भूपी सरोवर- आजको हाम्रो सिङ्गो राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा बसेको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै विषयक्षेत्रको आफ्नै एक ऐतिहासिक संविधान सहितको जग होस् ‘जनयुद्ध’लाई सम्बोधन नगरी पूर्ण हुँदैन।
यो नेपाल र नेपाली जनताको गौरवशाली इतिहास बनेर यहाँसम्म आइपुगेको छ जसलाई हामीले बिर्सिन सक्दैनौ र बिर्सिन पनि हुन्न र अर्को कुरा कसैले मेट्छु भनेपनि कसैले मेट्न र मेटाउन सक्दैन पनि । इतिहास त्यतिकै बन्दैन । हजारौँ लाखौँको त्याग,समर्पण,बलिदानबाट बन्ने गर्छ र सोही किसिमले कोरिएको इतिहास हो जनयुद्ध र जनयुद्धको जगमा टेकेर बनेको नयाँ नेपाल!
जनयुद्धको सामाजिक, वैचारिक, राजनीतिक, सांस्कृतिक र ऐतिहासिक महत्व र समाजको आवश्यकता नबुझ्दासम्म स्वतन्त्रताको दुरुपयोग गरि कसैको अल्पज्ञान,अल्पविवेक अनि तर्कहिन कथ्यहरूको पछि लागेर समर्थन र आलोचक बन्नुमा कुनै अौचित्य थिएन छैन् रहदैन र त्यसलाई समाजलाई भाँडेर व्यक्ति स्वार्थ लिन खोज्ने परिवर्तित समाज देख्न नसक्ने यथास्थिति तत्व भन्दा अरू संज्ञा दिनुभन्दा अरू विकल्प देखिदैन।
जनयुद्ध एउटा जग मात्रै थियो सो जगमा टेकेर सुन्दर समाज राष्ट्र निर्माण हामी सिङ्गो नेपालीहरूले गरेका हौँ । त्यो कुनै एक व्यक्ति , समूह र पार्टी थिएन! आफैँले बसालेको जग भत्काएर दिवाल र छानो मात्रै हेर्न र आश्रय लिन खोज्यौँ भने त्यो आफैँले आफैँलाई थापेको धराप बाहेक अरू केही बन्न सक्दैन् !
यो यस्तो एक ऐतिहासिक अभियान थियो जुन अभियानले हाम्रो हिमाल, पहाड, तराई/मधेश, उपत्यका, गाउँघर, शहर, राजधानी, मोफसल, प्रवास नपुगेको र नछोएको कुनै त्यस्तो ठाउँ थिएन । जो एक बहुआयामिक अभियानका रूपमा थियो र रहनेछ।
यतिमात्रै होइन यो अभियानले सिङ्गो राष्ट्रको वर्गीय पद्धतिबाट मुक्ति जसलाई सोझो शब्दमा भन्दा समाजमा रहेका उत्पीडित श्रमजीवी वर्गले शोषक,सामन्ती शासन व्यवस्था विरुद्ध विद्रोह गरेको अभियान भनौँ वर्ग युद्ध थियो। लामो समयसम्म जातीय उत्पीडनमा परेका वर्गहरूको जातीय मुक्ति युद्ध थियो।
आदिवासी जनजातिहरूको पहिचानका निमित्त निरंकुश राज्यव्यवस्था विरुद्धको युद्ध थियो।
केन्द्रीकृत शासन व्यवस्था विरुद्धको क्षेत्रीय मुक्ति युद्ध थियो।
समयानुकूल सम्मान,समानता, नेतृत्व,सहकारीता र अर्थपूर्ण सहभागीताका लागि महिलाहरूले चाहेको र गरेको एक लैङ्गिक मुक्ति आन्दोलन थियो।
समाजमा लामा जरा हालेर बसेको नेपालमात्र नभई दक्षिण एसियामै रहेको छुवाछूतजन्य भेदभाव,सामाजिक कुरीति, दलितमाथिको दलन लगायत जातपात र विभेद अन्त्य गर्न र सो वर्गलाई संवैधानिक र कानुनी व्यवस्थाका लागि रगत,पसिना र आँसु बगाएको क्रान्ति थियो।
वर्चस्वशाली समुदाय र वर्गले प्रभुत्व लादी सामन्ती व्यवस्था स्थापना गरि विविध भाषा,जाती,भेषभूषालाई पञ्जाभित्र कैद गरि राखेको अवस्थालाई चिरी समान सहभागीतामूलक लोकतन्त्र स्थापित गर्न गरिएको वैचारिक युद्ध थियो।
समाजका कुसंस्कारहरू बालविवाह,अनमेल विवाह,दाइजो प्रथा,बहुविवाह विरुद्ध र मजदुर किसान र श्रमजीवी वर्गको हित स्थापित गर्न गरिएको साँस्कृतिक युद्ध थियो।
आफूलाई पहिलो वर्गमा गणनागरि समाजमा दोस्रो वर्ग स्थापित गरि दुर्ववहार व्यहोर्दै आएका मधेसी,मुस्लिम,जनजाति र लैङ्गिक अल्पसंख्यक थारूका साथै फरक क्षमता राख्ने जनसमुदायले उत्पीडन विरुद्ध कुनै समर्पण र सम्झौता नगरि गरेको संघर्ष थियो ।
समाजमा तल्लो वर्ग भनेर संज्ञा दिइएको समुदायलाई पनि नेतृत्वमा ल्याई सो वर्गमाथि बनेको संज्ञा स्वरुप फेर्न राजनीतिक चेतनाको अभिवृद्धि गरि नेतृत्व निर्माण गरि उन्नत नेतृत्व विकास गर्न र राजनीति नेतृत्वमा सहभागीता गरि शीर्षस्थ नेतृत्वसम्मको नेतृत्व निर्माणको अभियान थियो।
समाजका युवायुवती,बुढापाखा,श्रीमान श्रीमती,नवविवाहित दुलाहादुलही, नवजात शिशु सहित काखमा च्यापेर परिवर्तित लोकतान्त्रिक समाजको परिकल्पना र सपना बनेर झोलामा रातो झण्डा बोकेर सभ्य र विकसित समाज निर्माणका लागि आफ्नो मृत्यु आफ्नै हत्केलामा बोकेर हाँसीहाँसी राष्ट्र, जनताको हितका खातिर उच्च स्तरको त्यागको भावनासहित हजारौँ माइलको यात्रामा लागेकाहरूको सुन्दर भविष्यको खोजीको अभियान थियो।
परम्परागत निरंकुशवादी संसद्वादी पार्टीहरूलाई परिवर्तन गरि सहभागितामूलक लोकतान्त्रिक पार्टीमा रूपान्तरण गर्न दबाब सृजना गरि नेपालको राजनीतिमा गणतन्त्र, सङ्घीयता, समावेशिता, संविधानसभा जस्ता विषय प्रवेश गराउन सफल भई जनयुद्धपश्चात् पनि सञ्चालित भएका महिला, दलित, जनजाति, मधेशी लगायत अन्य अधिकारमा आधारित आन्दोलनहरूलाई वैचारिक र राजनीतिक पृष्ठभूमि तयार पार्न सफल अभियान थियो जनयुद्ध !
हामीले जनयुद्धलाई जुन दृष्टिकोणबाट नियालेर जसरी व्याख्या गरेपनि आफूअनुकुल व्याख्या वहस गरेपनि
आजको जुन यो राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र,विषय निर्माणका पछाडि जनयुद्धलाई सम्झन सकेनौँ भने,सम्बोधन गर्न सकेनौँ भने त्यो कदापी पूर्ण हुँदैन।
जनयुद्ध हतियारबद्ध सशस्त्र युद्ध मात्रै थिएन यो सिङ्गो नेपाली कम्युनिस्ट आन्दोलनको संगठित साझा इच्छा थियो । यो सशस्त्र र शान्तिपूर्ण गाउँघर,शहरबस्ती , वैधानिक र अवैधानिक, भौतिक र बौद्धिक, राजनीतिक र सैनिक, क्रान्तिकारी र सुधारात्मक अभियानको समग्र एउटा सिङ्गो आन्दोलन थियो ।
जब हामी जनयुद्धलाई हिंसात्मक र सैनिक पक्षमा मात्रै रहेर त्यसलाई मात्रै देखेर व्याख्या,अपव्याख्या,समर्थन अनि आलोचना गर्न पुग्नु भनेको त्यो केवल एक भूल सिवाय अरू केही हुनेछैन् !
संविधान निर्माण गर्दैगर्दा र तत्पश्चात हरेक वर्ग र समाजमा संविधानको अौचित्य पुर्याउदै गर्दा अनि गणतन्त्र, संघीयता, लोकतान्त्रिक प्रणाली, समावेशी समानुपातिक व्यवस्था स्थापित गर्दै गर्दा देखिने विभिन्न राजनीतिक दलमा देखिने राजनीतिक लालशाहीवादी प्रवृत्ति,शाहीशासन प्रवृत्तिहरू खतरानाक प्रवृत्ति हुन् ।उच्च नेतृत्व तह नै भ्रष्टाचार, व्यभिचारमा फस्नु, नातावाद, परिवार वाद र मोहमा फसेर नेपाली जनताको उच्च बलिदान, त्याग, समर्पण र योगदान बिर्सिनु महान त्रुटीहरू हुन्। जसको अन्त्य हुनु जरुरी छ। यसको अन्त्यका लागि फेरि एक अर्को जनयुद्ध खडा गर्न पनि सक्छ समाजले।
यसरी जनआन्दोलन,जनयुद्ध र जनआन्दोलनले ल्याएको लोकतन्त्रको सम्मान गर्दै जनयुद्ध मनाउदै जनयुद्धलाई विविध आयामका साथ विश्लेषण गर्नु र महान इतिहासबाट शिक्षा लिनु अहिलेका नवयुवाहरू सहित हरेक जनसमुदायलाई जरूरी छ ।
प्रतिक्रिया दिनुहोस्