चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु (आँखा सम्बन्धि ) १ दिने स्वास्थ्य शिविर वडा नं ८ स्थित इर्खु स्वास्थ्यचौकीमा सम्पन्न भएको छ ।
उक्त शिविरमा २ सय ४ जना वडाबासिहरुले सेवा लिएका छन् । शिविरमा ४ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ भने जसमध्ये १ जनामा क्यान्सरका लक्षण देखिएको र विरामीलाई थर्मकोगुलेसन प्रविधिबाट उपचार गरिएको छ ।
आँखा परीक्षणमा २४ जनालाई मोतियाविन्दु भएको पाइएको जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिए । यीमध्ये पनि १८ जनाको दुवै आँखामा मोतियाविन्दु भएको पाइएको नेपालले बताए ।
यसै सन्दर्भमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले मोतियाविन्दु भएकाहरुलाई नगरपालिकाले आयोजना गर्न लागेको निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरमा सेवा लिन आग्रह गरे ।मेयर सापकोटाले यस्तै शिविर अन्य वडाहरुमा पनि क्रमश सञ्चालन गर्ने जानकारी दिनुभयो । नगरपालिकाको सबै वडाहरुमा शिविर हुने भएकाले सेवा लिन नगरबासीलाई अनुरोध गरे ।
फागुन १५ गतेदेखि क्रमश प्रत्येक वडाको तोकिएको स्वास्थ्य संस्थाहरुमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन भइरहेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा फागुन १७ गते वडा नं ६ स्थित वडा कार्यलयमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक जाँच एवं मोतियाविन्दु आँखा सम्बन्धि निशुल्क शिविर हुने जनस्वास्थ्य अधिकृत नेपालले बताए।
फागुन १८ गते वडा नं १ स्याउले स्वास्थ्यचौकी, फागुन १९ गते वडा नं ३ बतासे स्वास्थ्यचौकी , फागुन २० गते वडा नं २ बतासे आधारभुत स्वास्थ्य सेवा केन्द्र, फागुन २१ गते वडा नं १० जल्किने स्वास्थ्यचौकीमा शिविर हुनेछ ।
उक्त शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुलाई नगरपालिकाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा फागुन २०,२१ र २२ गते निशुल्क शल्यक्रिया गरिने छ ।
प्रतिक्रिया दिनुहोस्