केशव अधिकारी – वि.सं १८२६ मंसिर १ गते गोर्खाका राजा पृथ्वी नारायण शाहले भक्तपुरमाथि आक्रमण गर्नुपूर्व काठमाण्डौं, पाटन र कीर्तिपुरलाई आफ्नो राज्यमा गाभिसकेका थिए । भक्तपुर आक्रमणको ३ दिनपछि अन्तत ः भक्तपुरलाई पनि राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य गोर्खामा गाम्भ सफल भए । त्यसपछिबाट नै सुरु भएको थियो उपत्यकाबाट बसाइसराइको एउटा टीठ लाग्दो मेलो । यही मेलोमा उपत्यकाभित्र रहेका केही नेवारहरु पूर्व पुगे भने कोही पश्चिम । त अधिकाँशले उपत्यकासँग जोडिएका भूभाग रोजे । यही रोजाईले बन्यो एउटा ऐतिहासिक बजार, जुन अहिले चौतारा नामले परिचित छ ।
चौतारा बजार उपत्यकाबाट बसाइसाराइ गरेर आएका तीन खलकले बसालेको एउटा बजार हो । तात्कालिन राजा पृथ्वीनाराण शाहले उपत्यका कब्जा गरेसँगै भक्तपुरबाट कक्षपति र कसजू एवम् काठमाण्डौंबाट प्रधानहरु प्रारम्भमा यहाँ आएर बसोबास गरेको बुढापाकाहरु बताउँछन् । त्यस्तै जिल्लाको नवलपुर, मेलम्ची, बाह्रबीसे, जलबीरे लगायतका बजारहरुमा पनि नेवार समुदायको उपस्थिति अन्य समुदाय बाक्लै पाइन्छ । यस मानेमा पनि ती बजार र बस्तीहरु नेवार समुदायले नै बसालेको प्रष्ट बुझ्न सकिन्छ ।
जिल्लाका अन्य स्थान खासगरि तौथौली, जेठल, बलेफी, सानोसिरुवारी स्याउले, ठूलोसिरुवारी, इर्खु, कदमबास, लगायत अधिकाँश स्थानमा पनि नेवार समुदायको बाक्लो बसोबास पाइन्छ । तर जो जो जहाँ रहेता पनि यतिखेर भने नेवारी परम्परा, संस्कृति, भाषा र संस्कार लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ ।
हो बसाइसराइको क्रममा कुनै पनि नेवार जाति एक्लै बसाइ सरेता पनि उसले केवल पोकोपुन्टरो मात्र बोकेर हिड्दैन । साथमा आफ्नो भाषा, कला, संस्कृति, संस्कार, परम्परा मात्र होइन कतैकतै त आफूले मनाउँदै गरेको चाडपर्व र जात्रामात्रा नै बोकेर हिड्छन् र आफू बसेको समुदायमा ढुक्क मनाउने गछनर्् । प्रारम्भमा उपत्यकाबाट बसाइसरेका नेवार समुदायमा यही प्रचलन रहँदै आएको थियो । मोफसलका नेवार वस्तीहरुमा यस्तै संस्कृतिहरु देख्न पाइन्थ्यो । तर समयक्रमसँगै बढ्दो आधुनिकीकरण, व्यस्त जीवनशैली र पश्चिमा संस्कृतिको मार अहिले नेवार समुदायको संस्कृति मात्र हैन, भाषा नै लोपोन्मुख अवस्थामा रहेको छ ।
लोपोन्मुख अवस्थामा भाषा ः नेवारी समुदायको आफ्नै भाषा र लिपि छ । सिन्धुपाल्चोकका नेवारी समुदायमा कतिपयले नेवारी भाषा अर्थात नेपाल भाषा बोल्ने गरेता पनि पछिल्लो पुस्ता नेपालभाषा बोल्ने प्रचलन हराउँदै गएको छ । खासगरि खसभाषाको बढ्दो प्रभावका कारण यहाँका नेवारहरुले आफ्नो मातृभाषा बोल्न छाडेका हुन् । उनीहरु आफ्ना विशेष पर्व जस्तै न्हू दँ, नेवार संघ संस्थाबाट आयोजित कुनै पनि सभासमारोह लगायतका कार्यक्रमहरु पनि नेपाल भाषाको प्रयोग गर्दैनन् । नेपाली भाषा बोल्न अभ्यस्त भइसकेका यी समुदाय भाषिक विचलनको मारमा परेको सबै नेवारहरु बताउँदै आउने गर्छन् तर संरक्षण संवद्र्धनतर्फ भने ध्यान गएको देखिँदैन ।
नेवार समुदायको बाक्लो बस्ती रहेको कतिपय स्थानन जस्तै चौतारा पुरानो बजार, बाह्रबिसे, जलबीर र मेलम्ची जस्ता स्थानका बुढापाका नेवारहरुले एकआपसमा संवाद गर्दा नेपालभाषाको प्रयोग गरेता पनि तिनै बुढापाकाकै छोराछोरी र नातिनातिनाहरुले नेपाल भाषा बोल्न त के, बुझ्नसम्म पनि सक्दैनन् । कतिपय स्थानका नेवारहरु बरु तामाङ भाषा स्पष्ट बोल्छन् तर आफ्नै भाषाको भने ‘ भा’ सम्म पनि थाह छैन । लिपि त कता हो कता ? खासगरि नेवार समुदायभित्रको छरछिमेकीबीच त के परिवारभित्र एकआपसमा नेपालभाषाको प्रचलन हराउँदै गएपछि नेपालभाषा लोपोन्मुख अवस्थामा रहेको छ ।
संस्कार तथा सांस्कृतिक विचलन
चार जात छत्तिस वर्णको साझा फूलबारी नेपालमा नेवार मात्र त्यो समुदाय हो जसको सामुदायिक फूलबारी अनौठा र अचम्म लाग्दा संस्कृति र संस्कारहरु फुल्ने गर्छन् र यसको सौन्दर्य सुवासको चर्चा नेपालभित्र मात्र हैन अन्तराष्ट्रिय जगतमा पनि हुनेगर्छ । जन्मदेखि मृत्युसम्मको अनौठो अनौठो संस्कार रहेको नेवार समुदायभित्र अनौठा अनौठा संस्कृतिहरु पनि रहँदै आएका छन् । भनिरहनु पर्देन चाँडपर्व र जात्रामात्रा पनि यीनीहरुको अनौठा नै रहेका छन् । तर पछिल्लोसमयमा भने ति संस्कार र संस्कृति आधुनिकताको चपेटामा पर्न लागेको प्रष्टै देखिन्छ । ती मध्य केही संस्कार र संस्कृतिको चर्चा गर्नुृ वान्छनिय देखिन्छ ।
क ) धौबजी नकेयगु ः यो चलन कुनै पनि शिशु जन्मनुपूर्वको उत्वसव हो । नेवारी परम्परा अनुसार कुनै विवाहित महिला गर्भवतीको समयमा माइतीको तर्फबाट आफ्नी गर्भवती छोरीचेलीलाई ८ महिनाभित्र धौबजी अर्थात दहीचिउरा खुवाउने चलन नै धौबजि नकेगु चलन हो । आफनी विवाहित छोरी गर्भवती भएको थाह भएपछि माइतीकोतर्फबाट छोरीको घरमा उपस्थित भएर दहीचिउरा मासु लगायत मिष्ठान्न भोजन गराइन्छ । यो आठ महिनाभित्र गरिने चलन हो ।
कुनै समय नेपाली समाजमा बुहारीलाई गर्ने व्यवहार बेग्लै थियो । एकप्रकारले बुहारीलाई हेर्न दृष्टिकोण नकारात्मक थियो र बुहारीको खानपिन स्वास्थ्य लगायतको विषयमा पनि घरपरिवारले खासै चासो दिने गर्दैनथ्यो ।
बुहारी गर्भवती भएको बेला उसलाई खास हेरचाह र पोषणको आवश्यकता पर्छ नै जुन गर्भमा रहेको शिशु र गर्भवती आमालाई अत्यावश्यक पनि हो । तर घरपरिवारबाट ती विषयमा ध्यान नजाने हुँदा माइती पक्षले आफ्ना गर्भवती छोरीलाई भर्गवती भएको बेलमा दहीचिउरा खुवाउने चलनको सुरुवात भएको मान्न सकिन्छ ।
खुुवाने पिलाउने यो संस्कार हेर्दा सामान्य जस्तो लागे पनि वास्तवमा यो वैज्ञानिक र स्वास्थ्य विज्ञानको दृष्टिकोणले अति महत्वपूर्ण रहेको छ । तर यस्तो महात्वपूर्ण चलन भने मोफसलमा हराइसको छ । भने अहिले पश्चिमी संस्कृतिको हावीसँगै रंग न ढंगको बेबी सावर गर्ने चलन बढ्दोछ ।
ब्यय्ग्यगु चलन ः ब्यय्गेगु अर्थात न्वारण गर्ने चलन आम चलन हो । फेरि पनि यो संस्कार नेवार समुदायभित्र अनौठो तरिकाले मनाउने गर्छ । शिशु जन्मे र नचाखाएसम्म अवधिलाई सुतक मान्ने चलन आम समुदायमा रहँदै आएको छ । नेवार समुदायमा पनि यो चलन चल्दै आएको छ । नेवार समुदायमा शिशु जन्मेको दिनदेखि बढीमा १२ दिनभित्र चोख्याने चलन रहँदै आएको छ ।
खासगरि चोख्याउने दिनमा छोरा जन्मेको भए माइति पक्षले राँगोको टाउको सिंगै र छोरी जन्मेमा आदि छोरीको घरमा लाने चलन छ । तर यो चलनन अहिले पूर्णत हटिसकेको छ । त्यस्तै सो दिन विभिन्न प्रकारको परिकार बनाइ टोलभरिका केटाकेटीहरुलाई खुवाउने चलन पनि छ जसलाई बचाबजी भन्ने गरिन्छ । अहिले यो चलन पनि पूर्णत लोप भइसकेको छ । हरेका चोख्याउने कार्यमा नौचाबाट नङ काट्ने र खुट्टाका औंलाहरुमा रातो रंग लगाउने चलन रहँदै आएको छ जसलाई अलँ राख्ने चलन भनिन्छ । अहिले यो चलन पनि लोप भइसकेो छ ।
जा नकेगु ः नवजात शिशु ६ महिना पुगेपछि शिशुलाई अन्न खुवाउने यो चलन पनि आम चलन हो । नेवार समुदायमा पनि यो चलन रहँदै आएको छ । यदपी यो चलन चलिरहेको छ भने यसभित्रका केही संस्कारहरु लोपोन्मुख भएको बताइन्छ ।
शिशुलाई दाहीचिउरा खुवाउने ः यदि कुनै पनि शिशुको आठ महिनामा नै दाँत उम्रेछ भने त्यसलाई अशुभ मानिन्छ र यस्तो शिशुलाई भ¥याङमूनी राखेर मामाले दहीचिउरा खुवाउने चलन छ । तर यो चलन अहिले अहिले हराएको छ ।
बुन्हि ः नेवारी परम्परा अनुसार चन्द्रमानकको आधारमा जन्मदिन मनाउने चलन छ । तर पछिल्लोचरण भने तिथिमा भन्दा पनि मितिमा मनाउने चलन बढ्दो छ । शिशु जन्मेर एक वर्ष पुग्दा त्यो शिशुको जन्मदिन मनाउने चलन यो समुदायमा छैन । जब दुइवर्ष पुग्छ तब दुई वर्ष पुगेको उपलक्ष्यमा जन्मदिनको अवसरमा न्हेदा पुनी मनाउने चलन छ । फेरि तीन वर्षमा कुनै पनि जन्म दिन मनाउन छैन र ४ वर्षपुगेपपछि पेदा पुन्ही मनाउने चलन छ ।
१० वर्ष नपुुगेसम्मा हरेक जन्मदिनमा सख्खर विनाको योमह्री बनाएर त्यसलाई मालामो स्वरुप दिंदै जन्मदिनको उपलक्ष्यमा शिशुलाई माला लगाइदिने चलन छ । मला बनाउँदा जति वर्ष पुगेको छ, त्यति वर्षको योम्ह्री उनेर माला बनाउने चलन छ । अहिले यो चलन त लोप नै भइसकेको छ भने जन्मदिनको दिन सुकण्डा बालेर पुजाआजा गरेर, देक्ष्या सगुन दिएर मनाउने चलन पनि लोप भइसकेको छ । यसको साटो हरेक जन्म दिनमा केक काटेर मैनवत्ति निभाएर जन्मदिन मानउने चलन तीव्र भएको छ ।
केयता पुजा ः कयता पुजा अर्थात चुृडाकर्म आम प्रचलन हो । कयतापुजा गरिसकेपछि कर्म चल्छ भन्ने भनाइ छ । यो संस्कार जन्मेर १५ वषभित्र गरिन्छ । यो संस्कारमा बटुकलाई मामाले कपाल मुण्डन गरिदिने र फूपुले काँशको थालमा कपाल थाप्ने चलन छ ।
इही ः इही नेवारी परम्पराको एक मौलिक तथा छुट्टै पहिचान बोकेको संस्कार हो । नेवारी समुदायमा एक महिलाको तीनपटक विवहा हुृने प्रचलन र संस्कार रहँदै आएको छ ।यो संस्कार ५ वर्षदेखि ९ वर्ष उमेरभित्रका बालिकाहरुलाई बेलसँग विवहा गरिदिने संस्कार हो । यो संस्कार अनुसार बालिकाको विवहा भगवान विष्णुको प्रतीक बेलसँग गरायइने भएकोले बालिका जीवनभर सौभाग्यवती हुने विश्वास रहँदै आएको छ । त्यसैले पनि यदि कुनै विवाहित महिलाको श्रीमान्को मृत्यु भएमा ती महिला विधुवा नहुने भन्ने मान्यता पनि रहँदै आएको छ । नेपाल नेवार जातिमा मात्र पाइने यो संस्कार खासगरि ग्रामीण क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेको छ ।
बारा ः इहीपछि गरिने अर्को संस्कार हो बाह्र तयगु अर्थात गुफा राख्ने । यो संस्कार अनुसार रजश्वला हुनपूर्व कुनै पनि किशोरीलाई १२ दिनसम्म बन्द कोठाभित्र राख्ने गरिन्छ । यसरी बन्द कोठाभित्र राख्दा ती किशोरीले न त पुरुषको अनुहार हेर्न मिल्छ न त त्यो कोठामा कुनै घामको उज्यालो प्रकाश नै छिर्न दिन्छ । १२ औं दिन ती किशोरीलाई बन्द कोठाबाट बाहिर निकाली एक विशेष अनुष्ठानसँगै सूर्यको दर्शन गराइन्छ र यसलाई सूर्यसँगको विवहा पनि भन्ने गरिन्छ ।
यो नै महिलाको दोस्रो विवहा भएको मानिन्छ । किशोरीलाई बन्द कोठाभित्र राख्दा तान्त्रिक विधिद्वारा एक विशेष अनष्ठान गरिन्छ र कोठाको भित्ताभरि ख्याचा अर्थात कपासबाट बनाइएको भूतको आकृति टाँस्ने गरिन्छ । तर अहिले दिनसम्म राख्नुपर्ने बाह्र २ दिनमै सकाउने गरिन्छ भने कुनै पनि तान्त्रिक अनुष्ठान गरिँदैन भने भित्तामा ख्याचा राख्ने चलन पनि हराइसकोको छ ।
लाख बियेगु ः नेवारी परम्परा अनुसार कुनै पनि महिलाको तीनपटक विवहा हुने गर्दछ । पहिला बेलसँग दोस्रो सूर्यदेवसँग र तेस्रो पुरुषसँग । लाख वियेगु अर्थात टिकोटालो पुरुषसँगको विवाहको पहिलो संस्कार हो । यसले दुलहीको लागि शुभ संकेत गर्दछ । दुबै तर्फ विवाहको कुरा मिल्ने सहमति भएपछि केटा पक्षबाट केटीका केटी पक्षलाई खाद्यवस्तु, मिठाई, सुपारी र फलफूलका उपहारहरूसहित कुरा पक्का गर्नु नै लाख वियेगु परम्पराको उदेश्य हो ।
लाखा बियेगु समारोहमा, दुलहाको पक्षले दुलहीको पक्षमा सुपारी पठाउँछ । यो संस्कार विवाह हुनुभन्दा केही दिन, केही महिना वा केही वर्षअघि नै गरिन्छ । केटाको पक्षले बाँसको लठ्ठीले बनेको लम्पिचा नामक खुला कचौरामा ठूला आकारको सुपारी, चाकु (पाकेको चिनी) –२०० ग्राम, एक रुपैयाँको सिक्का र थोरै मात्रामा सिन्दुरको धुलो दिन्छ । यस अनुष्ठानको लागि केटाको नजिकको आफन्त र लमी साथमा गएका हुन्छन दुलहिको घर प्रवेश गर्दा पानीको घढा तथा राम्रोसँग सजाइएको सुकुन्द बत्ती लिएर केटीको घरमा प्रवेश गर्छन।
परम्परागत विवाह चलनअनुसार बेहुला पक्षले विवाहको केही दिन अगाडि २८ किलो ८०० ग्राम लखमरी (विशेष प्रकारको मिठो रोटी) लाखामा पठाउने गर्दथ्ये भने अहिले यो चलनमा हराइसकेको छ ।
लाखमरीसँगै एक टुक्रा सिक्का पनि पठाउनुपर्छ । लखमरी प्राप्त गर्ने आफन्तले दुलहीलाइ टिका ग्रहण गरि दहि निधारको साइडमा लगाएर बेहुलीलाई नगद तथा अन्य उपहार पनि दिने चलन छ तर पछिल्लो समय भने लाखमह्रीको ठाउँमा केक काट्ने चलनको हावी भएको छ भने पश्चिमा संस्कृति अनुसार इन्गेजमेन्टको प्रभाव बढ्दो छ ।
विवहा ः लाखा वियगु संस्कार सकिए पछि नेवारि विवाह कार्यक्रम हुन्छ । विवाहको दिन दुलहा पक्षको मामा भुमिका महत्वपुर्ण मानिन्छ ,साथै दियो वत्तिको कलश मामाले सुगुन लिएर दुलहिको घरमा जन्ती सहित जाने प्रचलन छ , दुलहिको घर आंगनमा पुगे पछि दुलहि पक्षले समेत बलिरहेको दियो कलश एक आपसमा भेट गराएर दुलहालाइ निमन्त्रणा स्वरूप फुल माला पहिराएर प्रवेश गराइन्छ । अहिले भने यो प्रचलन लगभग हराइसकेको छ ।
नेवारि विवाहमा अग्निको जग्य हुदैन भने रेखि हालेर यन्त्रको मण्डप चै बनाइएको हुन्छ । सम्पुर्ण इष्ठ देव,कुल देव तथा स्थान देवतालाइ आवहान गरि दुलहा दुलहिको स्वयंवर गराइ माला,गरगहना लगाइ विवाह सुसम्पन्न गराइन्छ । केहि नेवारि सम्प्रदायमा मण्डपमै सिन्दुर गराइन्छ भने केहि सम्प्रदायको चै घरमा लगि सिन्दुर लगाउने चलन पनि छ । यस सम्प्रदायमा कोही कोहीको त विवाहको दिनमा दुलहा नजाने चलन पनि रहेको छ ।
ससुराले बुहारीको पाउ छुने ः दुलहीले पाउ छुने चलन त सबैतिर प्राय छ । तर नेवारी परम्परामा सासुले दुलहीको पाउ छुने चलन पनि रहेको छ । जिन्दगीको एक समयमा मात्र सुसुराले दुलहीको पाउ छुन्छ । त्यो पनि विवहाको समयमा । विवहाको समयमा सुसुराले दुलहीलाई आफ्नै हातबाट पाउजु लगाइदिने चलन छ । यसरी पाउज लगाइदिंदा सुसुराले बुहारीलाई ढोक दिएको अर्थात पाउ छोएर सम्मान गर्ने गरेको मान्यता रहँदै आएको छ । अहिले भने यो चलन पनि हराउँदै गएको छ ।
मृत्यु संस्कार ः नेवार समुदायको मृत्यु संस्कार आम जातिकै जस्तो छ । मृत्युपछि शवलाई कसै कसैले जलाउने र कसैकसैले गाड्ने गर्छ । शव जलाएर फर्केपछि किरिया बस्ने आम प्रचलन हो र यस्तै प्रचलन रहँदै आएको छ । तर परम्परा अनुसार सात दिनको दिन मृतकको नामा न्हेन्हुमा दिने चलन छ । मृतकको छोरीले चोखोनिखो भइ छुट्टै चुलो बनाइ भात दाल तरकारी अचार बनाएर भोतामा राखेर पितृको नाममा खोलामा लगेर सेलाउनु नै न्हेनुमा दिेने चलन हो । यस दिन एक भाग भात कतै सुरक्षित ठाउँमा राख्छ जसलाई पाखाजा भनिन्छ । यो मध्यरातमा कुटुम्बले खोलामा लगेर सेलाउने चलन छ ।
शव जलाएको साँझदेखि १० औं दिनको साँझसम्म मृतकको घरको खोपामा कुटुम्बले सलिचामा पानी राखिदिने र दीयो बत्ति बालिदिने चलन पनि छ तर खोपा भएको घर अहिले नभएका कारणले पनि हुन सक्छ यो चलन भने लोपोन्मुख अवस्थामा रहेको छ । कतिपय नेवार जातिमा शव सेलाएरको दिनमा कपाल मुण्डन गरेर बरखी बस्ने चलन छैन । बरखी त बस्छन् तर १० औं दिनमा खोलामा गएर मुण्डन गर्ने चलन रहँदै आएको छ । खोलामा पिना हर्राबर्राले नुहाउँदै गहुँत शरीरमा छर्की सकेपछि चोख्याइएको मानिन्छ ।
हराउँदै नेवारी भोज ः नेवारी भोज नेवार समुदायको एक प्रशिद्ध भोज हो तर अचेल यो भोज मोफसलमा भने लोप भइसकेको छ । हरेक शुभकार्यहरु जस्तै विवहा, व्रतवन्धन लगायतमा नेवारी भोज खुवाउने चलन रहेता पनि समयक्रमसँगै यो चलन हराउँदै गएको छ । भोजमा अनेक थरीको परिकार जुटाउनु पर्ने, जनशक्तिको अभाव र व्यस्त जीवनका कारण यो भोज लोप भएको हो । यसको साटो क्याट्रिनलाई बोलाएर भात खुवाउने चलन बढ्दो छ ।
त्यस्तै कतै कतै नेवारी भोज खुवाइ हाले पनि नियमसंग खुवाउन छोडिसकेको छ । नेवारी भोजमा सबैभन्दा पहिला चिउरा, त्यसपछि अचार र त्यसपछि मात्र मासु लगायत अन्य परिकारहरु क्रमश ः राख्दै जान्छ । यसबीचमा पनि भुटन झण्डझण्डै अन्तिम अवस्था राख्ने गरिन्छ र भूटनपछि वाउँचा, पाउँचा अर्थात साग र अमिलो त्यसपछि दहीचिउरा र त्यसपछि सिसापुसा अर्थात स्लादसँगै सिन्का दिने चलन रहँदै आए पनि अहिले भने त्यो चलन हराइसकेको छ ।
सग दिने चलन पनि चट हुँदै ः हरेका शुभकार्यमा यो समुदायमा सगुन दिने चलन छ तर पछिल्लो समय आयोजकले कृपया सगुनको कष्ट नगर्नुहोला भनेर निम्तो बाँड्न थालेपछि यो चलन पनि हराउँदै गउको पाइन्छ । सगुनको साटो नगद दिने चलन बढ्दो छ ।
नेवारी समुदायमा थुप्रै चाडपर्वहरु पनि लोपोउन्मुख अवस्थामा रहँदै आएको छ । मुख्य मुख्या चाडर्व मनाउने गरेता पनि चथा, गथमंगल जस्ता चाडपर्वहरु लोपोन्मुख अवस्थामा रहेको छ । त्यस्तै भाषिक समस्याका कारण नेपालभाषा साहित्य कला पनि लोपोन्मुख अवस्थामा रहेको प्रष्टै बुझ्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्