२०८१ चैत्र ३०
                           

दुगुनागढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण

भोटेकोसी गाउँपालिकाको लिस्तिकोट स्थित यार्मासिङ गाउँमा रहेको युद्धकिल्ला दुगुनागढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ हो ।

२०७२ को भुकम्पले भत्काएको नेपाल चीन सिमाना नजिक रहको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरूपमा पुननिमार्ण गरिएको छ । इतिहासको अध्ययनसंगै आनन्दको समय बिताउन स्वदेशी देखि विदेशी पर्यटक दुगुनागढी पुग्ने गरेका छन् ।

करिब २०० रोपनी क्षेत्रमा फैलिएको युद्धकिल्ला दुगुनागढी समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा अवस्थित छ । प्रधानमन्त्री भएको नौ वर्षपछि ं वि।सं। १९१२ मा श्री ३ जङ्गबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको थियो । जतिबेला नेपाल भोटबीच खटपट चलिरहेको थियो । युद्धका बेला जंगबहादुर राणाले घुँडा टेकेर तिब्बतको सेनामाथि गोली प्रहार गरेको इतिहास छ । यो ठाउँमा देखिने जंगबहादुरको पाइलाको निशानले अहिले पनि त्यसबेलाको इतिहासलाई जीवित राखेको पर्यटक सरस्वती श्रेष्ठले अनुभव गरिन् ।

इतिहास बुझ्दै गाउँले परिवेशमा रम्दै मनोरम वातावरणमा आनन्द लिन पाइने भएकाले पनि सिन्धुपाल्चोकको दुगुनागढी पर्यटकको रोजाइमा पर्न थालेको अर्का पर्यटक अमृतमान श्रेष्ठको बुझाई छ । राष्ट्रकै पुरातात्विक सम्पदा भित्र पर्ने दुगुनागढीबाट नेपाल र तिब्बतबीच तिन पटकसम्म भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपाली फौज लडाईंमा गएका थिए ।

भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हाँसिल गरेको प्राप्त शिलालेखमा उल्लेख छ । यहाँका स्थानीय वृद्धहरूको भनाइ अनुसार, दुगुनागढीबाट पड्काएको तोपगोलाले खासा बजारसम्मको घरहरूको झ्यालढोका छेडेका स्थानीय कृष्णबहादुर प्रधानको कथन छ । प्राचीन सभ्यतालाई प्रतिबिम्बित गर्ने यो ठाउँको आफ्नै संस्कार, संस्कृति र पहिचान छ । गर्विलो इतिहास बचाउँदै गढीको संरक्षण र प्रवद्र्धन गर्न भोटेकोशी गाउँपालिका र नेपाली सेनाले निरन्तर पहल गर्दै आएका छन् ।

चारैतिर हिमालले घेरिएको दुगुनागढी निकै मनमोहक र रमणीय छ । पुरानो इतिहास जोडिएको यो क्षेत्रलाई पर्यटकीय गन्तव्य संगै ईतिहास झल्काउने गरी काम भईरहेको भोटेकोशी गाँउपालिका – ३ का वडाध्यक्ष निमा सोना शेर्पाको भनाई छ । बढी जसो इतिहासको बारेमा चासो राख्नेहरु यहाँ पुगेपछि पुर्खाले जानेरै किल्ला बनाएको रहेछन् भन्दै मन्त्रमुग्ध हुन्छन् ।

यो स्थानमा एक पटक पुगेकाहरु पुन साथीभाइ, परिवार र आफन्त लिएर समेत जाने गरेका छन् । नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग÷बाटो तथा कोटको पहिचान, संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न तथा सैनिक इतिहासको जगेर्ना गर्ने नेपाली सेनाले समेत विगत पाँच वर्षदेखि माउण्टेन ट्रेल रेस गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्