अशोक पराजुली/चौतारा
माओवादी सत्ता विरुद्ध खवरदारी गर्दै,एमाले सत्ताको बचाउमा
शनिबार माओवादी केन्द्रको बाह्रबिसेमा तेस्रो नगर सम्मेलन तथा सरकार विरुद्ध खवरदारी सभा चलिरहँदा यता माओवादी केन्द्रको गढ मानिने कुविन्डेमा भने एमालेको वडा अधिबेशन चलिरहेको थियो ।
बाह्रबिसेमा आयोजित खवरदारी सभामा माओवादी केन्द्रका नेताहरूले अहिलेको बर्तमान सरकार भ्रष्टाचारले डुङ्डुङ्ती गन्हाएको र भ्रष्टहरुलाई जोगाउनकै निमित्त काङ्ग्रेस एमाले मिलेको बताए ।
सभाका प्रमुख अतिथि प्रतिनिधिसभाका पुर्व सभामुख एवं माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिलेको बर्तमान सरकारलाई एक मिनेट सरकारमा बस्ने नैतिक आधार नभएको बताए । उनले प्रचण्ड सरकारले विकास र सुशासनका पक्षमा काम गर्दा र भ्रष्टाचारीहरुको फाइल खोल्दा काङ्ग्रेस एमाले नै आत्तिएर अब प्रचण्डले हामीलाई सिध्याउँछ भनेर रातारात प्रचण्ड नेतृत्वको सरकार ढालेको बताए ।
सभामा बोल्ने सबैजसो नेताहरूले अहिलेको बर्तमान सरकारकाे बिरोध र नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतको कार्यशैलीको चर्को आलोचना गरेका थिए । प्रतिनिधिसभाका सदस्य समेत रहेका बस्नेतले केहि महिना अघि त्रिपुरासुन्दरीको दावीखोलामा निर्माणाधीन मोटरेवल पुल उद्घघाटन गर्ने क्रममा माओवादी नेता माधव सापकोटा सुबोध र अग्निप्रसाद सापकोटा विरुद्ध गालिगलौच गरेका थिए । माओवादी विरुद्ध निकै नै आक्रामक भएर भाषण गरेका बस्नेतले आफ्नो पदिय मर्यादा समेत भुलेको माओवादी नेताहरुको आरोप छ ।
बाह्रबिसे सभामा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य सोही क्षेत्रका संघिय सांसद माधव सापकोटा सुबोध,केन्द्रिय सदस्य एवं बागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलाल शरद,बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री लगायत नेताहरुले बोल्ने क्रममा माओवादी पार्टीले मात्रै विकास र सुशासनको नेतृत्व गर्न सक्ने र भ्रष्टहरुका फाइल खोलेर कार्बाही गर्न सक्छ भन्ने पुष्टि प्रचण्ड नेतृत्वको सरकारले गरेका विकास र सुशासनका पक्षमा गरेका काम र अहिलेको बर्तमान सरकारले भ्रष्ट जोगाउने र लुटतन्त्र मच्चाउने जस्ता कामले नै पुष्टि भएको बताए ।
यता कुबिन्डेको देउरालीमा नेकपा (एमाले) कुबिन्डेको दोस्रो वडा अधिबेशनलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज सरेश नेपालले माओवादी अब कतै पनि नरहेको र सिद्दिएको बताए ।
उनले माओवादी यही चौतारामा मात्रै केहि बाँकी रहेको बताउँदै अन्य पालिकामा एउटा वडा सदस्य समेत जित्न नसकेको जिकिर गरे । आफ्नो मन्तव्यको अधिकांश समय माओवादी विरुद्ध बोलेका नेता नेपालले माओवादीले सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाए । उनले माओवादीले खानेपानी,सिंचाइ र ब्यक्तिगत घर बाटोमा समेत बजेट हाल्दिन्छु भनेर काङ्ग्रेस एमालेका नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराएको दावी गरे ।
माओवादी विरुद्ध निकै आक्रामक भाषण गरेका नेता नेपालले माओवादीका नेताहरूले पुरानै शैलीमा अन्य पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने जस्ता कार्य गर्ने गरेको बताउँदै माओवादीमा पुरानै धङधङ्ती बाँकी रहेको भए पनि माओवादीका दार्ह्रा नङ्रा भाँचिएको र उहाँहरु सँग अब केहि पनि नभएको बताए ।
दुवै दललाई सम्मेलन/अधिबेशनको चटारो
जिल्ला स्तरको सांगठानिक संरचनालाई खासै महत्त्व नदिएको माओवादी केन्द्रले जिल्लाको पार्टी संरचनालाई जिल्ला समन्वय समितिको रुपमा मात्रै लिएको छ । वडा, पालिका, प्रदेश र केन्द्र लाई नै कार्यकारी समिति बताउँदै आएको माओवादी जिल्लाका एक सय तीन वटै वडाको सम्मेलन सम्पन्न भएको निष्कर्ष सहित पालिका सम्मेलनमा जुटेको छ । पौष २० मा हिमाली काखमा रहेको पाँचपोखरी थाङ्पाल गाउँपालिका समितिको दोस्रो पालिका सम्मेलन गर्दै मजबुत पार्टी संगठन निर्माणको अभियान थालेको माओवादीले पौष २५ मा सुनकोशी गाउँपालिका समितिको तेस्रो पालिका सम्मेलन, पौष २६ मा बलेफी गाउँपालिका समितिको तेस्रो पालिका सम्मेलन,पौष २७ मा चौतारा साँगाचोकगढी नगर समितिको तेस्रो नगर सम्मेलन सम्पन्न गर्यो । त्यस्तै पौष पौष २९ मा लिसङ्खु पाखर गाउँपालिकाको तेस्रो पालिका सम्मेलन गरेको माओवादीले शनिबार बाह्रबिसेमा तेस्रो नगर सम्मेलन सम्पन्न गर्यो ।
माओवादीले सम्पन्न भएका पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको छ । पाँचपोखरीमा दिल बहादुर वाइवा,सुनकोशीमा मिम बहादुर योन्जन,बलेफीमा कालीप्रसाद लामा,चौतारामा श्यामकृष्ण श्रेष्ठ,लिसङ्खुमा होमलाल श्रेष्ठ,बाह्रबिसेमा इन्द्रजित तिमल्सिनाको नेतृत्वमा समिति चयन गरेको छ । बलेफी र चौतारामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरेको माओवादीले अन्य पालिकामा भने सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार आइतबार सम्म ६ वटा पालिकाको सम्मेलन सम्पन्न भएको र माघको अन्तिम सम्म बाँकी ६ वटा पालिकाको सम्मेलन गरि जिल्लाका १२ वटै पालिकाको सम्मेलन सम्पन्न हुनेछन् । पार्टीको पालिका सम्मेलन सम्पन्न भए पश्चात माओवादी पार्टीको जनबर्गिय संगठनहरुको सम्मेलनमा जुट्ने संयोजक पराजुलीले बताए ।
अर्को वाम दल नेकपा (एमाले) ले गत चैत्र १६ देखि १८ सम्म चौतारामा १० औं जिल्ला अधिबेशन गरेको थियो । निर्वाचन प्रक्रिया मार्फत मतदानबाट जिल्ला समिति चयन गरेको एमालेको अधिबेशन सम्पन्न भएको लामो समय सम्म जिल्ला समितिको बैठक बस्न सकिरहेको थिएन । हालै बसेको जिल्ला कमिटीको निर्णय अनुसार अहिले एमालेको वडा र पालिका अधिबेशन धमाधम चलिरहेको छ ।
जिल्लाका एक सय तीन वडा मध्ये छयासी वडाको अधिबेशन सम्पन्न भएको र बाँकी १७ वडाको अधिबेशनको मिति पनि तय भैसकेको जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार सुनकोशी गाउँपालिकाको दोस्रो अधिबेशन गरेर पालिका अधिबेशनको सुरु गरेको एमालेले आइतबार सम्म ७ वटा पालिकाको अधिबेशन सम्पन्न गरेको छ । अधिबेशन सम्पन्न भएका अन्य पालिकाहरुमा बलेफी,त्रिपुरासुन्दरी,लिसङ्खु पाखर,इन्द्रावती,मेलम्ची र पाँचपोखरी थाङ्पाल रहेका छन् ।
जिल्ला अध्यक्ष श्रेष्ठले आइतबारसम्म सम्पन्न भएका वडा अधिबेशनको उपस्थिति अनुसार करिब एक्काईस हजार कार्यकर्ताका बिच पार्टी नेतृत्व पुगेको बताए । एमालेको पनि यही माघको अन्तिम सम्म वडा तथा पालिका अधिबेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्