सिन्धुपाल्चोक । नेपाल-चीन व्यापारिक तातोपानी नाकानजिक रहेको लिपिङ खोलामा नेपाली सेनाको बृजिङ युनिटले आजदेखि बेलिबृज जडान कार्य सुरु गरेको छ। गत असोज १२ गतेको बाढीले सो स्थानमा रहेको पक्की मोटरेबल पुल बगाएपछि अस्थायी पुल निर्माणको प्रक्रिया अघि बढाइएको हो।
सो कार्यको निरीक्षण गर्दै प्रतिनिधिसभा सदस्य माधव सापकोटा “सुबोध”ले पुल जडान कार्यका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। नेपाली सेनाले आगामी पाँच दिनभित्र बेलिबृज जडान कार्य सम्पन्न हुने जानकारी दिएको छ।
तातोपानी नाका नेपालको प्रमुख व्यापारिक मार्गहरूमध्ये एक हो । पुल पुनर्निर्माणले चीनसँगको आयात-निर्यात सुचारु गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । हाल नाका अस्थायी रुपमा बन्द छ ।
प्रतिक्रिया दिनुहोस्