२०८१ चैत्र २३
                           

लिटल मर्मेडसँगको साक्षात्कार

-गौरी प्रधान

कुरा, धेरै पहिलेको हो, बच्चा हुंदा हामीले कोपनहेगनको समुद्र किनार स्थित एउटा सानो चट्टानमा बसेकी एक जलपरी अर्थात लिट्टल मर्मेडको बारेमा लेखिएको बाल कथा सुनेका र पढेका थियौं । सो कथाको रचनाकार हुनुहुन्थ्यो विश्व विख्यात बाल कथाकार ह्यान्स क्रिश्चियन एन्डर्सन । उहाँले यो कथा सन् १९३०को दशकमा लेख्नु भएको भएता पनि सन् १८७३ मा मात्र प्रकाशीत गर्नु भएको थियो । सामान्यतया, यो सबैले पढ्ने, सुन्ने वा रुचाउने बाल कथा हो । सो कथाको नेपाली भाषामा अनुवाद भने श्रद्धेय बाल साहित्यकार तथा कथा वाचक शान्त दास मानन्धरले गर्नु भएको थियो । केही बर्ष अगाडि मात्र उहाँले आफ्नो देह त्याग गर्नु भएको थियो । सो कथा अनुवाद गर्दाको अनेकन रोचक कुराहरु उहाँले मलाई सुनाउनु भएको अझै पनि मेरो मन-मस्तिष्कमा ताजा जस्तै रहेको छ ।
ह्यान्स एन्डरसनद्वारा लिखित उक्त कथामा आधारित मूर्तिकला प्रसिद्ध डेनिस मूर्तिकार एडवार्ड एरिक्सनले सन् १९१३ मा निर्माण गरे पश्चात् सो स्थानमा खडा गरेका हुन् । सो मूर्ति निर्माण गर्दा मूर्तिकारले रोयल थिएटरमा लिट्टल मर्मेड बनेर ब्याले नृत्य प्रस्तुत गरेकी नर्तकी इलेन प्राइसको सुन्दरताबाट ज्यादै प्रभावित थिए । तर उनले मूर्ति निर्माणमा आफ्नो नग्न शरीर देखाउन नामन्जुर गरे पछि मूर्तिकारले आफ्नै श्रीमती एलिन एरिक्सनको आकार सापट लिएको हो पनि भनिन्छ ।
वास्तवमा, संसारभरी नै कुनै न कुनै रुपको जलपरीका कथाहरु हुने गर्दछन् । धेरैजसो आमा-बुवा, बाजे-बजैहरू र गुरु-गुरूआमाहरुले यस्ता कथाहरु आफ्ना बालबालिकाहरुलाई सुनाउने प्रचलन सामान्य नै हो । यद्यपि, ह्यान्स एन्डर्सनका लिट्टल मर्मेडको कथा अरु भन्दा बेग्लै र साह्रै चाखलाग्दो पनि छ ।
कथा अनुसार, एक किशोरी जलपरी आफ्नो पन्ध्रौ जन्मोत्सवको अवसरमा समुद्र मुनीको दरबारबाट पानी माथिको सतहमा आउँछ । सानो उमेरको वेलामा उनलाई यसरी सतहमा आएर पृथ्वीको बाहिरी संसार हेर्ने र त्यहाँको मानिसहरुको रहन-सहन देख्ने छुट थिएन । साना बालबालिकाहरु एक किसिमको पारिवारिक अनुशासनमा बस्न पर्दथ्यो । त्यो दिन, जब उनी पृथ्वीको सतहमा उत्रे र त्यहाँ स्थित एउटा चट्टानमा बसेर बाहिरी संसार रमाइ-रमाइ हेर्दै थिइ । अचानक, उनैको नजिक एउटा ठुलो डुंगामा कारणवश आगो लाग्यो र दूर्घटनामा परेको डुंगा समुद्रमा बिस्तारै डुब्दै थियो । त्यस डुङ्गामा डेनमार्कको एक सुन्दर राज कुमार सवार रहेको थियो । समुद्रमा डुब्दै गरेको त्यस डुंगाबाट उनले त्यो सुन्दर राजकुमारलाई मिहेनत का साथ बचायो । उनले राज कुमारको औषधी उपचार र स्याहार गरे । जसको कारण राज कुमार उनी देखि साह्रै प्रभावित भए । उनीहरु एक अर्को संग विस्तारै नजिक पनि भए । सोही क्रममा उनीहरु वीच गहिरो प्रेम बस्यो, त्यसैले, लिटल मर्मेड राजकुमार संग बिबाह गर्न चाहन्थे । वास्तवमा, उनले आफ्नो सुन्दर आवाज त्यसैको निम्ति एक दुष्ट जलपरीको सहयोगमा मानव खुट्टासँग साटेकी थिई । तर तिनको सो सपना यथार्थमा अनुवाद हुन सकेन । तर, राज कुमारले कुनै अर्कै राजकुमारीसंग बिबाह गरे र उनको सपना चकनाचुर हुन पुग्यो । त्यसैले, उनले सदा सदा समुद्रको किनारमा रहेको एक ढुंगामा बसेर आफ्नो प्रेम, पीडा र सपनाहरू सम्झदै वर्षौं देखि त्यहि बस्न वाध्य भए ।
कोपनहेगन समुद्र स्थित सो जलपरीको कथा संसारका लाखौं करोडौ मानिसहरु, खासगरी बालबालिकाले पढेको वा सुनेको हुनु पर्छ । जुन हामीले पनि सुनेका र पढेका थियौं । आज यो वर्षको फेब्रुअरीको जाडो मौसममा धेरै दिन पछि कोपनहेगनमा उज्यालो घाम लागेको छ । आकाश निलो र खुल्ला हुनाको साथै चित्ताकर्षक रहेको थियो । समुद्रमा सेतो बाजहरू रमाइ-रमाइ चरिरहेका छन् । मौसममा एकातिर पारिलो घाम लागिरहेको छ भने तापक्रम असाध्य झरेकोले त्यहाँ साह्रै चिसो बतास चलिरहेको छ ।
त्यसैले, सो घमाइलो दिनको अवसरलाई उपयोग गर्न हामी कोपनहेगनको सो समुद्र किनार स्थित एक ठूलो चट्टानमा नग्न अवस्थामा टोलाएर बसेकी लिटल मर्मेड अर्थात जलपरीसंग साक्षात्कार गर्न चाह्यौँ । हुन त, मैले सो स्थानमा उनीसँग धेरै पहिले पनि भेटिसकेको थिँए । तर यस पटक सुम्निमा र म यहाँ संगै रहेको कारण लिटल मर्मेडसंग संगसंगै साक्षात्कार गर्ने निधो गर्‍यौं ।
समुद्रको किनारा स्थित एउटा ढुङ्गामा बसेकी लिट्टल मर्मेडको नजिक गएर उनलाई गहिरो संग नियालेर हेर्‍यौं। उनको आकार, प्रकार, स्वरुप र दु:ख र पीडाले भरेको उनको आँखा र अनुहार मन भित्रैदेखि पढ्यौं, बुझ्यौं । संगै बसेर हामीले उनीसँग छुट्टाछुट्टै र संगसंगै तस्बिर पनि खिच्यौँ । केही समय उनी बसेकी ढुङ्गा नजिकको डिलमा बसेर चुपचाप उनैलाई हेरिरह्यौँ । उनको दर्द भरेको कथा, राज कुमार सँगको प्रेम-वियोग, आमा-बुवासँगको विछोड, खलपात्रको रुपमा रहेकी अर्की जलपरीको ईर्ष्या र बेइमानी व्यवहार पनि सबै-सबै सम्झ्यौँ ।
सुम्निमा र म, हामी दुवै बालबालिका र किशोर-किशोरीको क्षेत्रमा काम गर्ने गहिरो र संवेदनशील पृष्ठभूमिबाट आएका हौं । सो क्षेत्रमा काम गर्दा हामीले साना साना नानी-बावुहरु अर्थात किशोर-किशोरीका अनेकन दु:ख, पीडा र मर्मस्पर्शी कुराहरु सुनेका, भोगेका र साक्षात्कार गरेका थियौं । किशोर-किशोरीको उमेरमा, सामान्यतया, सबैजसोको अनेकन रहर र सपनाहरू हुन्छन् । उनीहरु आफ्ना साथी-सङ्गीहरुसंग रोमान्टिक दुनियाँमा रमाउन चाहन्छन् । उनीहरुले आफ्नो रहर र सपनालाई साकार गर्न जस्तोसुकै खतरा मोल्न रिस्क रोमान्टिसिज्म गर्न पनि तैयार हुन्छन् । किशोर-किशोरीहरुसंगको साथ, सहयोग र सहकार्य गर्दा उनीहरुले भोगेका अनेकन रमाइलो, नरमाइलो, सुख-दुख हामीले पनि नजिकबाट महशुस गर्थ्यौं । उनीहरुका अनेकन वियोगान्त कथाहरु, दु:ख र पीडाहरू हामीले पनि संगसंगै सम्हालेका थियौं । उनीहरु संगसंगै कैयन पटक हामी पनि रोएका थियौं । साथै, उनीहरुका घाउहरूमा मल्हम पट्टि बाँधेका थियौं । दु:ख र पीडा संग लडीबुडी खेल्दै अगाडि बढ्न र जीवनका नयाँ कथाहरु बुन्न उनीहरुलाई सघाएका थियौं । थुप्रै बेचिएका, ठगिएका, बाल बिबाहमा फसाइएका, कुल्चिएका, मिल्काइएका र भत्काइएका मनहरूलाई सम्हालेर अगाडि बढ्न उनीहरुमा साथ, सहयोग र उत्साह थपेका थियौं ।
यस कथाले पनि एक किशोरी जलपरीका नयाँ रंग, उमङ्ग, रहर, प्रेम, विश्वास र घातहरूलाई प्रतिबिम्बित गरेको छ । हुन त, जीवनका हरेक दु:ख, पीडा र घाउहरू ढिलो-चाँडो कालान्तरमा निको पनि हुन्छन् । फरक यति हो, जीवनका कैयन पीडाहरू झन धेरै कष्टमा बदलिन्छन्, त कैयन पीडाहरूलाई विस्तारै सिलाउन पनि सकिन्छ । तर कैयन घाउहरू निको भए पश्चात् पनि तिनका नमेटिने डोबहरू भने सधैं ताजा भएर बाँचिरहन्छन् ।
जे होस्, यो कथा प्रकाशीत भएको पनि आज डेढ शताव्दी भन्दा बेसी अर्थात १५२ वर्ष वितिसकेको छ । यसको बीजारोपण त अझै धेरै अघि नै भएको मानिन्छ । सो समयावधिमा, ती किशोरी जलपरीले आफ्नो पदस्थापना पश्चात् सो स्थानमा ११२ वर्षको घाम-पानी, आँधी-बतास र हिमपात सहेर बाँचिरहेको छ । भनिन्छ, उनको आयू ३०० वर्षको हुनेछ । सायद, कुनै न कुनै दिन उनको मनको राज कुमार फर्कने आशामा, उनी प्रतिक्षामा रहेकीछिन् ।
यो लामो समयावधिमा, उनले कैयन भयंकर सुनामी, आँधीबेहरी र शित-लहरहरू भोगे होलान् । पहिलो र दोश्रो विश्वयुद्ध ताका भएका आम मानव हत्या-हिंसाको कारण रक्त रञ्जित समुद्र कैयन चोटि देखे होलान् । हिटलर, नेपोलियन, जर्ज र मुसोलीनीहरुको क्रुर दबाबहरुबाट तरंगित समुद्राको छाल कति देखे-भोगे होलान् । बम र बारुद बिष्फोटको कारण समुद्र भित्र रहेका कैयन आफन्त जनहरूको घर-संसार र जीवन ध्वस्त भएको पनि कति भोगे होलान् । त्यति मात्र कहाँ हो र ? वातावरणीय प्रदुषण र जलवायु परिवर्तनको कारण भएका बिघ्नबाधा र विनासहरु कति झेले होलान् ।
लिटल मर्मेड, तिमी वास्तवमै, एक जिउँदो कथा हो । जिउँदो इतिहास हो । आशा गरौं, एक दिन यो दु:ख, पीडा र वियोगबाट तिमीले पनि मुक्ति पाउने छौ । तिम्रो प्रतिक्षा पूरा हुने छ । तिम्रो शान्त र सहनशीलताले पनि नयाँ मार्ग भेट्ने छ । र, तिम्रो जीवनमा पनि एकदिन सुन्दर वसन्त झुल्कने छ ।

फेब्रुअरी १०, २०२५ ।

प्रतिक्रिया दिनुहोस्