सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ७ सानोसिरुवारी स्थित श्री शिद्धिगणेश माध्यामिक विद्यालयको ६३ औँ वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिवार विद्यालय परिसरमा आयोजित एक भव्य कार्यक्रमका बिच विद्यालयले स्थापना दिवस मनाएको हो ।
यस विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रविन गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सासंद युवराज दुलाल प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सासंद दुलालले विद्यालयले शिक्षाको क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा विद्यालयको अझै बढी प्रगतिका लागि शुभकामना दिए । उनले देशबाट विद्यार्थी बाहिरिएको, युवा पलायन भईरहेकोमा चिन्ता ब्यक्त गर्दै विश्वका मानिसलाई नेपाल ल्याउन सकिन्छ भन्ने चेतनाको विकास हुनुपर्नेमा जोड दिए। उनले बालबालिकाले शिक्षा कुन विद्यालयमा लिएको भन्दापनि के पढ्यो भन्ने महत्वपुर्ण रहेको भन्दै सामाजिक र राष्ट्रिय जीवनमा गरेको योगदान महत्वपुर्ण रहने बताए ।
वार्षिकोत्सव, अभिभावक भेला तथा पूर्व विद्यार्थी पुनर्मिलन समारोहको अवसरमा विद्यालयले ब्यवसाय, कलाकारिता र सरकारी सेवाको उच्च तहमा सेवा गरिरहेका ४ जना पुर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ब्यवसायी कृष्ण धिताल, मुक्तिनाथ पराजुली , कलाकार कृष्ण प्रसाद धिताल, कृषि बैंकका अधिकृत श्याम कृष्ण नेपाल रहेका छन् ।
सोहि अवसरमा एसएलसी ब्याज २०६२ ले प्रदान गरेको डिजिटल एलइडी बोर्डको उद्घाटन समेत गरियो । यसैगरी सिद्धि गणेश सामुदायिक वन र भदौरे गणेश सामाजिक संस्थाले विद्यालयलाई एक वर्षको सरसफाई सामाग्री हस्तान्तरण गरेको सिद्धि गणेश सामुदायिक वनका अध्यक्ष विजय नेपालले बताए ।
थापा बुक्स चौताराका प्रोपाईटर कुमार थापाले विद्यालयको लागी स्पिकर हस्तान्तरण गरे । सोहि अवसरमा ब्यवसायी भुपेन्द्र थापा र कृष्ण धितालले अक्षयकोष स्थापनाको घोषणा गरेका विद्यालयका प्रध्यानाध्यापक राजकुमार यादवले बताए । विद्यालयले तारा वहादुर श्रेष्ठ,विष्णु माया तिमल्सिना र प्रताप नेपाललाई उत्कृष्ट वर्ष शिक्षक घोषित गर्दै सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्