२०८१ माघ २०
                           

प्रेमिका भेट्न गएका दिनेशको हत्या भएको आशंका

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएको आशंका गरिएको छ । सिन्धुपाल्चोक प्रहरी प्रवक्ता उमाशंकरप्रसाद यादवले तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने बताएका छन् ।

आफूहरुले दिनेशलाई घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटेको र बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको उनले रातोपाटीलाई बताए । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको उनको भनाइ छ । भोटेकोशी–१ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।

मृतकको साथमा गएका १७ वर्षीय सुरेश विकका अनुसार स्थानीयले भीरबाट लडेको बताए पनि लडेको जस्तो देखिने कुनै चोट निसान नभएको र १०० मिटर माथिबाट खस्दा पनि अंगभंग नहुनु वा ठूलो चोट नलाग्नु शंकास्पद भएको बताएका छन् । एक डेढ घण्टापछि भ्युटावरबाट साथीलाई खोज्दै जाँदा घटनास्थलमा प्रहरी आइपुगिसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्