्तरण गर्नु हो । सहकारी संस्थामा सबै सदस्यहरूको बराबर हक, अधिकार र जिम्मेवारी हुन्छ । त्यसैले सदस्यले सहकारी संस्थामा नियमित सम्पर्कमा रहने, संस्थाका हरेक क्रियाकलाप र गतिविधिको सूक्ष्म विश्लेषण गर्नुका साथै वार्षिक साधारणसभामा सदस्यको सक्रिय सहभागितालाई महत्वपूर्ण मानिन्छ । साधारणसभामा शेयर सदस्यहरूको भूमिका विशेष महत्वपूर्ण हुन्छ । किनकि यस सभामा सहकारी संस्थाको विगतको समीक्षा, वर्तमान अवस्था र भावी योजना तथा कार्यदिशा, रणनीति र कार्यक्रमको बारेमा सामुहिक निर्णय गरिन्छ ।
१) सहभागिता सुनिश्चित गर्ने
सहकारीका प्रत्येक शेयर सदस्यहरुले संस्थाको वार्षिक साधारण सभामा आफ्नो उपस्थिति सुनिश्चित गर्दै साधारणसभाको महत्व र गरिमालाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । सक्रिय सहभागिताले सहकारी संस्थाको निर्णय प्रक्रियालाई थप मजबुत र समृद्ध बनाउँछ ।
२) साधारणसभाको महत्व
वार्षिक साधारणसभा प्रत्येक सहकारी संस्थाको निर्णय लिने उच्चतम थलो हो । यसले संस्था सञ्चालनको महत्वपूर्ण निर्णयहरू पारित गर्छ । यसले अघिल्लो वर्षको सञ्चालक समितिद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखापरीक्षकद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन, लेखासुपरीवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन लगायतका प्रस्तावहरूमा व्यापक छलफल गरी आवश्यक राय, सल्लाह, सुझाव सहित पारित गर्दछ । संस्था सञ्चालनमा आवश्यक नयाँ नीति तथा कार्यविधि बनाउने, नाफा, नोक्सानको विवरण पारित गर्ने र लाभांश वितरणको लागि प्रस्ताव अनुमोदन गर्नुका साथै भविष्यको लागि योजना निर्माण गर्ने, योजना लागू गर्न निर्देशन दिने जस्ता कार्यहरू साधारण सभाले नै गर्दछ । यी सबै कार्यहरु सम्पन्न गर्न शेयर सदस्यहरूको सहभागिता र सहमति बिना सम्भव नहुने भएकोले साधारण सभाको विशेष महत्व रहेको छ ।
३) निर्णय प्रक्रियामा सहभागिता
सहकारी संस्थाका शेयर सदस्यहरूको मुख्य भूमिका निर्णय प्रक्रियामा सहभागी हुनु हो । साधारणसभामा प्रस्तुत हुने प्रस्तावहरूको छलफलमा भाग लिने, मत दिने र सुझाव दिने जिम्मेवारी शेयर सदस्यहरूको हुन्छ । सहकारी संस्थामा एक सदस्य एक मतको सिद्धान्त लागू हुन्छ जसले गर्दा प्रत्येक शेयर सदस्यले संस्थाका निर्णयहरूमा सशक्त भूमिका खेल्न सक्छन् ।

४) सहकारी संस्थाको पारदर्शिता र जवाफदेहितामा सुनिश्चिता
साधारणसभा मार्फत शेयर सदस्यहरू संस्थाको पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्छन् । साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वित्तीय प्रतिवेदन तथा नीति तथा कार्यविधि र अन्य विविध विषयहरू प्रस्ताव गरिन्छ । शेयर सदस्यहरूले यिनको समीक्षामा सक्रिय सहभागिता जनाउनुपर्छ र कुनै पनि त्रुटी, कमजोरी वा अनियमितता भएमा त्यसलाई सुधार गर्न विधिसम्मत तरिकाबाट आवश्यक राय, सल्लाह, सुझाव र निर्देशन दिनुपर्दछ । यसले सहकारीमा स्वच्छता र जिम्मेवारीको वातावरण निर्माण गर्न मद्दत गर्दछ ।
५) नेतृत्व चयनमा भूमिका
सहकारी संस्थाको वार्षिक साधारणसभामा संस्थाको नेतृत्व चयन पनि एक महत्वपूर्ण प्रक्रिया हो । सहकारी ऐन २०७४ बमोजिम प्रत्येक ४ बर्षमा हुने निर्वाचन सहितको साधारणसभामा शेयर सदस्यहरूले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनमा सहभागी भएर योग्य, इमानदार र सक्षम व्यक्तिहरूलाई चयन गर्नुपर्छ । सही नेतृत्व चयनले सहकारीलाई दीर्घकालीन सफलतामा पु¥याउँछ । सदस्यहरूले केवल आफ्नो स्वार्थभन्दा पनि संस्थाको दीर्घकालीन हित र विकासलाई ध्यानमा राखेर मतदान वा नेतृत्व चयन प्रक्रियामा सहभागी हुनु पर्दछ ।
६) सल्लाह, सुझाव र नयाँ नीति निर्माण
शेयर सदस्यहरूले आफ्नो अनुभव, योग्यता र क्षमताको आधारमा सहकारीको विकासका लागि नयाँ नीति तथा कार्यक्रमहरूमा सल्लाह, सुझाव दिन सक्छन् । सहकारी संस्थामा सबैको समान स्वामित्व हुने भएकाले सदस्यहरूले संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राखेर आफ्ना अनुभव तथा विचार प्रस्तुत गर्नु पर्दछ ।
७) सहयोग र सहकार्यको भावनाको विकास
सहकारी भनेको सहयोग र सहकार्यको भावना विकास गर्ने थलो पनि हो । वार्षिक साधारणसभामा शेयर सदस्यहरूले सहकारीको सफलताका लागि आपसमा सहयोग, सद्भाव र सहकार्य गर्नुपर्छ । व्यक्तिगत मतभेद भन्दा माथि उठेर संस्थाको सामूहिक विकासका लागि क्रियाशील हुनुपर्ने हुन्छ जसले सहयोग र सहकार्यको भावना विकास हुन्छ ।
८) सकारात्मक वातावरण निर्माण
साधारणसभामा सहभागी हुँदा शेयर सदस्यहरूले सकारात्मक वातावरणको निर्माणमा ध्यान दिनुपर्छ । संस्थाका सञ्चालक समितिले प्रस्ताव गरेका प्रस्तावहरुमा आफ्नो असहमति वा फरक मत भए पनि त्यसलाई मर्यादित रूपमा शान्त र सभ्य रूपमा व्यक्त गर्नुपर्छ । यसले स्वस्थ संवादको संस्कृति विकसित गर्दछ, जसले सहकारीलाई अझ मजबुत तथा सकारात्मक वातावरण बनाउन मद्दत पुग्छ ।
९) आत्मसन्तुष्टि र अपनत्व
आफू सहभागी साधारणसभाले गरेका महत्वपूर्ण निर्णयहरूको प्रभावकारी कार्यन्वयनले संस्था र शेयर सदस्य दुवै तर्फ सकारात्मक प्रभाव पार्छ । निर्णयहरू सफलतापूर्वक कार्यान्वयन हुँदा संस्था र आफ्नो भूमिकाको योगदानप्रति गर्व महसुस हुन्छ । आफ्ना निर्णय र सुझावहरूले ठोस परिणाम ल्याएको देख्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ । जब सदस्यहरूले संस्थाको समृद्धिमा आफ्नो प्रत्यक्ष योगदान देख्छन् उनीहरूमा अपनत्वको भावना अझै मजबुत हुन्छ । यसले सहकारी संस्थाभित्र सामूहिक सोच, उत्तरदायित्व र सहभागिताको संस्कृति विकास गर्न मद्दत गर्छ जसले संस्थाको दीगो विकासलाई अझ बलियो बनाउँछ ।
अन्त्यमा, सहकारी संस्थाको वार्षिक साधारणसभामा शेयर सदस्यहरूको भूमिका सहभागिता जनाउने मात्रमा सीमित हुँदैन, उनीहरूले संस्थाको भविष्यको दिशानिर्देश गर्न, नेतृत्व चयन गर्न र संस्थालाई सुशासित र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ । साधारणसभामा गरिने महत्वपुर्ण निर्णयहरू सहकारी संस्थाको दीर्घकालीन सफलताको आधार हुन् र यसमा शेयर सदस्यहरूको सक्रियता, विवेकशीलता र सकारात्मक दृष्टिकोणले सहकारीको सुदृढीकरणमा ठूलो योगदान पु¥याउने भएकाले वार्षिक साधारण सभामा शेयर सदस्यको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको हुन्छ ।
काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन) को अर्धवार्षिक प्रकाशन “कास्कुन सन्देशˮमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्