२०८१ चैत्र ३०
                           

भर्चुअल मानवीयता र राधा बादी

भूपी सरोवर -विश्व विज्ञान र प्रविधिभन्दा पर रहन सक्दैन र राख्न पनि कोसिस मात्रै गरियो भनेनि सम्भव छैन्। विश्वमा भईरहेका अनेकौँ गतिविधिदेखि लिएर विकासात्मक कार्यहरू हुन् या सामान्य दैनिक जीवनका उभौली र उधौलीका कुराहरू हुन् यसमा विज्ञानले हिस्सा त ओगटेकेे छ नै त्यो भन्दा अझ प्रविधिले ठूलो हिस्सा लिएको छ।

अधिकांश मानिसहरू प्रविानधिको पँहुचमा पुगेका छन् र उनीहरूले आफ्ना हेरक गतिविधिहरू प्रविधिलाई हितैसी विश्वालसिलो साथीका रूपमा लिई सेयर अर्थात् सार्वजनिक गरिरहेका हुन्छन् जुन कुराहरू विश्व समाजले नजिकबाट पढिरहेको हुन्छ,हेरिरहेको हुन्छ र नियालीरहेको हुन्छ। कतिपय कुराहरू आवश्यक ठानेर सार्वजनिक गरिरहेका हुन्छन् त कतिपय कुराहरूको त्यति महत्त्व नहुँदा नहुँदै पनि सार्वजनिक गरिरहेका हुन्छन्। मान्छेहरूले आफ्ना निजी कुराहरू हुन् या सामाजिक कुराहरू हुन् प्रविधिका विभिन्न स्वरुपहरू जस्तो सामाजिक सञ्जाल फेसबुक,टिकटक,इन्स्टा लगायतका माध्यमबाट सार्वजनिक गरिरहेका हुन्छन् ।

कतिपय कुराहरूले अरूलाई राम्रो पाठ सिकाइरहेका हुन्छन् त कतिपय कुराहरूले समाजमा नराम्रो छाप पनि छोडिरहेका हुन्छन् तर कसले कसरी लियो भन्ने कुरामा भर पर्दछ । कतिपय मान्छेहरूले आफ्नो पेशा व्यवसायका रूपमा लिन्छन् त कतिपयले रमाइलो त कतिपयले अरूहरूले पनि देखून् केही सिकूँन र समाजमा सकारात्मक सन्देश फैलाऊन् भन्ने हेतुले निजी तथा सार्वजनिक कुराहरूलाई सामाजिक सञ्जालमा पोखिरहेका हुन्छन् ।

यी यस्ता कुराहरूले कतिपयको जीवन सडकदेखि सदनसम्म पुगेको छ,कतिपयको जीवनमा मिराकल जस्तै भएको छ त कतिपयको केही भएको जीवन पनि धारासाही भएर सकिएको पनि छ। यो सामाजिक सञ्जालले गर्ने नै यहीँ हो र गरिरहन्छ र भइरहन्छ पनि। यी सबै कुराहरू स्वयं व्यक्तिको बौद्धिकता र विवेकमा भर पर्दछ। विश्व समाजमा भइरहेका घटिरहेका यस्ता घटनाहरूमा नेपाल पनि अछुतो रहन सक्दैन् । नेपालमा पनि यस्ता सञ्जालहरूले टपक्क टिपेर चर्चाको चुलीमा पुर्याएको देखिन्छ। चर्चाको भ्रममा राखेर अनि रहेर कतिपयले त्यसको फाइदा लुटेका पनि छन् र कतिपय भ्रममा रहेर पनि जीवनको यथार्थता बिर्सेर जीवन बर्बाद पनि गरेका छन् ।

सामाजिक सञ्जालहरूले चर्चामा ल्याउने क्रमको एउटा सामान्य पात्र हुन् राधा बादी। खासमा को हुन् त राधा बादी ? उनको खास परिचय उनैलाई थाहा थिएन । उनकै श्रीमानलाई पनि थाहा थिएन कि हामी को हौ? मात्रै के थाहा थियो भने आजको साँझको खानाको जोहो कसरी गर्न सकिन्छ भनेर।

दुई जना बुढाबुढीसँगै जहानको साँझबिहानको जोहोकै लागि उनीहरू हरेक दिन सुर्यका किरणहरू भुइँ चुम्न नपाउदै उनीहरूले दिनको एक गाँस खानाको मीठो आशाका त्यान्द्राहरू भुइँभरि फिजाएर गाउँ गाउँ अनि सहरबजार आफ्ना कारुणिक दर्दनाक कथाहरू मादलको घिनताङ तालमा हुनेखानेका आँगन आँगनहरूमा हुँदा खानेहरूका व्यथा पस्किदै हिड्ने गर्दथे।

उनीहरूले आफ्नो र बालबच्चाको पेट मात्रै पालेका थिएनन् । आफ्नो क्षेत्रको लोकसंस्कृति पनि जोगाएका थिए। कहिल्यै कसैसँग त्यत्तिकै मागेनन्। आफूसँग भएको कला देखाउदै दिनेहरूले दिएजति मात्रै लिए। त्यो दिनलाई पुग्ने जति मात्रै लिए। कसैलाई मागेर गाह्रो अप्ठ्यारोमा पारेनन् बरु आफ्नो कला र गलाले दैनिकी सुन्दर अनि रमाइलो बनाए। मनकारीहरूलाई शुभ साइत र शुभ कार्यका लागि प्राथना गरे। भलो चिताए। आफ्नो भुधरातल कहिल्यै बिर्सेनन् । आफ्नो धर्म अनि कर्म कहिल्यै बिर्सेनन्। कसैको मन दुखाएनन् ।

कसैको यात्राका बाटोका बाधक अनि अशुभ बनेनन् । बने केवल सङ्गीतप्रेमीहरूका लागि शुभ सङ्गीत। यात्रीहरूका लागि शुभ साइत। त्योभन्दा अझ ठूलो कुरा त आफ्ना बालबच्चाका लागि दिनहुँको भोकको सागर तर्दा भयङ्कर छालहरू सँग संघर्ष गरि सो दिनको यात्रालाई पारी किनारासम्म तारिदिने एक महान डुङ्गा अनि डुङ्गा चालक । बाजुरा सुदूरपश्चिमको विकट भौगोलिक अवस्थितिमा अवस्थित एक जिल्ला हो।

जो काठमाडौँबाट दुर छ। दुरीले मात्रै दुर छैन् । विकासका अनेकन आयामहरूबाट पनि दुर छ। जहाँ काठमाडौँका दरबारहरुले खाने चौरासी व्यञ्जनहरूको कुरा छोडौँ । भान्सामा हुने आयो नुनको कुरा छोडौँ। ढिके नुनका लागि महिनौँ पालो कुरेर रित्तो हात घर फर्किनुपर्ने बाध्यता र दु:खसँग बर्षौँदेखि लडिरहेको सुदूर बस्ती हो। सरकारको अवधारणा अनुरुप बनेको बडिमालिका नगरपालिका – २ भित्र त बसोबास हो तर अवधारणाले मात्रै पेट नपालिदो रहेछ। गुजारा नचल्दो रहेछ । जीवन उकास्न विकासका अवधारणा हुनुपर्थ्यो । ती अवधारणा छैनन् । सामान्य रोजगारीका सम्भावनाहरू छैनन् रत उनीहरूले अँगाली रहनुपर्यो आफ्नो पुर्खौली पेशा । जसमा न जस छ न दैनिकि छाक टर्ने आश।

त्यो पनि बझाङमा सम्भावना नदेखिपछि बाजुरा जोग्गिरेसँग पुगेकि राधा बाजुरामा पनि त्यो नदेखेपछि राधा बादी र जोग्गिरे बादीले गाउँ छोडेर,जिल्ला नै छोडेर विभिन्न जिल्लाहरू डुल्दै डुल्दै,एक अञ्जुली जिन्दगीको आश बोकेर दुई छाक गाँस,एकसरो कपास र शितले नदुख्ने बासको खोजिमा कालिकोट जिल्लाका विभिन्न गाउँ हुँदै पलाँता गाउँपालिका -४ थिरपुमा पुगेका थिए।

बर्षौँ पहिले बझाङबाट यात्रा सुरु गरेकि राधा बादी अभावहरू र दु:खहरूसँग लड्दा लड्दै आफैँ लडिन। जहान परिवारको जिम्मेवारी लिएर यात्रामा निस्किएकि राधा यात्रामै ४२ बर्षकै उमेरमा महायात्रामा लागिन्। दुई दिनको बिरामी थलाले उनलाई लग्यो। सुख दु:खमा अन्तिम साससम्म साथ दिने बाचा गरेकि राधाले हात समाउदै यात्रा गरिरहेका जहान र श्रीमानलाई छोडिन् ।

परिवारमाथि ठूलो बज्रपात पर्यो। श्रीमानको उभिने एउटा गतिलो खुट्टा भाँचियो। सन्तानको लागि खाना,नाना,छाना , गाना बजाना गुम्यो तर रमिता हेर्ने ढुङ्गाहरूका लागि के छुट्यो के छुट्यो केही न केही। छुट्यो केवल माग्ने छुट्यो। यो निठूर समाजका लागि एक भिकारी छुट्यो। बाजुराको जगनाथ गाउँपालिका आसपासका गाउँबस्तीहरूमा मादल बजाउँदै आफ्नो लोकसंस्कृति अन्तर्गतका मीठा मीठा लोकभाका गाएर राधाजोग्गिरे जोडि जिविकोपार्जन मात्रै गरिरहेका थिएनन् ।

देशको लोकसंस्कृतिको पनि जगेर्ना गरिरहेका थिए। बचाइरहेका थिए धर्मसंस्कृति र लोकपहिचान तर ‘नशा नशामा,रगत रगतमा ‘ गीतको भावजसरी त्यहीँ संस्कृति,संस्कार र पहिचान बचाउदै हिडिरहेकी राधालाई खै कसले बचाउन खोज्यो ? राधाको मादल बजाउने कला र समधुर स्वरमा गाउने माैलिक गीत उत्कृष्ट मान्नेहरूले किन राधाको जीवनलाई उत्कृष्ट मानेन्? किन बचाउन खोजेन यो समाजले ?

निम्न वर्ग भएकै कारण? गरिब भएकै कारण या दलित भएकै कारण? विश्वकै उत्कृष्ट संविधान भनेर संविधानका धाराहरू खोक्दै हिड्ने,वकालत गर्दै हिड्ने हामीले हाम्रो समाजले खै त राधा बादी लगायत हजारौँ राधाहरूको पक्षमा वकालत गरेको? खै त चरम गरिबी विरुद्ध लड्न हातेमालो गरेको ? के हजारौँ जोग्गिरेका राधाहरूले यसरी नै सक्किनुपर्ने हो त? कहाँ छन् देशमा गरिबी,अभाव र चेतना अभिवृद्धिका निमित्त ल्याइएको संघीयता अवधारणा बनाइएका राज्य संरचना र सरकारहरू? कसले सुनिदिन्छ भोक,रोग र शोकका चित्कारहरू? राधा तिमीले त मुक्ति पायौ ।

शान्ति सास फेर्यौ यो निठूर समाजबाट पर गएर। तिमीलाई कहिल्यै गिज्याउने छैन् अब यो समाजले। पिरोल्ने छैन् भोक र अभावको आगोले। तर विडम्बना तिमीजस्तै हजारौँ राधाहरू पर सुदूर गाउँबस्तीहरुका झुप्रोहरूमा उस्तै छन् ! अन्त्यमा एउटै कामना छ रामराज्य भन्नेहरूका सिंहासनहरूमा सीताहरू र यस्तै राधाहरूका भोकको ज्वाला नदन्कियोस् !

प्रतिक्रिया दिनुहोस्