२०८१ माघ ८
                           

प्रयास महिला सहकारीको नमूना प्रयास

अशोक पराजुली/साँगाचाेक
१३ बर्ष अगाडि महिलाहरुकै प्रयासमा साँगाचाेकमा स्थापना भएको प्रयास महिला बचत तथा ऋण सहकारी संस्थाको तेर्हौ साधारणसभा तथा चौधौं बार्षिक उत्सव सम्पन्न भएको छ ।

आज चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ साँगाचाेकमा सहकारी संस्थाका अध्यक्ष धामो तामाङको अध्यक्षता तथा बागमती प्रदेशका पुर्व मन्त्री एवं प्रदेश सांसद युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा साधारणसभा गरिएको हो ।

साधारणसभा उद्घाटन गर्दै प्रदेश सांसद दुलालले सहकारीले न्यून आय भएका जनताको जीवनस्तरलाई उकास्नको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र सहकारीले सबैलाई समान रुपमा समान अवसर प्रदान गर्ने भन्दै सहकारीले सोही अनुसारको कार्य अघि बढाउनुपर्ने बताउनुभयो ।

सांसद दुलालले सहकारी अभियान समाजबादको एक आधारशिला भएको र सहकारीले नै ग्रामीण महिलाहरुलाई उद्यमी बन्नको निमित्त उत्प्रेरित गर्नुपर्ने र महिलाहरुको आर्थिक पक्ष बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । ९ सय ९२ जना सेयर सदस्य रहेको सहकारी संस्थामा शेयर रकम २७ लाख २४ हजार सात सय, बचत संकलन २ करोड ३१ लाख आठ सय पन्चानब्बे ७८ हजार लगानी गरेको संस्थाका कोषाध्यक्ष नानीमाया रानाले जानकारी दिनुभयो । सहकारीको सबै प्रकारका बचतबाट हुन आएको निक्षेप हिसाब १ करोड ८५ लाख २० हजार चार सय बत्तीस रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

एमडिएम फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चद्वारा सञ्चालन गरेको प्रजनन स्वास्थ्य तथा लघुवित्त एकीकृत परियोजनाको सञ्चालनसँगै निर्माण भएको प्रजनन उमेर समुहका महिलाहरूको समूह समूहबाट यो सहकारीको स्थापना भएको संस्थाकी संस्थापक अध्यक्ष शारदा अर्यालले जानकारी दिनुभयो ।

साधारणसभाको अवसरमा संस्थाको भवन निर्माण तथा संस्थागत विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउनु भएकोले बागमती प्रदेशका पुर्व मन्त्री एवं प्रदेश सांसद युवराज दुलाललाई बिशेष सम्मान गरिएको थियो भने संस्थाको पुर्व ब्यबस्थापक राधिका रायमाझीलाई समेत सम्मान गरि कदर पत्र प्रदान गरिएको थियो ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं राष्ट्रिय भुमि आयोग सिन्धुपाल्चोकका पुर्व अध्यक्ष झम्क पराजुली,माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य एवं नगर कार्यपालिका सदस्य गणेश वि.क.,चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष दीपेन्द्रप्रसाद नेपाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष धामो तामाङले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष मनमाया नेपालले राख्नुभएको थियो । संस्थाकी सचिव अश्मिता वि.क.ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्