जीवन श्रेष्ठ -ज्येष्ठ नागरिक जिउँदा इतिहास हुन् । जसको अनुभव र अनुभूतिले समाजलाई नैतिकता, परम्परा र संस्कृति संरक्षण र संवद्र्धन गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । ज्येष्ठ नागरिकहरूकै योगदानले अहिलेको पुस्तालाई सही मार्गदर्शन र सन्तुलित समाज निर्माण गर्न सहयोग पु¥याउँछ ।
तर, विडम्बना तिनै ज्येष्ठ नागरिकहरू विविध समस्याको मारमा छन् । आर्थिक परनिर्भरता, स्वास्थ्य समस्या, उपेक्षा, र एक्लोपनले उनीहरूलाई आफ्नो जीवन आफैलाई बोझ भएजस्तो लाग्न थालेको छ । परिवारमा सम्मानको कमी र समाजमा उचित स्थान नपाउनु, बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीले उनीहरूको पारिवारिक सम्बन्ध र सहारा टुटाइदिएको छ ।
सरकारले एकातिर ज्येष्ठ नागरिकहरूलाई पेन्सन योजना, निःशुल्क स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका कार्यक्रम ल्याइरहेको दाबी गरेको छ भने अर्कोतिर परिवार र समाजले उनीहरूप्रति गर्नुपर्ने सम्मानजनक व्यवहार र उनीहरूका अनुभवलाई यथेष्टरूपमा उपयोग गर्न कमी त भइरहेको छैन ? ध्यान दिनुपर्ने भएको अवस्था छ ।
हुन त बुढेसकालमा कसैको मुख ताक्न नपरोस्, दुईचार पैसाका लागि कसैको अगाडि हात फैलाउन नपरोस् र जीवनयापनमा अलिकति भए पनि सहज होस भन्ने हेतुले सरकारले ज्येष्ठ नागरिकलाई मासिक भत्ताको व्यवस्था पनि गर्दै आएको छ । तर समय सापेक्ष भत्ताको रकम बढ्न नसक्दा र तिनै भत्ता बुझ्न अनेक झन्झट बेहोर्नु पर्दा ज्येष्ठ नागरिकहरू थप अप्ठ्यारो भोगिरहेका छन् ।
भत्ताका लागि भौँतारिनुपर्ने अवस्था
दोलखा भीमेश्वर नगरपालिका–२ की ७२ वर्षिया विष्णुमाया प्रधानलाई बुढेसकालमा सरकारबाट प्राप्त हुने मासिक ४ हजारले खुशी त दिएको छ । तर त्यो ४ हजार रुपैयाँ हात पार्नका लागि घरदेखि कोसौँ टाढाको बैंकमा धाउँदा र बैंकमा पुगेर घण्टौँ लाइन बस्नु पर्दा भने आफूले प्राप्त गरेको ४ हजारको खुसीभन्दा त्यो दुःख दिक्क लाग्दो भएको उनीसँग अनुभव छ ।
हुन पनि दोलखा बजारबाट साढे ४ किलोमिटरको बाटो लौरो टेक्दै प्रधान बैंक पुग्छिन् । अनि घण्टौँ लाइनमा उभिएर त्यो रकम हात पार्छिन् । उभिँदा–उभिँदा आफू बेहोस होला जस्तो भएको दुखेसो उनले सुनाइन् । कुनै दिन बृद्ध भत्ता लिनका लागि बैंकमा उभिँदा उभिँदै प्राण जान्छ कि ? प्रधानले नैराश्यता पोखिन् ।
उनीजस्तै, सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि घरदेखि बैंकसम्म बुढ्यौली शरीर डो¥याएर ओहोरदोहोर गर्दा मात्र हैन बैंकमा पुगेर घण्टौँसम्म लाइनमा उभिनु पर्दा ज्येष्ठ नागरिकहरूले बुढेसकालमा ठूलो सकस झेल्दै आएका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले, कातर्चेका ९० वर्षिय डम्बरबहादुर श्रेष्ठ थिलथिलो शरीर लिएर ३ महिनाको एकचोटी जिल्ला सदरमुकाम चौतारा धाउँछन् । बुढेसकालमा जीर्ण शरीरसहित श्रेष्ठ घुम्नका लागि वा कुनै सामग्री खरिद गर्नका लागि चौतारा बजार धाएका हैनन् ।
उनी पनि विष्णुमायाजस्तै सरकारले दिँदै आएको वृद्ध भत्ता बुझ्नका लागि सदरमुकाम झरेका हुन् । बल्लतल्ल बैंक पुग्ने गरेका श्रेष्ठ भत्ता बुझ्न घण्टौँ लाइनमा उभिन्छन् । बुढेसकालको थिलथिलो शरीर त्यसमाथि घण्टौँ लाइनमा उभिनु पर्दा श्रेष्ठले आफूमाथि दुखको पहाड नै खसेजस्तो भएको बताउँछन् । ‘खाउँ भने दिनभरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार’ भने जस्तै भत्ता नलिऊँ भने चिया खाने पैसा पनि आफ्नो साथमा हुँदैन लिऊँ भने औधी सास्ती झेल्नुपर्छ,’ उनको दुखेसो छ ।
जुगल गाउँपालिका तेम्बाथानकी ७२ वर्षिया फुर्वा शेर्पाको सकसको कथा पनि श्रेष्ठको भन्दा कम छैन । भत्ता बुझ्नकै लागि दुई दिन पैदल हिँडेर तल बेसी ढाडे बजारमा आउने गरेकी शेर्पाले आवतजावत गर्दा झेल्ने गरेको दुखको कथा सुन्दा जो कोहीको आँसु रसाउन सक्छ । सडक सञ्जालले नछोएको तेम्बागाउँबाट भीरपाखाको अप्ठ्यारो बाटो छिचोलेर लौरोको भरमा उकाली ओह्राली गर्दा जीवनको सबैभन्दा कष्टकर क्षण त्यो भएको शेर्पा बताउँछिन् ।
अझ त्यो भन्दा पनि बढी दुख त शेर्पालाई त्यतिखेर लाग्छ जतिखेर भत्ता बुझेको आधा पैसा बस्न र खानमा नै खर्च हुन्छ । जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउँपालिकाको मुख्य प्रशासनिक र व्यापारिक केन्द्र ढाडे बजारमा शेर्पा हरेक ३ महिनामा बर्सोदेखि सामाजिक सुरक्षा भत्ता लिन झर्दै आएकी छन् । घण्टौँ लाइनमा बसेर महिनाको ४ हजारको दरले ३ महिनाको एकमुष्ट १२ हजार पनि हात पार्छिन् तर दुखको कुरा खाँदा, बस्दा र यताउति गर्दा झण्डै सात हजार त खर्च भएर नै जान्छ । ‘के गर्नु पाँच हजार भत्ता बुझ्न हामीलाई धेरै दुःख छ,’ शेर्पाले भनिन् । शेर्पाले गाउँमा नै भत्ता बुझ्ने व्यवस्था गरिदिएमा आफूजस्ताको आशिष लाग्ने बताइन् ।
यातायात साधनको सुविधा नभएका विकट स्थानका ज्येष्ठ नागरिकहरूले मात्र होइन सुगम स्थानका ज्येष्ठ नागरिकहरूले पनि भत्ता बुझ्न उत्तिक्कै दुःख झेल्दै आएका छन् । बैंक गएर पालो कुर्न घण्टौँ लाइनमा उभिँदा बेहोस भएर ढल्ला जस्तो हुने सदरमुकाम चौताराकै ज्येष्ठ नागरिक छविचरण श्रेष्ठ बताउँछन् । एक त बाथ रोगले ग्रसित श्रेष्ठ एकै छिन उभिनलाई पनि समस्या छ भने अर्को घण्टौँ उभिनु पर्दा सरकारले भत्ता होइन ‘भत्ताको नाउँमा भाटा’ हानेको व्यङ्ग्य गर्छन् श्रेष्ठ ।
त्रैमासिक भत्ता लिने बेलामा हरेक बैंकहरुमा ज्येष्ठ नागरिकहरूको लामो र टिठ लाग्दो लाइन देखिन्छ । ज्येष्ठ नागरिकहरूलाई कतिपय बैंकमा न त बस्ने सुविधाको प्रबन्ध मिलाइएको हुन्छ, न त एक थोपा पिउने पानीको नै । यो अवस्थालाई सरकार र बैंक आफैले पनि गम्भीर भएर सोच्नु पर्ने ज्येष्ठ नागरिक जिल्ला समितिका अध्यक्ष माधवलाल कर्माचार्य बताउँछन् । सरकारले ज्येष्ठ नागरिकहरूलाई घरघरमा नै भत्ता पु¥याउने प्रबन्ध मिलाउनु पर्ने अध्यक्ष कर्माचार्यले भने ।
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता टोल टोलमै पु¥याउने योजना रहेको बताउँछन् । यसका लागि गृह कार्य हुँदै गरेको मेयर सापकोटाको भनाई छ ।
२०५१ सालमा मासिक १ सयले सुरु भएको सामाजिक सुरक्षा भत्ता रकम हाल मासिक ४ हजार त पुगेको छ तर बढ्दो महँगीले भने यसबाट ज्येष्ठ नागरिकहरूको गुजार हुने देखिँदैन । प्रारम्भिक दिनहरूमा वृद्धभत्ताको दुरुपयोग बढ्न थालेपछि, वृद्धहरूको नाममा आएको भत्ता आफन्तजनले नै बुझेर वृद्धहरूको हात खाली हुन थालेपछि पछिल्लो पटक सरकारले ज्येष्ठ नागरिकहरू स्वयं बैंकमा उपस्थित हुनुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको देखिन्छ ।
यो प्रावधान एक प्रकारले ज्येष्ठ नागरिकहरूको हितमा नै रहे पनि बैंक धाउनुपर्ने र घण्टौँ लाइनमा उभिनुपर्ने बाध्यताका कारण सामाजिक सुरक्षा भत्ताले झन् सकस मात्र दिँदै आएको छ । पक्कै पनि नजिकको, घर आँगनको सरकार भएको हैसियतले स्थानीय सरकारले ज्येष्ठ नागरिकहरूको यो समस्यालाई मध्यनजर गर्दै नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न मात्र पनि सकियो भने ज्येष्ठ नागरिकमाथि ठूलो गुण लगाएको ठहरिनेछ । कम्तीमा ज्येष्ठ नागरिकहरूलाई भत्ता लिने बेलामा घरबाट बैंकसम्म गाडीको प्रबन्ध र बैंकमा पानी र बस्ने कुर्सीको मात्र व्यवस्थापन गरिदिए पनि ज्येष्ठ नागरिकहरूलाई धेरै नै सहज हुने समितिका अध्यक्ष कर्माचार्य बताउँछन् ।
बुढेसकालको अप्ठ्यारो
उमेरले ७० नाघेकी सन्तमाया तामाङको दिनचर्या अचेल फेरिएको छ । एउटा सिंगो घरको जिम्मेवारी फेरि पनि तामाङ्कै काँधमा आएको छ । त्यसो त बुढेसकालमा काखभरि नातिनातिना खेलाउँदै आरामको जिन्दगी जिउनु पर्ने हो तर परिस्थितिले अर्के मोड लियो र अचेल सन्तमाया सुसाउँदै घरायसी कामकाजमा व्यस्त हुने गर्छिन् ।
वैदेशिक रोजगारीको लागि आफ्नो छोराबुहारी दुवै विदेश हानिएपछि सन्तमायालाई फेरि पनि घरको जिम्मेवारी आइपरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न ९ कदमबासकी सन्तमाया खेतबारी जाने र घरायसी काममा व्यस्त हुने गर्छिन् । त्यो सँगै नाति नातिनीलाई खाना बनाउने, खुवाउने, कपडा धोइदिने, नुहाइदिने र विद्यालयसम्म पु¥याइदिने अर्को जिम्मेवारी पनि सन्तमायाले बुढेसकालमा निर्वाह गर्दै आएकी छन् । ‘अब त सुख पाइएला कि भनेको तर यो बुढीको कर्ममा दुखै लेखेको रहेछ,’ सन्तमायाले निराशा पोखिन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ कि ६५ वर्षिया टोक्सानी तामाङको मेलो पनि सन्तमायाको भन्दा कम छैन । छोराबुहारी नै विदेश भासिएपछि छोरा बुहारीपट्टिको एक छोरा र छोरी अनि छोरीतर्फको एक छोरीसमेत गरी जम्मा ३ जना नातिनातिना हुर्काउने जिम्मेवारी टोक्सानी सम्हाल्दै आएकी छन् । घरको सम्पूर्ण धन्धा भ्याएर विद्यालयसम्म नाति नातिनीलाई पुर्याउँदै आएकी टोक्सानी छोराबुहारी विदेशीएपछि थप बोझ बढेको बताउँछिन् ।
सन्तमाया र टोक्सानी त प्रतिनिधि पात्र मात्र हुन् । वैदेशिक रोजगारीको नाममा अधिकांश गाउँ युवाविहीन हुन थालेको छ । गाउँमा अधिकांशको छोरा बुहारी नै रोजगारीका लागि विदेशिन थालेपछि गाउँमा वृद्ध वृद्धा मात्र देखिन थालेका छन् । एकातिर सामान्य बिरामी हुँदा पनि ज्येष्ठ नागरिकहरूलाई उपचार गर्न धौधौ परिरहेको छ भने अर्कोतिर छोराबुहारीले निर्वाह गर्नुपर्ने कर्तव्य बुढेसकालमा आफैले निर्वाह गर्नुपर्दा ज्येष्ठ नागरीहरूले थप पीडा र सकसको महसुस गर्न थालेका छन् ।
लौरो टेक्दै वृद्धाश्रमको यात्रा
भक्तपुरकी ८० वर्षिया निमा बुद्धचार्यको न छोरा छन्, न त बुहारी नै । न त आफूलाई माया गर्ने श्रीमान् नै छन् । श्रीमानको मृत्युपछि एक्लो जीवन जिउँदै आएकी बुद्धचार्यको एक मात्र छोरीले पनि आफूलाई बेवास्ता गर्न थालेपछि अन्ततः उनले वृद्धाश्रमको बाटो रोज्न बाध्य भइन् ।
त्यसो त उनीसँग श्रीमानको जायजेथा नभएको पनि होइन तर सोझी र एक्ली बुद्धचार्यलाई ललाइफकाई आफ्नै जेठाजुले भएभरको सम्पति बेचिदिएपछि उनी घरबारविहीन भइन् । अहिले बुद्धचार्य चौतारा वृद्धाश्रममा सुखदुखको जिन्दगी जिउँदै छन् । बुढेसकालमा कोही सहारा नहुँदा बुद्धचार्यले दुख व्यक्त गरिन् । बुढेसकालमा बृद्धाश्रममा भए पनि बस्न पाइयो उनले खुसी हुँदै भनिन् ।‘यहाँ म खुसी छु, कुनै तनाव छैन,’ उनले भनिन् ।
चौतारा वृद्धाश्रममा अहिले १८ जना ज्येष्ठ नागरिक छन् । अधिकांश ज्येष्ठ नागरिक परिवारबाट अवहेलना सहन नसकेर यहाँ आएका हुन् । बुढ्यौली चुलिँदै जाँदा माया, स्नेह, उचित स्याहारसुसार, मायाममता सम्मानको अभाव झेलिरहेका एक्ला, वेसहारा ज्येष्ठ नागरिकहरुका यस्ता आश्रम सहारा मात्र बनेको छैन, कलेटी परेका ओठहरूमा खुसीको हाँसो र चिप्रा परेका आँखाहरूमा सन्तुष्टिको ज्याति बनेर छाएको छ । तर यस्ता वृद्धाआश्रमहरुलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्नका लागि न त संघीय सरकारले चोसो दिएको छ, न त प्रदेश सरकारले प्राथमिकतामा राखेको छ, न त स्थानीय सरकारको नजरमा नै परेको छ ।
बागमती प्रदेश सरकारले ज्येष्ठ नागरिकहरूको हक, हित र संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रमहरू अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति प्रकाशनमा पनि ल्याएको छ । जुन नीति अन्तर्गत ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा र सशक्तीकरणका लागि विभिन्न कार्यक्रमहरू पनि तय गरेको छ । सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्वास्थ्य सेवामा पहुँच, आवास सुविधा र उनीहरूको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने कार्यक्रम सार्वजनिक गरेता पनि कार्यान्वयनको पक्ष फितलो हुँदा यी कार्यक्रमहरू प्रभावकारी हुन सकेका छैनन् ।
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता र जीवनस्तर उकास्ने कार्यक्रम बागमती प्रदेश सरकार, सामाजिक मन्त्रालयले सार्वजनिक गरे पनि पहुँचविहीन, सोझा र परिवारबाट परित्यक्त ज्येष्ठ नागरिकहरूलाई यी कार्यक्रमले समेट्न सकेका छैनन् । केही सहरी र टाठाबाठा ज्येष्ठ नागरिकहरू यस्ता कार्यक्रमबाट लाभान्वित भए पनि दुरदराजका ज्येष्ठ नागरिकहरू भने यस्ता कार्यक्रमबाट टाढा रहँदै आएको कुरा घाम जतिकै छर्लङ्ग छ ।
ज्येष्ठ नागरिकमैत्री संरचनाकै अभाव
नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएपनि उनीहरूको आवश्यकता र सुविधालाई ध्यान दिने भौतिक संरचना निर्माणमा खासै प्रगति भएको देखिँदैन । ज्येष्ठ नागरिकहरू परिवार र समाजको अनुभवको अमूल्य गहना हुन्, तर उनीहरूले आफ्नो जीवनको उत्तरार्धमा भौतिक संरचनाको अभावका कारण थुप्रै कठिनाइ भोग्नुपरेको छ ।
खासगरि नेपालका अधिकांश सार्वजनिक स्थानहरू, जस्तै– बाटा घाटाहरू, अस्पताल, र सरकारी कार्यालयहरू ज्येष्ठ नागरिकमैत्री छैनन् । वृद्धहरूले सजिलै चढ्न सकिने सिँढी, ह्विलचेयरको सुविधा, र बसपार्कजस्ता स्थानमा आराम गर्न सक्ने संरचनाको अभावले उनीहरूलाई सार्वजनिक जीवनमा सहभागिताका लागि कठिनाइ पारेको छ।
पछिल्लोचरणमा मठमन्दिर, पार्क वा पर्यटकीय स्थलहरूको निर्माण क्रम तीव्र भएको छ । कतिपय स्थानमा पदमार्गका लागि भन्दै सिँढीहरूको निर्माण क्रम पनि तीव्र भएको छ । तर, यस्ता सिँढीहरू ज्येष्ठ नागरिकमैत्री देखिँदैन । त्यस्ता सिँढीहरूमा ज्येष्ठ नागरिकको सुविधाका लागि समातेर उक्लन वा ओह्राल्न सामान्य रेलिङको व्यवस्थापन पनि गरिएको छैन । बनेका अधिकांश सरकारी कार्यालयका संरचनाहरू पनि ज्येष्ठ नागरिक मैत्री देखिँदैन ।
खासगरि कार्यालयका प्रमुखहरू सबैभन्दा माथिल्लो तल्लामा रहनाका कारण आफ्ना समस्या वा सुविधा लिनका लागि प्रमुखको कार्यकक्ष पुग्न नै ज्येष्ठ नागरिकहरूले समस्या र सकस झेल्नु परेको छ । कार्यालय प्रमुखलाई भेट्नका लागि दुई तीन तल्लाका सिंढी छिचोलेर जानुपर्ने बाध्यता ज्येष्ठ नागरिकहरूले भोग्दै आएका छन् । सिंढीको साटो लिफ्टको व्यवस्थापन त कता हो ? कता ? सिंढीको दायाँबायाँ सामान्यतया रेलिङको पनि व्यवस्था गरिएको हुँदैन ।
अधिकांशमा कार्यालय प्रमुख वा प्रतिनिधिहरूको कार्यकक्षमा कार्यालय प्रमुख बस्ने कुर्सी र सेवाग्राही बस्ने कुर्सी कम्ती पाँच फिट दुरीमा रहेका कारण आफ्ना समस्या र गुनासो वा सेवा लिएर जाँदा श्रवण शक्तिको कमजोरीका कारण ज्येष्ठ नागरिकहरूले प्रमुखको आवाज नसुन्ने र नबुझ्ने जस्ता समस्या पनि झेल्दै आएका छन् ।
अधिकांश ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहज पहुँच छैन । आधारभूत स्वास्थ्य केन्द्रहरू टाढा हुनु, सवारी साधन र विशेषज्ञ चिकित्सकहरूको अभावले गर्दा धेरै ज्येष्ठ नागरिकले उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहँदै आएको छ । त्यस्तै नेपालमा वृद्धाश्रमहरूको संख्या अत्यन्तै सीमित छ । उपलब्ध वृद्धाश्रममा पनि पर्याप्त सुविधा नहुनु, स्थानको अभाव, र व्यवस्थापनमा देखिने कमजोरीका कारण धेरै ज्येष्ठ नागरिकले उचित सेवा पाउन सकेका छैनन् । आफ्नो घरमा बसिरहेका वृद्धहरूका लागि घरभित्रै पनि हिँडडुल गर्न सजिलो बनाउने संरचनाको कमीले उनीहरूको दैनिक जीवन कष्टकर बन्दै गएको छ ।
समग्रमा, ज्येष्ठ नागरिकहरूको समस्या केवल भौतिक संरचनामा मात्र सीमित छैन । समाजमा उनीहरूको आवश्यकता र अधिकारप्रति बेवास्ता गर्ने प्रवृत्तिले समस्या झन् जटिल बन्दै गएको छ । खासगरि केन्द्र, प्रदेश र स्थानीय सरकारले ज्येष्ठ नागरिकका यी समस्याहरूको विषयमा केन्द्रित रही नीति तथा कार्यक्रम बनाउन सक्नुपर्छ । ज्येष्ठ नागरिकका आवश्यकता अनुसार अस्पताल, पार्क र सार्वजनिक स्थानहरूमा ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्न सक्नुपर्छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र वृद्धाश्रम विस्तार गर्न सरकार र गैरसरकारी संस्थाहरूले पहल गर्नुपर्छ । सार्वजनिक यातायात र कार्यालयहरूमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने कार्यक्रम ल्याउनुपर्ने हुन्छ । समाजमा उनीहरूलाई सम्मान र सहयोग गर्ने संस्कार बसाउन विविध कार्यक्रम ल्याउन आवश्यक भइसकेको छ ।
नेपालको संविधानले ज्येष्ठ नागरिकको हक, हित र सुविधा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण देखिएको छ । यो अवस्थालाई सुधार्न सरकारी र गैरसरकारी दुवै तहमा विशेष ध्यान दिन आवश्यक छ । समग्रमा कुनै दिन म पनि ज्येष्ठ नागरिक हुनेछु भन्ने यथार्र्थलाई आत्मसात् गरि उनीहरुकालागि प्याकेजमा नै विशेष नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गर्न अग्रसर हुने बेला भएको छ ।
प्रतिक्रिया दिनुहोस्