२०८१ फाल्गुन २८
                           

जुगलमा क्रान्तिकारीकी सुस्मिता सर्वसम्मत निर्वाचित, सिन्धु भ्यालीमा पनि मिल्यो भागबन्डा        

चौतारा /स्वतन्त्र विद्यार्थी युनियनको चुनावअन्तर्गत साँगाचाेकमा रहेको जुगल बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) ले खाता खोलेको छ। स्ववियू अध्यक्षमा क्रान्तिकारीकी सुस्मिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् ।

जिल्लाका अन्य क्याम्पसहरुमा सर्वसम्मत गर्ने प्रयासले सार्थकता नपाउँदा निर्वाचनको लागि मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताको लागि एमाले निकट अनेरास्ववियु र नेपाली काङ्ग्रेस निकट नेविसंघले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गर्दा माओवादी केन्द्र निकट क्रान्तिकारीले भने एकल उम्मेदवारी दर्ता गरेको छ । तर जुगल बहुमुखी क्याम्पस साँगाचाेक र सिन्धु भ्याली क्याम्पस भोटेचौरमा भने तीन वटै संगठन मिलेर अगाडि बढेका छन् ।

जुगल क्याम्पसमा नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुले अध्यक्षमा उम्मेदवारी नदिने सहमति गरेपछि श्रेष्ठ निर्वाचित भएकी हुन् । जसअनुसार उपाध्यक्षमा क्रान्तिकारीकै ललिता कुमाल, सचिवमा एमाले निकट अनेरास्ववियुकी मनिषा गिरी, सहसचिवमा काङ्ग्रेस निकट नेविसंघकी निशा गिरी, कोषाध्यक्षमा पनि नेविसंघकै कञ्चन वि क सर्वसम्मत भएको क्याम्पस प्रमुख पदम प्रसाद पराजुलीले जानकारी दिए ।

“हाम्रो क्याम्पसमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत भएको छ । सोमबार बिहान दलका नेता, विद्यार्थी संगठनका नेता र क्याम्पस प्रशासन, क्याम्पस सञ्चालक समिति लगायतको संयुक्त छलफल हुँदा संगठनबीच भागवण्डामा सहमति जुटेपछि आज सोही पदमा संगठनले उम्मेदवारी दर्ता गरेका हुन् – क्याम्पस प्रमुख पराजुलीले भने – उम्मेदवारी मनोनयनको समय २ बजेसम्म थियो । त्यसैले हामीले अहिले साँझ मात्र निर्वाचित भएको औपचारिक घोषणा गर्यौ । त्यस्तै सिन्धु भ्याली क्याम्पस भोटेचौरमा एमाले निकट अनेरास्ववियुकि सन्दिपा चौलागाईं अध्यक्षमा निर्वाचित भएकी छन् ।

 

सचिवमा काङ्ग्रेस निकट नेविसंघकि रमा दंगाल र कोषाध्यक्षमा माओवादी केन्द्र निकट क्रान्तिकारीकि रविना परियार निर्वाचित भएको निर्वाचन अधिकृत मणि राज ढकालले जानकारी दिए । अधिकृत ढकालका अनुसार सदस्यमा अनेरास्ववियुबाट विपना ढुंगाना, दावा ग्याल्मो लामा, सावित्री चौलागाईं, रुपा चौलागाईं, रुपक चौलागाईं र राजेश चौलागाईं रहेका छन् । त्यस्तै नेविसंघबाट गंगा दुलाल र  क्रान्तिकारीबाट बिनोद खतिवडा सदस्यमा निर्वाचित भएका छन् ।

जुगल बहुमुखी क्याम्पस साँगाचाेक स्ववियु अध्यक्षमा निर्वाचित सुस्मिता जुगल क्याम्पसको पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । जुगलमा यस भन्दा पहिला पहिलो स्ववियु अध्यक्ष हरिबहादुर श्रेष्ठ,दोस्रो जयन्द्र श्रेष्ठ र तेस्रोपटक सुदर्शन अर्याल अध्यक्ष भएका थिए ।

प्रतिक्रिया दिनुहोस्